Showing posts with label भ्रस्टाचार. Show all posts
Showing posts with label भ्रस्टाचार. Show all posts

Monday, September 19, 2016

युवाविहीन देशमा श्रमपुँजीको व्यवस्थापन ( कारोबार दैनिक : असोज ३, २०७३ )

युवाविहीन देशमा श्रमपुँजीको व्यवस्थापन
देश युवाविहीन हुँदै गएको छ । गाउँघरमा यो समस्या सहरभन्दा अझै भयावह देखिन्छ, किनकि गाउँ ज्यादै शारीरिक श्रममा निर्भर हुन्छ । नेपालको ग्रामीण परिवेश अझै पनि कृषिमै निर्भर छ भने कृषि शारीरिक श्रममा नै निर्भर छ ।
हाम्रो कृषि झन्डै शून्य यान्त्रीकरण भएकाले नै शताब्दियौंदेखिको अनुभव बोकेको पेसामा बढी श्रम गर्दा पनि परिवार धान्न गाह्रो हुँदै गएकाले नयाँ पुस्ता यसबाट टाढिँदै गएको हो । यसैले फाइदाजनक र सहज व्यवसायको खोजीमा परिश्रमी ग्रामीण जनता गाउँबाट सहर र सहरबाट विदेश पस्दै गएका हुन् ।
परम्परागत कृषिको यसै विकर्षणले ८० प्रतिशत ग्रामीण जनसंख्या भएको देश, जहाँ केही दशक पहिला ९० प्रतिशत जनताको मुख्य पेसा कृषि नै थियो, अहिले कृषिबाटै परिवार पाल्नेको संख्या केवल ६० प्रतिशतमा झरेको छ ।
कृषि पेसाबाट टाढिँदै जाँदा पहिला भइरहेको कृषि उत्पादनमा ह्रास हुँदै आयो । फलस्वरूप लगातार गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दै गएको र आयातित कृषि उपजको अनुपात हरेक वर्ष बढ्दै गएको राष्ट्रिय तथ्यांकले देखाउँछ । 
कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान ०२३/२४ मा ६९ प्रतिशत देखिन्थ्यो, जो ०५३/५४ सम्ममा ३४ प्रतिशतमा झ¥यो भने ०७२/७३ मा आइपुग्दा यसमा अझ गिरावट आई ३१.६ प्रतिशतमा झरेको देखिन्छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७१/७२ मा कृषि वस्तुको आयात १३७.१ अर्बभन्दा बढी थियो, जसमा करिब २५.३ अर्बको /निर्यात घटाउँदा हाम्रो कृषिजन्य वस्तुको व्यापारघाटा नै १११.८ अर्ब हुन आउँछ, जुन त्यस वर्षको ६ खर्ब ९० अर्बको गार्हस्थ्य उत्पादनको झन्डै १६ प्रतिशत हो ।
कृषिक्षेत्रमा सरकारको लगानी प्रचुर भए पनि यस क्षेत्रको यो दुर्दशा हुनुको प्रमुख कारण उन्नत बीउबिजन र रासायनिक मल नपाइनु, आकाशे पानीमा नै झन्डै निर्भर हुनुपर्ने कृषिमा इजराइलको जस्तो थोपा सिँचाइ या यस्तै नयाँ प्रविधिबारे अनुसन्धान वा जानकारी कृषकलाई नहुनु, बजार जोड्ने बाटोघाटो नहुनु या बाह्रमासे नहुनु, कृषि बिमा जसबारे हाल केही नियमन बनेका छन्, किसानसम्म पुग्न नसक्नुलगायतका हुन् ।
