Showing posts with label future of industry. Show all posts
Showing posts with label future of industry. Show all posts

Wednesday, June 5, 2013

औद्योगिक विकासको भविष्य

प्रा.डा. विकासराज सत्याल
पहिले कृषि र उद्योगलाई भिन्दाभिन्दै कित्तामा राखेर हेर्ने गरिन्थ्यो । कृषिबाट उद्योगमा रूपान्तरण गरेर विकसित मुलुकहरूले आफूलाई औद्योगिक राष्ट्र भनाए । त्यतिखेर कृषिमा औद्योगीकरण, आधुनिकीकरण गर्ने अवधारणाको विकास भइसकेको थिएन । कृषि पनि वित्तबजारको अंश हुन्छ भन्ने परिकल्पना थिएन । तर समय परिवर्तन भइसकेको छ । यिनै परिवेशमा भन्नुपर्दा परम्परागत उद्योगको भविष्य नेपालमा छैन । एक दशकपछिको नेपालमा हाल रुग्ण रूपमा चल्दै गरेका उद्योगहरू पूर्ण रूपले हराउनेछन् । उद्योगका लागि कच्चापदार्थ, श्रमिक र पुँजीको आवश्यकता पर्छ । नेपालमा न त कच्चापदार्थ छ, न सस्ता श्रमशक्ति, न यथेष्ट पुँजी । सरकारको उद्योग प्रवद्र्धन गर्ने नीति र पूर्वाधार विकासले पनि देश–विदेशका पुँजीपतिहरूलाई उद्योग स्थापना गर्न आकर्षित गर्छ । दशकअघि ‘औद्योगिक क्षेत्र’को अवधारणा आएको थियो र उद्योग विकास गर्न बाटो, बिजुली, सुरक्षाजस्ता केही भौतिक पूर्वाधार बनाइएको थियो । त्यसअनुरूप देशभरि १० वटा औद्योगिक क्षेत्र पनि खुलेका थिए । हाल उद्योगपतिहरू सरकारको नीति उत्साहप्रद नभएको तर्क गर्छन् । नेपालको श्रमशक्ति भारत, बंगलादेश र चीनको भन्दा महँगो छ । जहाँ जनघनत्व बढी हुन्छ त्यहाँ श्रमिकको ज्याला कम हुन्छ । नेपालमा कामदार पाउनै गा¥हो हँुदै गयो र ज्याला महँगो भयो । लोकतन्त्रसँगै थपिएको अर्को समस्या बन्द–हड्तालको हो । श्रमजीवीहरूबाट पाइने र परेको बेलामा बन्द–हड्ताल, जुलुस, भाषणमा ‘सस्ता र भरपर्दा’ कार्यकर्ताका रूपमा प्रयोग गर्न सकिने भएकाले राजनीतिक दलहरूको रुचि यिनमा बढ्दै गएको छ । चलिरहेका युनिलिवरजस्ता केही ठूला उद्योगसमेत यिनै कारणले संकटग्रस्त भए । डार्बिनको प्राणीसम्बन्धी विकासवादको सिद्धान्तले भन्छ– ‘त्यो प्राणी मात्र संसारमा टिक्छ जो प्रतिस्पर्धामा अरूलाई जित्दै टिकिरहन सक्छ ।’ खुला बजारमा पनि यो सिद्धान्त हुबहु लागू हुन्छ । खुला बजारमा उच्च गुणस्तर र कम मूल्यका उत्पादन मात्र टिक्न सक्छन् । उत्पादनको पद्धति, श्रमिकको ज्ञान र मेसिन जति उच्च कोटीको हुन्छ त्यो उत्पादन त्यति नै बजारमा टिक्न सक्ने हुन्छ । तर, हाम्रा कलकारखाना, श्रमिक र प्रविधि कमसल छन्, किनकि विज्ञान र प्रविधिको विकासका लागि देशले न्यूनतम ध्यान दिएको छ ।
हाम्रा दुईतिर संसारकै विशालतम जनसंख्या र अर्थतन्त्र भएका शक्तिशाली देशहरू छन् । भारत र चीन दुवै विज्ञान र प्रविधिको प्रचुर विकास भएका देश हुन्, जसलाई हाल विश्वका उदीयमान अर्थतन्त्रका रूपमा पनि चिनिन्छ । यी दुई देशको तुलनामा हाम्रो श्रमशक्ति २–३ प्रतिशतजति मात्र छ र कुल गार्हस्थ्य उत्पादन १ प्रतिशतभन्दा कम । नेपालमा उद्योगले गार्हस्थ्य उत्पादनमा करिब ६ प्रतिशतको योगदान दिएका छन् भने भारतमा २८ प्रतिशत र चीनमा ४७ प्रतिशत योगदान दिएका छन् ।।
तालिका: आर्थिक र श्रम क्षमतका परिसूचक, २०११   
देश
श्रमशक्ति
(दस लाखमा )
कूल गारस्थ्यउत्पादन (अर्ब अमेरिकी डलर मा)
गारस्थ्यउत्पादन वृद्धिदर 
गारस्थ्यउत्पादनमा
उधोगको योगदान(%) 
नेपाल
१६
१८.८८
३.५%
६.२
भारत
४७२
१८४७.९८
७.२%
२८
चिन
९३७
७३१८.५०
९.२%
४७
श्रोत: आर्थिक सर्वेक्षण २०१२: अर्थ मन्त्रालय र विश्व बैंक २०११ 
