Showing posts with label बजेट २०७४. Show all posts
Showing posts with label बजेट २०७४. Show all posts

Thursday, June 1, 2017

बजेटको कर्मकाण्ड (कारोबार जेष्ठ १९ ,२०७४)


मंत्रिपरिषतले बर्षमा एकदिन बौद्धिक रमाइलो गर्ने गर्छ, बजेट पेश गरेर । अरुदिन त संधै उसलाई अबौद्धिक गाईजात्राको छुट छ । यो बर्ष त आफैले यसलाई ‘कामचलाउ बजेट’ शिर्षक राखेकोले यसबाट धेरै अपेक्षा गर्नुपर्ने कुरा देखिन्न । तर पनि देश भरका बिध्द्वान अर्थशास्त्रीहरु पछीपरेका छैनन् टिभी, रेडियो, पत्रिकाहरु बजेट बिश्लेसणले ओगट्न । यो रमाइलोमा आफु पछीपरे वुद्धिहिन ठानिने रहेछ त्यसैले केहि आफ्नो बिचार प्रस्तुत गरेको छु ।

यो बजेट झाराटार्ने उदेश्यले निर्माण भएको देखिन्छ । हुनत नेपालमा अचेलका प्रायः सबै बजेटहरु यस्तै प्रकृतिका हुने गररेका छन् । योजना आयोगमा भर्तिगरिएका पार्टी कार्यकर्ताहरुको बुद्धिजीवी परिषदले अर्थ मन्त्रालयका योजना पट्टिका केहि बरिष्टहरुको सहमतिमा बनेको सरकारका खर्च विवरण र खर्च जुटाउने तिकडमको फेहरिस्तमा धेरै अपेक्षा गर्नु नपर्ने हो । तर, भनिन्छ यो जनताको विकासका लागि खर्च गरिने जनताको पैसा हो त्यसैले बाह्य बुद्धिजीवीहरुले बिश्लेसण गर्न जरुरि छ । सरकारको नीति तथा कार्यक्रमको आर्थिक पृष्टपोषणको खाका हो भनिन्छ बजेट, तर अहिले यो पेश गर्ने सरकारका प्रमुखले नै राजिनामा दिएर कामचलाउ भएका छन् । आर्को सरकार कसको, कुन सोचाइका मिश्रण बाट बन्ने हो, ठेगान छैन । त्यसैले, यो बजेट कुन सरकारले स्वामित्वमा लिन बनेको हो, प्रष्ट छैन ? जेष्ट १५ मा बजेट ल्याउनु पर्ने वाक्यांश संभिधानमा परेको रहेछ । त्यसैले यो बाध्यात्मक परिस्थितिमा कामचलाउ सरकारले बनाएको र झाराटार्ने नियतको देखिन्छ ।

पोहोर, साढे १० खर्बको बजेट आएकोमा यो बर्ष झन्डै १२ खर्ब ७९ अर्बको बजेट आएको छ । गएको ५ बर्षको बजेटको आकार हेर्नेहो भने प्रत्केक पल्ट अघिल्लो बर्षको अंकमा लगभग २ खर्बको रकम थपगर्ने चलन भएको देखिन्छ, हचुवा हिसाबले । २०६९/७० मा ४ खर्बको, २०७०/७१ मा ६ खर्बको, २०७१/७२ मा ८ खर्बको र २०७२/७३ मा साढे १० खर्बको बनेपछी यो बर्ष १२ खर्ब ७९ को नियमित बढोत्तरी हुनु स्वाभाविक नै थियो । 