यो क्षेत्रको अधोगतिको मुख्य जिम्मेवार सम्बन्धित सरकारी कर्मचारीहरूको अस्पष्ट, अनुत्तरदायी भूमिका र अनुसन्धान संस्थाहरूको निष्क्रियता नै हो भने हुन्छ । यसैको परिणामस्वरूप देशको बेरोजगारी विकराल रूपमा बढेको पनि हो ।
कृषि पेसामा बाँचेका बहुसंख्यक ग्रामीण जनता आधारभूत पेसाको क्षयीकरणबाट अन्य पेसातिर आकर्षित भए, तर अन्य व्यवसायमा पनि उस्तै बेथिति थियो ।
नेपालका उद्योग केवल पारिवारिक हिसाबले चलेका छन्, संस्थागत छैनन् । गुणभन्दा परिवारको विश्वासीलाई काम दिइन्छ । थोरै खुल्ने सरकारी र संस्थानको जागिरमा पस्न अर्को समस्या छ— पहुँच, नजराना, शक्तिजस्ता अनेक रोकावट छन् । बैंक, होटलमा यस्ता तत्व केही मात्र कम हो, २० को १९ ।
भनिन्छ, सोझो व्यापार फाप्दैन । फलस्वरूप हरेक वर्ष रोजगार बजारमा थपिने नयाँ अनुहारहरू र कृषिबाट उछिट्टिइएका पुराना बेरोजगारहरूका आवश्यकतालाई नेतृत्ववर्गले कहिल्यै सुन्न चाहेनन् ।
नेपालका शासक र योजनाविद्हरू नयाँ रोजगारी सिर्जना गर्ने नीति र वातावरण बनाउन लगेनन्, बरु देशका युवाहरू कुन विदेश र कुन सुविधा तालिमले बाहिर जान सक्छन् भन्ने विषयमा बढी केन्द्रित भए । अमेरिका, जर्मनी, ब्रिटेनमा रोजगारी बढाउने योजना नै चुनाव जित्ने प्रमुख तत्व हुन्छन् ।
त्यस्तो तत्व नेपालको राजनीतिमा अनावश्यक ठानिएको छ । सन् १९९० (२०४८ साल) देखि जब देशको राहदानी प्रायः सबै विदेशका लागि खुल्ला गरियो त्यस बेलादेखि नै सरकारी नीति युवालाई लाहुरे बनाउनमा नै केन्द्रित छ ताकि देशको रोजगारीका लागि विद्रोह गर्न सक्ने तातो रगतका युवाहरूलाई सक्दो बाहिर धपाउन सकियोस् ।
विदेश जाने र राम्रो पैसा कमाउनेहरूको सपना भजाएर पैसा कमाउन बिचौलिया कम्पनीका रूपमा म्यानपावर एजेन्सी देशभरि राम्ररी फस्टाए । यस्तोमा नीतिनिर्माताको पदमा बस्नेहरू धेरैको प्रत्यक्ष लगानीसमेत रहेको देखिन्छ, जसबाट युवालाई लाहुरे बनाउन नीतिगत स्वार्थ रहेको प्रस्ट हुन्छ ।
यसरी देशबाट ४० लाखभन्दा केही बढी नेपाली विदेशको रोजगारीमा गएको सरकारी आँकडा छ भने लुकीछिपी बिदेसिएका पनि त्यही हाराहारीमा र पढ्न भनेर यताबाट जाने तर नफर्किएका समेत जोड्दा १ करोडको हराहारीमा नेपाली अहिले विदेशमा छन् भन्ने आप्रवासनसम्बन्धी अध्ययन गर्नेहरूको भनाइ छ ।
