Showing posts with label भारत. Show all posts
Showing posts with label भारत. Show all posts

Saturday, September 15, 2018

विचरा जनताहरु, फाइदा उठाउने नामुदहरु (देश संचार - भदौ २९, २०७५ मा प्रकाशित)


https://deshsanchar.com/2018/09/14/98676/

जे हाम्रो आँखाले देख्छ, सधैँ त्यही सत्य हुँदैन, जे देख्दैन त्यो असत्य नै हुनुपर्छ भन्ने पनि छैन। प्रकृतिले यो संसार विचित्रसँग बनाएको छ। हामीले सधैँ देख्ने झिँगाको टाउकोमा हजारौ ससाना आँखा जोडिएर जुन दृष्ट्रि बन्छ, त्यसले यो संसार, यसका रंग र वस्तुका आकारप्रकार- मान्छेले देख्नेभन्दा ज्यादै भिन्दै देखाउँछ। हामी जसलाई ‘आहा कति राम्रो रातो गुलाब’ भन्छौँ, त्यो रातो रंग र आकारलाई झिँगाले अर्कै देख्छ भन्छन् वैज्ञानिकहरु।
सानो कक्षामा पढेको विज्ञानको यो प्रसंग मैले अहिले सम्झनुको कारण मजस्ता सबै नेपाली जनताको मोहभंग हुनेगरी पत्रकार युवराज घिमिरेले हालै देशसञ्चारमा भारतीय कूटनीतिज्ञ श्याम सरणबारे लेखेको लेख हो। श्याम सरणले लेखेको ‘हाउ इन्डिया सिज द वर्ल्डः कौटिल्य टू द ट्वेन्टी फस्ट सेन्चुरी’ नामक पुस्तकको ‘इण्डिया एण्ड नेपालस् अ रिलेसनसिप अफ प्याराडक्स’ अध्यायमा श्याम शरणले नेपालबारे प्रस्तुत गरेका आफ्ना बुझाइ र मान्यताहरु उतारेका छन् घिमिरेले जसलाई पढ्ने जोकोहीलाई यो बोधले मर्मान्त पार्छ।
घिमिरेको यो लेख पढ्दा हामी जनता ‘विचरा’ देखिन्छौँ, हामीमा प्रजातन्त्र या लोकतन्त्रको अधिकार केही रहेनछ। जनताले उचित ठानेको मागेको कुरा पुर्‍याउने क्षमता न जनतामा, न हाम्रा चुनिएका नेताहरुमा रहेछ, बरु हाम्रो सहीगलतको निर्णय गर्ने त छिमेकी देशका कर्मचारीहरु पो रहेछन् भन्ने ज्ञान नपाएको भए म बरु बिमस्टेक समेलनको उपलब्धिबारे लेख्ने थिएँ। भारत चीन जोड्ने रेलले नेपाललाई पुर्‍याउने फाइदाको लेखाजोखामा लाग्ने थिएँ। दुई अंकको आर्थिक बृद्धिदर सम्भव छ/छैन भन्नेपट्टि लाग्ने थिएँ। तर, अब मेरो यो सम्वृद्धिको कल्पना वाहियात हुन पुगेको छ जब ममा यो ज्ञान आउन पुग्छ कि ती सपनालाई निर्णायक बनाउने नेतृत्वहरु स्वयम् प्रधानमन्त्री, मन्त्री, महासेनानी, राजदूत– बन्न छिमेकी देशमा धाउनुपर्ने बाध्यता रहेछ भन्ने।
जंगल छिरेका नेपाली राजनीतिज्ञहरु र सेनाको युद्ध करिब १० वर्ष चल्यो जस्मा करिब १७ हजार नेपालीले ज्यान गुमाए। त्यसताका देशका केही राजनीतिज्ञहरु जंगलको सीमानामा र केही सिंहदरबारमा राजनीति गर्दै थिए, जनताका पात्र भएर। पछि यिनै पात्रको भारतमा १२ बुँदे सहमति भयो, जंगल छिरेकासँग। त्यसपछि अलोकतान्त्रिक राजा फालिए, जनताको नयाँ संविधान बन्यो, जसमा अधिकांश जनताले हर्षोल्लास मनाए तर तराईका जनता, होइन तराईका दलले संविधान जलाए, कालो झण्डा देखाए, तराईमा नेपाली-नेपालीबीच विद्वेषको वितण्डा मच्चियो र भारतले करिव ५ महिना लामो नाकाबन्दी गर्‍यो। यो नाकाबन्दीले नेपालीको जीवन दयनीय र कष्टकर बनायो। यी सबै परिदृश्यहरु श्याम शरणको आँखाले हेर्दा, आम जनताको आँखाले देखेको भन्दा, बिल्कुलै भिन्दै देखिँदा रहेछन्। यो लेखले सबैभन्दा चोट पुर्‍याएको छ हाम्रा नेताहरुको औकातमा। जनताको पक्षमा उभ्भिएर जनता सामुन्ने बोल्ने गरेका, विदेशी हस्तक्षेपको चर्को बिरोध गर्ने लोकतान्त्रिक र जनवादी आफ्नै नेताहरु त बुख्याँचा पो रहेछन् भन्ने वास्तविकता पचाउन गाह्रो हुँदोरहेछ। त्यस्तै अधिकांश- अधिकारवादीहरु, बेला बेलामा जुलुस नारा गर्नेहरु, पत्रिकाहरु बुख्याँचा रहेछन् भन्ने यथार्थ श्याम शरणको पुस्तक पढ्दा नेपाली जनताले बुझ्छन् र उनका आँखा पीडाले रसाएका हुन्छन्।
