Showing posts with label शून्य शैक्षिक वर्ष. Show all posts
Showing posts with label शून्य शैक्षिक वर्ष. Show all posts

Thursday, August 20, 2020

अहिले स्कुल खोल्नु आत्मघाती(कारोबार ,भदौ १, २०७७)

https://www.karobardaily.com/news/idea/35038 

अमेरिकामा कोरोनाले अहिले झन्डै ५२ लाख कुल जनसंख्या संक्रमित हुँदा ३ लाख ३८ हजार स्कुल जाने उमेरका बालबालिका संक्रमित बनिसकेका छन् ।

गत चैतदेखि देशभरका शिक्षण संस्था बन्द छन् । यसरी शिक्षण संस्था बन्द भएको झन्डै ६ महिना हुन लाग्यो । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) समेत स्थगित छ । यस विषम परिस्थितिबाट छट्पटाइरहेकाहरू सक्दो चाँडै स्कुल, कलेज खोल्ने तयारीमा देखिन्छन् । कोरोनाको जोखिम कम रहेका स्थानीय तहमा साउन १ देखि विद्यालय खोल्न सकिने शिक्षा मन्त्रालयले निष्कर्ष निकाल्दै तयारी अघि बढाएको छ भने प्याब्सन, एन प्याब्सनको पनि यसमा सहमति देखिन्छ । साउन १ देखि भर्ना सुरु भनेर कतिपय विद्यालयले विज्ञापनसमेत गर्न थालेका छन् ।

तर, कोरोनाको प्रकोप घटेको छैन । देशभरि नै यसको संक्रमण दर र यसबाट मर्नेहरूको संख्या बढेको बढ्यै छ । साउन २३ गतेसम्मको तथ्याङ्कअनुसार देशभरिमा कुल संक्रमित २२ हजार नाघेको, सक्रिय संक्रमित ६ हजार नाघेको र ७० जना मरेका छन् । विश्वका प्रायः देशहरूमा कोरोनाको वृद्धि ज्यामितीय अनुपातमा भएको देखिएको छ । नेपालमा पनि यस्तै देखिन्छ । पाँच दिनअघि साउन १८ मा २० हजार ३ सयमा संक्रमण देखिएकोमा १० दिन पहिले साउन १३ मा १९ हजारमा संक्रमण भेटिएको थियो । यसै हिसाबले बढ्ने क्रम रहने हो भने स्वास्थ्य मन्त्रालयको इपिमोडेलिङअनुसार नै खराब अवस्थामा साउन २५ गतेसम्म ९१ हजार सक्रिय संक्रमित पुग्न सक्ने र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९ हजार सक्रिय संक्रमित पुग्न सक्ने अनुमान छ । स्वास्थ्य मन्त्रालयले देशको हालको स्थिति हेरेर गम्भीर बिरामीको संख्या बढ्दै जाने हो भने देशका अस्पतालहरूले थेग्न नसक्नेसमेत बताएको छ । स्वास्थ्य मन्त्रालयको यस्तो चेतावनी र अनुमानका बीच अर्को सरकारी मन्त्रालय, शिक्षाले साउन १ देखि पाठशालाहरू मा भर्ना सुरु र साउन १५ देखि पठनपाठन सुरु भन्नुमा कतै तालमेल देखिन्न ।