यसरी पैसाको जोहो गर्न सक्ने, पढेलेखेका, टाठाबाठाहरू बिदेसिने क्रम चल्यो भने यस्तो नसक्नेहरू जसरी पनि आफ्नो जीविका चलाउने जुक्तिमा सहरहरूमा थपिँदै गए । सबै सहर यस्ता प्रवासीका चापले अनियन्त्रित, प्रदूषित र आधारभूत सेवा दिन नसक्ने समस्याबाट ग्रस्त छ जबकि गाउँ युवाविहीन ।
काम नपाएर देशमै थन्किएका युवाहरू एकातिर बिदेसिएका साथीहरूका विदेशी कमाइ र रमझमबारे सुन्दै आफू विदेश जान नपाएको रन्को र अर्कातिर जसरी भए पनि राम्ररी बाँच्ने रहरले कुण्ठित हुँदा देशमा अनैतिक कामहरूमा बढोत्तरी हुँदै गएको छ ।
कृषिको दुःखबाट आक्रान्तहरू सजिलोसँग राम्रो मुनाफा दिने व्यवसायमा पस्दा गैरकानुनी क्रियाकलापहरू– व्यापारिक ठगी, औद्योगिक उत्पादनमा मिसावट, राजनीतिक–सरकारी तन्त्रमा घूस दिएर काम बनाउने प्रवृत्तिमा बढोत्तरी पनि यसै आधारभूत कृषिक्षेत्र रुग्ण भएरै हो ।
किनकि सेवा र उद्योग–व्यापारमा कृषिका विस्थापितहरू एकाएक बढे र कृषिको दुःखबाट आक्रान्तहरू सजिलोसँग राम्रो मुनाफा दिने व्यवसाय खोज्न लागे । भ्रष्टाचार यसरी बढ्नु र यो सहज पच्ने गरी सामाजिकीकरण हुन यो स्लगनले सघाएको छ ।
क्रमिक रूपमा जब कृषिबाट गैरकृषिमा जनसंख्या रूपान्तरित हुँदै गएको छ, बेरोजगारी बढ्ने क्रम जनसंख्या वृद्धिभन्दा तीव्र भएको छ; अर्थात् केवल जनसंख्या वृद्धिले बेरोजगारी बढाएको होइन, देशमा रोजगारीको वातावरण लगातार बिग्रिँदै गएकाले बेरोजगारी बढेको हो ।
देशमा नातावाद, कृपावाद, शक्ति, पैसाको भरले मात्र जागिर पाइने र कामको अनिश्चितता, महँगीको सापेक्षित तलब वृद्धि नहुने, युनियन र पार्टी राजनीतिले सधैं दुःख दिइरहने हुनाले काम गर्ने सोच भएका युवा देशमा पीडित भएका छन् ।
यस्तो दूषित वातावरण सुधार्न सरकारको पहल देखिँदैन, बरु वातावरण प्रदूषित हुँदा आफ्नो व्यक्तिगत फाइदा कसरी हुन्छ भन्नेमा सीमित बनेको छ । यसको उदाहरण हरेक सरकारी संघ–संस्थाहरूमा हुने राजनीतिक कोटाको नियुक्ति हो ।
यस्तो परिस्थितिमा, गरिखान खोज्ने इमान्दार युवाहरू यही देशको हन्डर र छलछामको दूषित परिस्थितिमा भन्दा जसरी पनि बिदेसिने नसोचे के सोचून ?
विदेशमा रोजगारी पाएपछि पुग्दो आम्दानी हुने, राम्ररी काम गर्दा पैसा बढ्दै जाने, बिजुली नै बिजुली, कहिल्यै लोडसेडिङ नहुने, खानेपानी, पेट्रोल, ग्यासको चिन्ता गर्न नपर्ने, पैसा तिरेपछि सुविधाजनक यातायातको व्यवस्था, उच्च गतिको सस्तो इन्टरनेट आदिका सुविधाबारे थाहा पाएका युवाहरू यो देशका नीतिनिर्माताहरूको स्वार्थ र बेबकुफीले गर्दा बिगारिएको यो देशमा सधैंको बेथिति र दुर्दशा झेलेर कति दिन बसून् ?
