सेन्टिनियलका छालहरु
ग्रिष्मको उज्वल रश्मिले
सल्बलाएका सेन्टिनियलका छालहरु,
जसबाट स्नेहका संदेश लिएर उडेका छन,
उन्मुक्त समिरका स्नेही स्पर्श,
जो तन्नेरी जोडीहरुका गालामा
मादकता छर्कीरहेका छन् ||
घुमाउरो सेन्टिनियलका पेटीमा,
आफ्नै ‘कोकुन’ मा रमाईरहेका जोडीहरु,
आफैमा हराएकाहरु,
जस्कोलागी उनीहरुको संसार भन्दा बाहिर
कसैको अस्तित्व नै छैन,
छाल बाट उछिट्टीएका उन्मादमा
रमाएर,
लार्बराएका पैताला घिसार्दै ,
हिड्ने चाल नै बिगार्दै छन |
||||
सेन्टिनियलका छालहरु मा,
तातेका केहि बाफ,
हुर्हुरिएर प्रौढ छालाहरुलाई हिर्काउदै छन,
जो आफ्नो बिगत सम्झिन
दैतरीहरुसंग,
तातो कफीको चुस्की सुस्तरी लिदैछन,
किनारका रेस्टुराहरुमा ||
यि प्रौढका वैशमा,
यो सेन्टिनियलका यस्तो थिएन शायद,
थियो होला बरु, प्रौढहरुका स्नेह जस्तै,
अझै शान्त र मनोरम |
आफ्ना मायालुहरु संग
जंगली बुटाहरु पन्छाउदै,
जव उनीहरु सुस्त हिड्थे
तव ती जंगली हासहरु पनि,
कराउदै उनीहरु पछीपछी दौडिन्थे |
सेन्टिनियलका छालहरुमा,
उनिहरूका वैशका इतिवृत्ति,
अहिले छाल बनेर छचल्किदै छन् ||
||||||||
अचेल, यहाँ हाट बजार लाग्छ,
कमाउनेहरुको ब्यापार चलेको छ |
कतै देखिछ, कलाकारहरुको कलाकारि,
कतै ब्यायाम र बाजिका खेल |
अहिले यान्त्रिकता बढेको छ यहाँ ,
उन्मुक्तता भन्दा ब्यबसायिकता बढेको छ |
डर यहि छ,
यी सेन्टिनियलका उन्मुक्त छालहरु लाई
कतै यसैको बानि नपरोस |
||||||
सेन्टिनियलका छालहरु,
जो ग्रिष्ममा तातो बाफ बनेर उड्छन
तर हामीलाई स्पर्शगर्दा शितल बाष्पकण हुन्छन |
यो नै नियति हो छालहरु को
उनीहरु यसैको लागि शृष्टि भएका हुन् |
तर नियति कठोर पनि हुन्छ ,
जव हेमन्तको प्रहारले
कठान्ग्रिन्छ उनीहरुको आवरण,
लाग्छ प्रलयको ताण्डव यहि हो |
बिचरा ती छालहरू,
शैनिकको बुटले कुल्चिएको,
कोमल फूलका स्निग्धता जस्तै,
खण्डित, बिबश, अचेत, अशक्त बन्छन
जव हुन्छन पाषाण हिउका नियन्त्रणमा |
आफ्नो अस्तित्व सुम्पेका नगरबधुहरु जस्तै
आफ्ना चित्कारहरु भित्र भित्रै कैद गरेर,
हराएका शुन्दर आत्माहरु ||
ति पशु पंक्षीहरु, जो सेन्टिनियलका परिधिमा
उफ्रिन्थे, डुक्रिंन्थे, पौडिन्थे, रमाउथे
जसका संसार, त्यसै सेन्टिनियलका परिधिमा सिमित थियो,
जसको सुन्दरता त्यसै परिधिमा मुस्कुराएको थियो|
हात समात्दै हिड्ने ति युवाका जोडीहरु,
कफीका चुस्की लिएर डिलमा बस्ने प्रौढहरु,
अहिले हेमन्तको प्रहारले,
देशविहिन नागरिकका हरण भएको अहम् जस्तै,
दयनीय बनेका छन ||
||||||||||
भनिन्छ, सुख र दुख्ख: एउतै मोहोरका दूई पाटा हुन्,
शृष्टिकर्ताको बिधानमा
दुबैको अनुभव जीवनमा गर्नु जरुरि छ,
भोग्दै आएको छ, हरेक मानिस ले पनि,
यहि नियति, देव र दानवको |
सेन्टिनियलले संदेश दिएको छ ,
यहि बिधानको स्मरण गराएको छ |
यो परिक्षामा सफल हुन प्रेरणा दिएको छ,
जसमा दुखका पिडा बाट आफुलाई समाल्न सकियोस |
यी छालहरुले, यहि नियतिको खेल देखाउने गर्छ,
जीवनका अबरोह र आरोहको पाटापेक्ष गर्नेगर्छ,
जसले यो सत्य बोध गर्छ,
ति हाँसहरु, युवाहरु, प्रौढहरु, ब्यापारीहरु, जीवन्त छालहरु,
फेरी नयाँ जीवनको शुरुवातमा निस्किने छन,
अबुझ असफललाई उतै छोडेर|
|||||||||
सेन्टिनियलका छालहरु,
यसैगरी सुसाई रहनेछन,
हरेक पाषाणता पछी पनि,
शृष्टिको बिधानको सम्झना गराउदै,
हरेक युगमा ||
-विकासराज सत्याल, शान्तिनगर (पौष ६, २०७९)
(सेन्टिनियल, अमेरिकाको १० हजार ठूला पोखरी भएको मिन्नीसोटा राज्यमा भएको एउटा मानव निर्मित सुन्दर पोखरी भएको पार्क हो, जसको कूल क्षेत्रफल ९७ हजार बर्ग मिटर छ र जसमा २.४ किमी लामो हिड्ने ढुंगे बाटो बनेको छ | यसै पोखरी वरिपरी केहि महिना, करिब दैनिक, हिड्दा संगालेको अनुभूति यहाँ पस्किएको हो |)
No comments:
Post a Comment