हाम्रो देशको भौगोलिक स्थिति हेर्दा नेपालमा कोरोना संक्रमणको अहिलेको प्रमुख मार्ग भनेको भारतको बिहार, उत्तर प्रदेश र दिल्लीबाट नेपाल पस्नेहरूको जमात देखिन्छ । अहिले वीरगन्ज नेपालको कोरोना हटस्पट बनेको छ । तराईका २० जिल्लामध्ये १७ जिल्लामा संक्रमण फैलिएको छ । राजविराज, विराटनगर, भैरहवा र दाङमा जोखिम उच्च छ । यी जिल्लाहरूमा संक्रमणको मुख्य कारण नै पारि सिमानाबाट संक्रमित बेरोकटोक पसिरहेका र पारितिरको संक्रमण दर उच्च हुनु हो । उता, बिहारमा अहिले संक्रमित ७२ हजार नाघेका, उत्तरप्रदेशमा १ लाख १३ हजार र दिल्लीमा १ लाख ४१ हजार नाघेका छन् । नेपालसँग सिमाना जोडिएका भारतका क्षेत्रहरूमा कोरोनाको दर भारतकै अधिकांश अन्य क्षेत्रभन्दा उच्च छ । जबसम्म सिमाना सिल गरिन्न नेपालको तराई क्षेत्र सुरक्षित हुँदैन । नेपालको तराईबाट नै पहाडी जिल्लाहरू खासगरी काठमाडौंमा संक्रमण फैलिएको हो । काठमाडौंमा कोरोनाबाट मर्ने अधिकांश मानिस तराईबाट उपचार गर्न आएका नै देखिएका छन् । छिमेकी देशको संक्रमणको वृद्धि र नेपालको वृद्धि हेर्दै एपिडेमियोलोजिस्टहरूले नेपालमा मंसिरतिर संक्रमण अधिकतम पुग्ने र त्यसपछि बिस्तारै घट्ने अनुमान सार्वजनिक गरेका छन् । त्यसको मतलब नेपालमा फागुन–चैततिर मात्र यो संक्रमण बिस्तारै घट्ने देखिन्छ । देशभरिमा भेन्टिलेटरमा ३ जनासहित सघन उपचार कक्ष (आईसीयू) मा ६४ जना गम्भीर बिरामी भई उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले केवल करिब १५ सय गम्भीर बिरामीलाई पुग्ने औषधि तथा आईसीयूका सामग्रीको मौज्दात रहेको र गम्भीर बिरामीको संख्या बढ्दै जाने हो भने देशका अस्पतालहरूले थेग्न सक्नेछैन । देशको यस्तो कमजोर क्षमताबारे अहिले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
बालबालिकामा संक्रमणको प्रभाव हुँदैन या न्यून हुन्छ भन्ने धारणा पनि कतिको देखिन्छ । तर, तथ्यांकले देखाएको छ, यसो भन्नु पूर्ण सत्य होइन । हो, कम उमेरकाहरूमा संक्रमणको दर वयष्कको भन्दा केही कम छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक हर्ने हो भने कोरोनाको संक्रमण भएका मध्ये २.४ प्रतिशत १७ वर्षमुनिका छन् भने यसरी संक्रमित हुनेमध्ये २ प्रतिशत त्यस उमेरकाहरूको मृत्यु पनि भएको छ, जबकि वयस्कहरूमा यस्तो मृत्युदर ५ प्रतिशत छ । यदि बालबालिका आफ्नो घरको निगरानी र सुरक्षाबाट निस्केर स्कुलको असुरक्षित वातावरणमा जान्छन् भने उनीहरू संक्रमित हुन सक्ने र त्यो संक्रमण आफ्नो घरसम्म पु¥याउने सम्भावना पनि उत्तिकै छ ।
अमेरिकामा राष्ट्रपति ट्रम्पले बेला–बेला स्कुल खोल्न सामाजिक सञ्जालमार्फत दबाब दिने गरेका थिए । यसरी स्कुल खोल्नु घातक हुन सक्ने विज्ञहरूले बारम्बार चेतावनी दिँदै आए पनि कतिपय राज्य, जसमा ट्रम्पकै रिपब्लिकन दलले सरकार चलाएका छन्, का अधिकांश राज्यमा स्कुल दुई–तीन हप्ताअघि खोलिएको थियो । यसको प्रभाव अत्यन्त नकारात्मक देखिएको छ । नेपालले यसबाट सिक्नु जरुरी छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको अध्ययनका अनुसार जुलाई १६ देखि जुलाई ३० सम्मको २ हप्ताको स्कुल खोलिएको अवधिमा ९७ हजार बढी बालबालिकामा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाले अहिले झन्डै ५२ लाख कुल जनसंख्या संक्रमित हुँदा ३ लाख ३८ हजार स्कुल जाने उमेरका बालबालिका संक्रमित बनिसकेका छन् ।