यसैले अहिले स्कुलमा पढ्दै गरेका कलिलो उमेरदेखि नै अधिकांशको सपना विदेश जाने, रमाइलो संसारमा बस्ने र पैसा कमाउने भइसकेको छ ।
सरकारी आँकडामा ‘बेरोजगार’ र ‘रोजगारी बजार बाहिर’ भनेर २१ प्रतिशत बेरोजगार जनसंख्या देखिन्छ । यो आँकडा जानाजान गलत परिभाषा अँगालेर देशको बेरोजगारी कम देखाउने सरकारी प्रयास हो भन्ने पनि गरिन्छ ।
तर, यसै परिभाषालाई आधार मान्दासमेत झन्डै ६० लाख जनता बेरोजगार देखिन्छन्, जसमा विदेश गएकाको गणना गरिएको छैन । देशभित्रका बेरोजगारमध्ये २७ प्रतिशत २०–३४ वर्ष उमेरका युवायुवती छन् ।
के विदेशको सपना देख्ने यी युवा गलत हुन् ? यो देशमा सुव्यवस्था बनाउने कसले हो ? अर्थर लेविसले सन् १९५४ मा कसरी कृषिमा भएका अपार श्रमशक्तिलाई तालिम र औद्योगिक पूर्वाधार बनाई देश विकास गर्ने भन्ने अवधारणा दिएका थिए ।
यो अवधारणालाई धेरै अविकसित देशले अवलम्बन गरे जसको पछिल्लो उदाहरण चीन र दक्षिण कोरिया भन्न सकिन्छ । यस अवधारणाअनुसार यस पंक्तिकारले नेपालको श्रमशक्ति र गार्हस्थ्य उत्पादनका आधारमा गरेको अनुसन्धान तथ्यांक विभागबाट प्रकाशित भइसकेको छ ।
यस लेभिस अवधारणाअनुसार वैदेशिक लगानी र अन्तरिक स्रोत परिचालनबाट अहिलेको गार्हस्थ्य उत्पादनमा हरेक वर्ष १५ प्रतिशत वृद्धि गरी त्यसलाई श्रमिकको आधुनिकीकरण गर्दै पूर्वाधारमा लगानी गर्न सके ३० वर्षमा नेपाललाई बेरोजगारीमुक्त देश बनाउन सकिने देखिन्छ ।
देश राजनीतिबाट निर्देशित हुन्छ । सबै ठूला राजनीतिक दलहरूमा बूढापाकाहरूको वर्चस्व छ जो यथास्थितिवादी छन् । केही युवा राजनीतिक दलमा देखिए पनि तिनको उपस्थिति न्यून छ या तिनीहरू यथास्थितिबादीहरूको दबाबले त्यस्तै भइसकेका छन् ।
सायद यो देश अर्को सामाजिक क्रान्तिको पर्खाइमा छ, जो निकट भविष्यमा हुने देखिन्न ।
अथवा यो देश अनेक दल, सिद्धान्त, समूह, क्षेत्रमा विभाजित भई रुवान्डा या सोमालियाजस्तै सधैंको आफू–आफूको लुछाचुँडीमा डुबिरहने खतरा बढ्दै गएको छ, जसको सुरुवात देशमा भइसकेको भान हुन्छ । कसले कसरी बचाउने हो यो देशलाई भन्ने साधारण नागरिकमा त्रास छ ।

Monday, June 16, 2014

रकमान्तरको वैधानिकता र बजेट: (कारोबार दैनिक , आशार २ , २०७१ )

--------------------------------------------------------------------------------------
हिजोआज नेपालको बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा आयोजनाहरू वर्षभरि नै थपघट र फेरबदल भइरहने, बेरुजु बढ्दै जाने र रकमान्तर नियमित प्रक्रिया बनेको छ । यसैगरी वर्षका ८ महिना पुँजीगत खर्च प्रयोग हुन नसक्ने र आर्थिक वर्षको अन्तिम ३–४ महिनामा यसकोे अन्धाधुन्ध खर्च गरिने परिपाटी बनेको छ ।
---------------------------------------------------------------------------------------