परिवर्तनको नाममा जनताको लागि बम हानिएका छन्, नेपाल बन्द गरिएका छन्, काटाकाट गरिएको छ- यी सबैबाट जनता हताहत र पीडित भएका छन्  तर अब प्रश्न आउँछ यस्ता पीडक घटनाहरु कसका लागि रहेछ? कालापानी, सुस्ता र मलेठीमा नेपाली भूभाग मिचिएकोमा राष्ट्रवाद उर्लिन्छ, उर्लाइन्छ। ऋतिकरोशन काण्डमा धनजनको नास हुन्छ। यो खोक्रो राष्ट्रवादी उर्लाइबाट जनता कति पीडित भइरहनु पर्ने?
वैदेशिक राजनीतिको कुरा नगर्दा पनि देश यसै पनि आत्मनिर्भर छैन। पुग्दो रोजगारी देशमा छैन र दिनमा दुई हजारका दरले युवाहरु कुबेत, मलेसियामा  कामगर्न उडेका छन्। जापान र कोरिया जान परीक्षा दिनेको भिडले ट्राफिक जाम हुन्छ। अझ बेरोकटोक भारत छिरेर जीविका चलाउनेहरुको त यकिन तथ्यांक नै छैन। देशको उत्पादन शून्य प्राय: छ। विदेशिएका युवाले कमाएर पठाएको पैसाको ८०-९० प्रतिशत फेरि विदेशमा नै पुग्छ, विदेशी वस्तु किन्नुपर्दा। हामी धान, गँहू, मकैदेखि आलु, प्याजसम्म विदेशबाटै किनेर खाँदै छौँ। एउटा राष्ट्रिय पोशाक मयलपोस सिलाउँदा पसले साहुको कमिसनको १५-२० प्रतिशत बाहेक सबै पैसा विदेशीको हातमा पुग्ने रहेछ। सिमेन्ट, फलाम, गलैँचा, बिस्कुट सबैको हालत यस्तै पूर्ण विदेश निर्भर छ। विकास निर्माणका काममा खर्च हुने विकास खर्च पनि जाने बाहिर नै हो। देशको कर्मचारीतन्त्र र ब्यबस्था चलाउन पनि विदेशीसँग ऋण मागेर नै चल्ने गर्छ। विदेशीले ऋण दियो भने अर्थमन्त्रीले गर्व गर्नुपर्ने अवस्था छ, ऋण पत्यायो भनेर। यो भन्दा दासताको स्थिति के होला र?
अब नेपाली जनताले कोसँग के आश गर्न सक्छ? भारतीय नाकाबन्दीको किनारमा बसेर हामी नेपाली जनताको दुख्खका साथी हौं भन्नेहरुलाई यसपल्ट चुनावमा जनताले ठूलो मतले विजयी बनाए। यसपल्ट भाग्यले बनेको यस्तो स्थीर सरकारसँग जनताको ठूलो अपेक्षा थियो। तर यस्तो स्थीरता पाएको सरकारले पनि किन जनताका ससाना आकांक्षाहरु समेत पूरा गर्न सक्दैन या चाहन्न? यसको उत्तर जनता बुझ्न थाल्दैछन्, किनकि सरकार चलाउने र टिकाउने यो देशका जनता होइन रहेछन्। प्रचण्ड जस्ता प्रधानमन्त्रीका आकांक्षी दिल्ली गएर आफ्नो पार्टीभित्रको सम्झौता यस्तो थियो भनेर कपाल कन्याउनु, नाकाबन्दीको बेला तराईका दलका नेताहरु बिहारका मुख्यमन्त्रीको पिँडीमा बसेर बैठक गर्नु, नाकाबन्दीले जनता पिरोलिरहँदा समेत यो भारतको नाकाबन्दी होइन भनेर संसदमा वक्तव्य दिनु, हरेकपल्ट प्रधानमन्त्री हुनेबित्तिकै छिमेकी सरकारको अगाडि उपस्थित हुन हतारिनु- यसले परोक्ष रुपमा देशमा शासन गर्ने बाहिरिया हो भन्ने प्रष्ट्याउँछ।
नेपाली जनता विचरा हुन्, झिँगाको जस्तो आँखा भएका जो रातो रंग देख्दैन। सबै कुरा जान्दछु जस्तो ठान्छन् तर संसारको वास्तविकता अर्कै हुन्छ, सत्य अर्कै हुन्छ। यस्ता ‘विचरा’ जनताको नामबाट फाइदा उठाउने नामुदहरु भने अरु नै हुन्छन्।