कोरोनाको कम जोखिममा रहेका स्थानीय तहमा भदौ १ देखि विद्यालय खोल्न सकिने गरी शिक्षा मन्त्रालयले तयारी अघि बढाएको छ । पठनपाठन पुनः सञ्चालनका लागि भदौ १ देखि शिक्षकहरू अनिवार्य विद्यालयमा उपस्थिति हुनुपर्ने व्यवस्था गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ । स्कुल र विश्वविद्यालयहरू खोल्न नेपालमा अहिले जुन समाचारहरू प्रेषित भएका छन् त्यो अविवेकी सोच हो । स्कुल खोल्नका लागि प्याब्सन, एन प्याब्सनजस्ता निजी व्यापारी संगठनहरूको दबाब सरकारलाई परेको प्रस्ट देखिन्छ । बालबालिकाको स्वास्थ्य रक्षाका लागि सरकार यस्ता संगठनहरूको दबाबबाट बच्नु अत्यावश्यक छ ।
केही निजी स्कुलहरूले यो बन्दको अवधिमा अनलाइन कक्षाहरू सञ्चालन गर्दै आएका छन् । भौतिक उपस्थितिबाट सञ्चालित स्कुल कक्षाहरूको तुलनामा यस्ता विद्युतीय कक्षाहरू प्रभावकारी छैनन्, तर पनि जुन निजी स्कुलहरूले यसरी विद्यार्थीहरूलाई बाँधेका छन्, तिनले केही न केही सकारात्मक प्रभाव विद्यार्थीहरूमा परेकै छ । यसका लागि शिक्षक तथा सीमित कर्मचारीहरूको खर्च अभिभावकहरूले उठाउनुपर्छ । तर, यस्तो शिक्षाको नाममा सामान्य बेलाको जस्तो पूरा शुल्क विद्यालयहरूले माग्नु अनुचित हो । केही विद्यालयले यस्तो माग पनि गरेका छन् र यसो गरिएको देखिएमा सरकारले निगरानी गर्नु जरुरी छ । निश्चय नै ग्रामीण क्षेत्र तथा सामुदायिक विद्यालयहरूमा यस्तो शिक्षा सम्भव छैन । यसले स्वाभाविक छ, आउँदो दिनहरूमा निजी सम्पन्न र अन्य विद्यालयका विद्यार्थीहरूको स्तरमा भिन्नता भने देखिनेछ ।
जहाँसम्म उच्च शिक्षा अर्थात् १२ पछिका कलेज तथा विश्वविद्यालयहरूमा विद्युतीय शिक्षाको प्रश्न छ, स्कुलमा भन्दा यहाँ शिक्षा र परीक्षा लिन केही सहज देखिन्छ, तर यहाँ पनि त्रिभुवन र काठमाडौंजस्ता विश्वविद्यालयहरूमा त्यत्तिकै फरक छ, जत्तिको सरकारी तथा र सम्पन्न निजी विद्यालयहरूमा छ । देशभरि फैलिएका र कुनाकाप्चाबाट पढ्न आउने त्रिविका अधिकांश विद्यार्थीसँग ल्यापटप या नेटको सुविधा छैन । त्यसैगरी यसका अधिकांश प्राचार्यहरूसँग जुमजस्ता अनलाइन पढाउने सीप छैन । त्यसैले ८५ प्रतिशत उच्च शिक्षाको भार बोकेको त्रिविमा अहिले कक्षा चलाउने या परीक्षा लिने स्थिति छैन ।
तर, अहिलेको सबैभन्दा महत्वपूर्ण विषय यो हो कि नेपालजस्तो कमजोर स्वास्थ्य सुविधा र नगन्य तयारी भएको देशमा ठूलो जमघट हुनु र भौतिक दूरी राख्न असम्भव स्कुल, कलेजजस्ता संस्थाहरू सञ्चालन गर्नु देशका लागि घातक हुने निश्चित छ । हाम्रो शिक्षाको इतिहास हेर्ने हो भने राजनीतिक आन्दोलनका नाममा २०३१, २०३६, २०४६ र २०६३ सालहरू मा शिक्षामा अनेक अवरोध आएका थिए । ‘शून्य शिक्षा वर्ष’ नलेखिए पनि दुईवर्षे कलेज शिक्षा तीन वर्ष र कहिले चार वर्षमा मात्र सकिएको अनुभव अहिले स्नातकोत्तर पास गरेका अधिकांशलाई छ नै । जब राजनीतिक कारणले त्यसो शून्य वर्ष हुन सक्छ भने अहिले विश्वव्यापी महामारी, जसले सम्पूर्ण विश्वभरिकै शिक्षामा शून्यता ल्याएको छ, त्यसमा नेपालले शून्य शैक्षिक वर्ष घोषणा गरे नहुने के छ ? बन्दाबन्दी खुकुलो भए पनि सबैभन्दा अन्तिममा खुल्ने क्षेत्र भनेको विद्यालय हुनुपर्छ । त्यसैले अहिले विद्यालय र विश्वविद्यालयहरू खोल्ने आत्मघाती कदम नचालौं ।