रकमान्तरका विषयमा सरकार र विपक्षीबीचको जुहारी सकिएपछि व्यवस्थापिका संसद्मा पूर्वबजेट छलफल आरम्भ भएको छ । यद्यपि रकमान्तरको विषय अझै टुंगिसकेको छैन । पूर्वघोषित कार्यक्रमका लागि छुट्ट्याइएको बजेट आफूखुसी रकमान्तर गर्नु कार्यपालिकाको आर्थिक बदमासी नै हो । के व्यवस्थापिका संसद् (हाल नेपालमा एकमात्र संसद् भएकाले यसलाई प्रतिनिधिसभा भनिए पनि हुन्छ) मा छलफल भई पास गरिएको बजेटमा भएको विभिन्न आयोजना र कार्यक्रमका सिलिङहरू एउटाबाट अर्कोमा, सरकारमा बसेकाले आफूखुसी रकमान्तर गर्न पाइन्छ, त्यो पनि खर्बको हाराहारीमा ? आव ०६५÷६६ देखिको ६ वर्षमा २.२५ खर्बको बजेट रकमान्तर गरी अर्कै प्रयोजनका लागि खर्च भएको छ । रकमान्तरको विवादले सरकार, संसद् र राजनीतिक पार्टीहरूमा जुहारी नै चल्यो । एकातिर रकमान्तरको विरोध अहिले संसद्भित्रै एमाओवादीलगायतका पार्टीहरूबाट भइरहेको छ  भने सार्वजनिक लेखासमितिले ५ वर्षको अवधिमा भएको रकमान्तरको यथार्थ विवरण पठाउन अर्थमन्त्रालयलाई कडा निर्देशन दिएको छ, जसअनुसार सरकारले विवरण संसदसमक्ष पठाइसकेको छ ।  अर्कातिर, लामो समय अर्थसचिव भएका रामेश्वर खनालको “रकमान्तरमा संसद अवरोध ‘औचित्यहीन’ ...... यस्तो पहिले देखि हँुदै आएको परिपाटी हो” भन्ने टिप्पणी सार्वजनिक भएको छ । सत्ताधारी दल नेपाली कांग्रेसका नेताहरू रकमान्तरको बचावका लागि कडा वकालत गर्दैछन् । स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिने क्रममा रकमान्तर अहिलेदेखि सुरु भएको नभइ विगतदेखिकै अभ्यास भएको बताए भने पूर्वअर्थमन्त्री एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले यसलाई धूम्रपानको कुलतसँगै जोड्दै कुलत सिक्न नहुने टिप्पणी गरे । यस्तोमा सामान्य मान्छे यस्ता जुहारीले रनभुल्लमा पर्नु स्वाभाविक हो ।   
पूर्वअर्थसचिवलगायत अर्थ मन्त्रालयको जिम्मेवारी पाएको दलको धारणा हास्यप्रद भएको कुरा बजेटको आवश्यकता र प्रयोजन बुझ्ने जो कोहीले सजिलै बुझ्ने कुरा हो । अर्थशास्त्रीका अनुसार रकमान्तर दुई कारणले गर्ने गरिन्छ । अचानक भैपरी आएको समस्याको व्यवस्थापनका लागि, जस्तो विगतमा माओवादी शिविर व्यवस्थापनको लागि गर्नुपरेको थियो र दोस्रो, कुनै छुट्ट्याएको शीर्षकको रकम खर्च नहुँदा र अर्कोमा नपुग्दा गरिने रकमान्तर । आर्थिक कार्यविधि ऐन २०५५ र आर्थिक कार्यविधि नियमावली २०६४ ले रकमान्तरसम्बन्धी व्यवस्था गरेको छ । आर्थिक कार्यविधि ऐन २०५५ को दफा ५५ बमोजिम अर्थमन्त्रालये तोकिएको कुनै शीर्षकमा रकम बचत हुने भएमा विनियोजना ऐनको सीमाभित्र रहेर अर्को शीर्षकमा रकमान्तर गर्न सक्ने व्यवस्था गरेको छ । यस्तो भनिरहँदा सम्झिनुपर्ने कुरा