यसरी तुलनात्मक रूमा नेपाल नवजात शिशु र हाम्रा छिमेकीहरू भीमकाय भीमसेनजस्ता देखिन्छन् । नेपालको व्यापारघाटा ‘सुरसाको मुख’ जस्तै हरेक क्षण ठूलो हँुदैछ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द«को तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ खर्ब ८० अर्ब रुपैयाँ पुगेको व्यापारघाटा यस आर्थिक वर्षको ९ महिनामा (२०६९ चैत सम्ममा) १ सय १४ प्रतिशतले बढेर ३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये झन्डै ३१ प्रतिशत घाटा भारतसँग नै भएको थियो । भारत र चीनबाट भूपरिवेष्टित रहेको नेपाल, ती दुई देशका कम लागतका उत्पादनको बाढीबाट जोगिन कदापि सक्दैन । तसर्थ यी हाम्रा उद्योगहरू जो विविध आन्तरिक कारणले लडखडाइरहेका छन्, आउँदो १० वर्षभित्र सम्पूर्ण हराउने डर देखिन्छ ।
के हाम्रो उद्योगको भविष्य पूर्ण अन्धकारमय हुने हो त ? यसो होइन । हामीमा कृषिको ज्ञान निकै राम्रो छ । कृषिमा हाम्रो धर्म, सस्ंकृति, दर्शन, साहित्य, भाषा, प्रेम, क्रान्तिलगायत जीवनका हरेक तथ्य मिलेको छ । कृषिबारे केही ज्ञान दिँदा पढलेख नगरेकाले पनि राम्ररी बुझ्न र उपयोग गर्न सक्छन् । भाग्यवश हामी हिमाल र तराईको यस्तो भौगोलिक स्थितिमा छौं जहाँ संसारको दुर्लभ हावापानी र जैविक विविधता प्राप्त छ । केही जोसिला नेपाली युवाले भविष्यको बाटो देखाउँदै गरेका उदाहरण पाइँदैछ । जुनार, च्याउ, रेन्बोट्राउट माछा, टनेलका तरकारी खेतीजस्ता कामबाट देशमै राम्रा कमाइ गरिरहेका युवाहरूले विदेशको दुःखद र अनिश्चित रोजगारीको पछाडि दौडेकाहरूलाई झस्काएका छन् । नवलपरासीका चन्द्र शर्माको अष्ट्रिच पालनको चर्चा धेरै भएको छ, जहाँ २ सय ५० केजी तौलका ८ सय वयस्क अष्ट्रिच हुर्किसकेका छन्, जसबाट उनले सन् २०२० सम्ममा रु. ८७ अर्बको व्यापार गर्ने हिसाब गरेका छन् । यी सबै उदाहरण उत्पादन सोझै बिक्री गर्नेका हुन् या भनौं शुद्ध कृषि गर्नेको । यसमा आम्दानी केही कम नै हुन्छ । यदि यस्ता उत्पादनलाई थोरै मात्र प्रशोधित या परिवर्तित गर्न सके बढी मुनाफा दिने र लामो समय भण्डारण गर्न सकिने हुन्छ । पूर्वोत्तर संखुवासभाको हिन्वा वाइन, मार्फाको ब्रान्डी, जिरीको चीज, इलामको चिया, गुल्मीको उच्च–पर्वतीय कफी र गलैंचा उद्योग केही यस्ता उदाहरण हुन् जसमा देशका कृषि उत्पादनको उपयोग भई सामान्य प्रशोधन पनि गरिएको छ । यी यस्ता उदाहरण पनि हुन् जो नेपालको विशेष जलवायुमा आफ्नै खालको स्वाद दिने उत्पादनका रूपमा विश्वविख्यात भइसकेका छन् । जस्तो नेपालको उच्च पर्वतीय कफी संसारका अरू धेरै देशका कफीभन्दा एकदमै भिन्न छ भनेर पारखीहरू भन्छन् । हाम्रा यस्ता आफ्नैपना भएका कृषि उत्पादनको पहिचान गर्दै जानुपर्छ र यसलाई अर्ध–प्रशोधित गरी कुन रूपमा विश्वबजारमा लान सकिन्छ त्यसको खोजी हुनुपर्छ । हामीले गर्न सक्ने भविष्यका उद्योग यिनै मात्रै हुन् अर्थात मौलिक कृषिजन्य उत्पादनको प्रशोधन उद्योग । यार्सागुम्बा, पाँचऔंले, केशर, जटामसीजस्ता बहुमूल्य जडिबुटी जो प्रायः नेपालमा मात्रै पाइन्छ, हामी कच्चा रूपमा सोझै बेचिदिन्छौ । यसबाट पनि केहीको घरबार त चलेको छ, तर सामान्य प्रशोधन गरी तेलका रूपमा बेच्दा यसबाट दस गुना बढी मूल्य पाइन्छ र केही बढी मान्छेले रोजगारी पनि पाउँछन् । फेरि सामान्य प्रशोधनका लागि ठूलो लगानी र प्रविधिको आवश्यकता पनि पर्दैन । तसर्थ, सरकार र योजना आयोगको ध्यान लड्खडाइरहेका परम्परागत उद्योगलाई विभिन्न सहुलियत र छुट दिएर भ्यान्टिलेटरमा राख्नुको सट्टा राम्रो भविष्य भएका उद्योग पहिचान र प्रवद्र्धनमा जानुपर्छ, जसमा कृषिमा आधारित उद्योग पहिलो पंक्तिमा आउँछन् ।