यो संघीय बजेट हुनाले स्थानीय सरकार, जो अब सिध्धांततः आत्मनिर्भर, आफै कर राजस्व उठाउने र आफ्नो आवश्यक खर्च आफै गर्ने हुनुपर्ने हो, लाई पुग्दो बजेट जानुपर्ने हो । तर, कूल बजेटको झन्डै १८ प्रतिशत अर्थात् २.२५ खर्ब मात्र स्थानीय तहलाई छुट्याइएको छ जसमा ७ शय ४४ एकाइका २६ हजार ७ शय ३६ जनप्रतिनिधी हुनेछन् । जस अनुसार यो स्थानीय बजेट, कर्मचारीको तलब–भत्तामा मात्र सकिने देखिन्छ । अर्थात् विकास कार्यको लागि बजेट ज्यादै न्यून छ । बजेट बारे निर्वाचित पहिको महाँनगरपिता, ललितपुरका चिरिबाबु महर्जनले प्रतिक्रिया दिएका छन्, “महाँनगरमा ४.४० अर्ब चाहिन्छ जवकी १.२० अर्बको हाराहारीमा बजेट आउने देखिन्छ जो ज्यादै कम हो” । स्थानीय चुनावमा नगरहरुमा इन्टरनेट, बस, मोनोरेल, फ्लाईओबर, सामाजिक सुरक्षा वृद्धि, स्थानीय करमा कमी लगायत र गाउंपालिकामा बाटो, पानी, बिजुलीको ब्यबस्था गर्ने नारा घोषणापत्रमा लेखेका दलहरुले नै पहिलो चरणमा जितेका पनि छन् । यसरि, यो बजेटले जितेकाहरुको जनसमक्ष बिजोग हुने लक्षण देखाएको छ । केन्द्रिकृत प्रणालीमा हुर्केका सिंहदरवारका रैथानेहरुले बनाएको हुनाले बजेटको ठूलो प्रतिशत केन्द्रिय नियन्त्रणमा नै राखिएको पनि देखिन्छ । 

यो बजेट हचुवा यस कारणले पनि छ कि, राष्ट्रिय गौरब भनिने कतिपय आयोजनामा अन्धाधुन्ध बजेट राखिएको छ संयन्त्रबिना, जसको प्रक्रिया केवल कल्पनामा मात्र छ । उदाहरणको लागि ६२ अर्बको बजेट भूमिगत विद्युत प्रणाली र उर्जाको लागि राखिएको छ । तर, जति ठूलो नारा र प्रचार गरिएपनि गत बर्ष सरकारले उर्जाविकासको लागी न्यून खर्च गरेको छ । प्राधिकरणका आनुसार गएको १० बर्षमा २ शय ६० मेगावाट विद्युत उत्पादन गरिएको छ जसमा निजीलगानी ले उल्लेख्य उत्पादन गरेको छ । अहिले, एक्कासी १७ हजार मेगावाट उत्पादनको लक्ष सहित अस्वाभाविक ठूलो बजेट छुट्टयाईएको छ । अझ, भूमिगत विद्युत प्रणालीको उल्लेख गरिंदा जनता फेरी आतंकित भएका छन, मेलम्चीले गरेको सडक र पेटीको बिनासको चक्र फेरी दोहरिने भयो र हिलो, धुलो, ढल फुट्ने दुखः फेरी बेहोर्नु पर्ने भयो भनेर । यसैगरी रेलमार्गलाई ४ अर्ब राखिएको छ, जसको लागि कता कता गुडाउने र कसरी कसको जिम्मामा काम अघि बढ्छ भन्ने अनुमान सरकारी तन्त्रलाई नै छैन ।    

हचुवाका कार्यक्रमलाई मोटो बजेट र संघीय बजेट बनाइदा शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रहरुमा बजेट कटौती गरिएको छ । गत बर्ष शिक्षालाई ११ प्रतिशत र स्वास्थ्यलाई ५ प्रतिशत बजेट थियो भने यो बर्ष शिक्षाको लागि झन्डै ६६ अर्ब अर्थात ५.२ प्रतिशत र स्वास्थ्यको लागि झन्डै ३२ अर्ब अर्थात् २.५ प्रतिशत मात्र छ । यसरि सामाजिक उत्तरदाइत्वका अत्यावश्यक कार्यक्रममा कटौतीगरि कर्णप्रिय नाराका कार्यक्रमलाई बजेट बढाइएको देखिन्छ । 