हो— बजेटको प्रयोजन । बजेट भनेको राष्ट्रिय योजनाहरू (जो तल्लो स्तरबाट अनेकांै चरण पार गरी बन्छन् र जसले जनचाहनाको प्रतिनिधित्व गरेको हुन्छ ) का लागि, एवं सरकारका पूर्वघोषित नीतिअनुसारको खर्चका लागि प्रतिनिधिसभाको अनुमोदन लिएर बन्ने राष्ट्रिय खर्चको श्वेतपत्र हो । जो विधायिकाबाट पारित भएपछि कानुनसरह गरी लागू हुन्छ । आर्थिक ऐन र अन्य सहायक ऐनहरूले यसको कार्यान्वयनलाई सुनिश्चित तुल्याउँछन् । बजेट वित्तीय दस्तावेज हो, जसमा एक आर्थिक वर्षभित्र सरकारको आम्दानी र खर्चको हिसाबकिताब मात्रै नभई सम्पूर्ण वित्तीय व्यवस्थापनका पक्षलाई नै समेटेको हुन्छ । कार्यक्रम तर्जुमादेखि कार्यान्वयन, रकम भुक्तानी, खरिद प्रक्रिया, लेखाप्रणाली र रिपोर्टिङसम्मका गतिविधि सार्वजनिक वित्तीय व्यवस्थापनभित्रै पर्छन् । त्यसैले विनियोजित बजेट पूर्वघोषित कार्यक्रमका लागि नै खर्च गर्नुपर्छ । यसरी बनेको बजेटको एक शीर्षकबाट अर्कोमा रकमान्तर गर्नु भनेको राष्ट्रिय योजना र बजेट बन्ने मूलभूत सिद्धान्तहरूको खिल्ली उडाउनु हो, आर्थिक अनुशासनहीनता र नीतिगत भ्रष्टाचार नै हो । आर्थिक वर्षको अन्तिम समयमा आएर गरिने रकमान्तरले भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहित गर्छ । रकमान्तर गर्नुको एउटा कारण अचानक भैपरी आएको समस्याको व्यवस्थापनका लागि हो । तर, यस्ता अचानक भैपरी आएका ठूला समस्याहरू विगतमा कति भए र के हरेक वर्ष भएका छन् भन्ने प्रश्न आमरूपमा उठेको छ, तर हरेक वर्ष ठूलो रकमान्तर भएको देखिन्छ । तथ्यांकअनुसार, गत आव ०७०÷७१ को बजेट ५ सय १७ अर्ब २४ करोडको थियो, जसमा झन्डै ७ प्रतिशत अर्थात् ३५ अर्ब ३१ करोड रकमान्तर भएको थियो । यसैगरी अघिल्लो वर्ष ०६९÷७० मा ९ प्रतिशत र सबैभन्दा धेरै रकमान्तर ०६५÷६६ मा ४५ अर्ब ७ करोड भएको देखिन्छ, जुनबेला सरकारमा एमाआवादी थियो । रकमान्तरले सरकारलाई भ्रष्टाचारको सजिलो बाटो खोल्छ, जस्तो— राष्ट्रिय महŒवका योजना जस्तो सडक, खानेपानी स्कुल बनाउनुपर्ने बजेट सरकारी ढिलासुस्ती र अक्षमताले गर्दा अगाडि बढ्न सकेन भने त्यसका लागि छुट्ट्याइएको रकम रकमान्तरको सजिलो अस्त्र प्रयोग गरी नक्कली उपभोक्ता समूहहरू खडा गरी आफ्नो चुनाव क्षेत्रमा लगी आफ्नै कार्यकर्ता पोस्ने कार्यक्रममा खर्च गर्ने । यसरी पछि थपिएका कार्यक्रम प्रायः हचुवा, गाउँको विकास नहुने प्रकारका हुन्छन् । यहाँ, कसको नालायिकीले गर्दा पूर्वघोषित कार्यक्रम र बजेट खर्च हुन नसकिएर थुप्रिएको होे, त्यसबारे अनुसन्धान हुनु बढी आवश्यक देखिन्छ । रकमान्तरको अहिलेको लफडाले बजेट र योजनाका केही अन्य पक्षहरूलाई पनि सतहमा ल्याएको छ ।