बजेटका श्रोतहरु हेर्दा यो परनिर्भरतामा आश्रित नै देखिन्छ । हुनत आन्तरिक राजस्व संकलन यो चालु आर्थिक बर्षमा निकै उत्साहप्रद थियो, लक्षभन्दा बढी । तर, आधा राजस्वको श्रोत आयकर र मूल्य अभिब्रिद्दी नै हो । उद्योगहरुको हविगतले केवल १४ प्रतिशत अन्तशुल्क र १६ प्रतिशत भन्सार बाट राजस्व संकलन हुन्छन् । पूर्वाधारबीना रातारात थपिएका २१७ नगरपालिकाहरुको उद्देश्य नै यो व्यक्तिगत आयकर र मूल्य अभिवृद्धिको शहरी दर कायम गरेर बढी राजस्व जम्मागर्नु देखिन्छ । तर, बैदेशिक ऋण र अनुदान गरेर बजेटको २२.४ प्रतिशत पुर्याउने आंकलन यसपल्ट पनि गरिएको छ, जो ठूलो परनिर्भरता नै हो ।      

यो बजेट कर्मकाण्डी पनि हो । चालु बर्षमा देशको आर्थिक वृद्धि निकै राम्रो रह्यो । गत बर्षको वृद्धि एक प्रतिशत पनि नपुगेकोमा यो बर्ष ७.५ प्रतिशतपुगेको छ । आर्थिक वृद्धिको यो छलांगको रहश्य मूलत आधार बर्षको नाकाबन्दी लगायतले गरेको निराशाजनक आधारको लाभ थियो भने यो बर्षको राम्रो वर्षाले गरेको राम्रो उब्जनी र विद्युत आपूर्तिमा भएको सुधार ले गरेको थियो । यसैकारण यो दुई दशक पछी भएको ठूलो वृद्धि थियो । यसै बाट हौसिएर आगामी बर्षमा पनि ७.२ प्रतिशतको वृद्धि हुने लक्ष राखिएको छ जो फेरी बर्षामा नै निर्भर छ । यसैगरी मुद्रास्फीति ७ प्रतिशत भित्र रहने अभिप्राय छ । यसपल्टको चुनावमा निस्किएको पैसाले यो दरमा नकारात्मक असरपर्ने देखिन्छ । फलस्वरूप मुद्रास्फीति घट्ने भन्दा बढ्ने सम्भावना धेरै छ ।       

अन्तमा हेर्दा यो बजेट झाराटार्ने, न्यून उपयोगी, कर्मकाण्डी बजेट हो भन्ने बाहेक धेरै बिषेशण लगाउनु पर्ने देखापर्दैन । बजेटमा प्रतेक कार्यक्रमको लागि जतिनै सिलिंग तोकिएको भएपनि अपचलन या रकमान्तर गरि चाहिएको बजेट थप्न मिल्ने र त्यसलाई सरकारको स्वीकृति पनि पाइने नजिर बनिसकेको छ । हालै संसदको सार्वजनिक लेखा समितिको बैठकमा नै सरकारले बजेटमा स्वीकृत भएका कार्यक्रममा रकम निकासा नदिई नयाँ कार्यक्रम सिर्जना गरी रकामान्तर गरेको स्वीकारेको छ । यो बर्षको माघ सम्ममा २७ अर्ब १३ करोड ३५ लाख रुपैयाँ रकमान्तार गरिएको थियो । यसैगरी, जनतालाई देखाउन रेल, मेट्रो जस्ता लोकप्रिय कार्यक्रमहरुमा प्रसस्त बजेट राखिने तर ती काम गर्न नसकेर विकास बजेट फ्रिज हुने पनि पूरानो रोग सरकारमा छदैछ । चालु आर्थीक बर्षको २ खर्ब ६२ अर्बको विकास बजेट खर्च हुन नसकेर सरकारी ढुकुटीमा अहिले थुप्रिएको छ । त्यसैले यो बजेट बढी या कम भयो, यस्तोमा पर्यो उस्तोमा परेन भन्ने चर्चा अनावश्यक नै देखिन्छ किनकि बजेट त हाम्रो देशमा औपचारिकताको लागि  मात्र प्रस्तुत हुने गर्छन् । आम जनाताको लागि त यो, हातमा एक पैसा नबढे पनि रातारात नेपालिको कमाई १०५ डलर अर्थात् झन्डै ११ हजार बढेको जानकारी गराउन पेश गरिएको प्रतिबेदन जस्तै मात्र भएको छ ।