हिजोआज नेपालको बजेट निर्माण र कार्यान्वयन प्रक्रियामा आयोजनाहरू वर्षभरि नै थपघट र फेरबदल भइरहने, बेरुजु बढ्दै जाने र रकमान्तर नियमित प्रक्रिया बनेको छ । यसैगरी वर्षका ८ महिना पुँजीगत खर्च प्रयोग हुन नसक्ने र आर्थिक वर्षको अन्तिम ३–४ महिनामा यसकोे अन्धाधुन्ध खर्च गरिने परिपाटी बनेको छ । त्यसमा पनि ६० प्रतिशत रकम त बजेट दिग्दर्शनले तोकेविपरीत असार मसान्तमा खर्च हुने गरेको छ । यी सबै बजेट कार्यान्वयनका नियमित समस्या बनेका छन् । चालू आर्थिक वर्षको ९ महिनामा केवल १६ प्रतिशत पुँजीगत खर्च भएको छ । भनिरहनु पर्दैन, बाँकी भएको ८४ प्रतिशत रकम हचुवाको भरमा अन्तिम महिनामा सक्दो उडाइन्छ । रकमान्तर केवल यसको एक श्रृङ्खला हो ।  योजना र बजेट प्रक्रियामा जनसहभागिता न्यून भएको छ  भने कार्यान्वयन औपचारिकतामा मात्रै सीमित भएको देखिन्छ । यसप्रकारको आर्थिक अनियमितता र बजेटको मनपरी प्रयोग सबै कालका सरकारले गरेका छन् । तर, पहिलेको सरकारले गरेका अनियमित काम यो सरकारले पनि गर्न पाउनुपर्छ भन्ने तर्क गलत हो । बजेट निर्माण गर्ने पूर्वसन्ध्यामा अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगमा उद्योेगी–व्यापारी, राजनीतिक कार्यकर्ता–नेताहरूको भीड लागेको हुन्छ । बुद्धिजीवी र विज्ञहरूको विरोधको बाबजुद सरकारले हचुवा निवेदनको भरमा कनिका छरेझैँ प्रत्येक सभासद÷सांसदका लागि रकम बाँड्ने गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाको भागमा पनि ५० लाख परेकोे छापामा आएको थियो । अर्थको कृपापात्र सबैमा बाँडिएको यस्तोे रकम करिब ६० करोड पुगेको अनुमान छ । यो बाँडचुँड कुन योजनाअन्तर्गत गरिएको हो ? के यसरी छरिएको रकम गाउँसम्म पुग्छ ? कि यो चुनाव खर्चको क्षतिपूर्ति हो ? योे पैसा छराई रकमान्तरको जादुबाट नै सम्भव भएको हो । आव २०६९÷७० मा असुल गर्न बाँकीमध्ये ५६ प्रतिशत बेरुजु अर्थमन्त्रालयको मात्रै भएको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । अर्थमन्त्रालय वित्तीय अनुशासन पालन गराउने निकाय हो । तर, तथ्यांकहरू बोल्छन्, अर्थमन्त्रालयले हरेक वर्ष भैपरी शीर्षकमा ठूलो रकम ओगटेर राख्छ र त्यो रकम वर्षान्तमा रकमान्तर गरेर बाँडचुँड गरिन्छ ।  यसबाट प्रस्ट हुन्छ, आजको मितिसम्ममा सबैभन्दा आर्थिक अनुशासनहीनतामा कसले नेतृत्व गरेको रहेछ र विगतमा अर्थमन्त्रालयका लागि किन ठूला मनमुटाव हुन्थ्यो अनि सरकारी भ्रष्टाचारको मूल जरो कहाँ रहेछ ।  
राष्ट्रिय बजेट र योजनामा ‘लुटको धन, फुपूको श्राद्ध’ झैँ गरी अनियमितताको खेल हुनु राष्ट्रिय अर्थतन्त्रका लागि घातक कुरा हो ।  यसको अनुशासित कार्यान्वयन देश विकासको मेरुदण्ड भएकाले यसको खबरदारी र अनुगमनका लागि सम्पूर्ण सञ्चार जगत, विज्ञ समाज, राजनीतिक दल र नेताहरूसचेत र सक्रिय हुनु आवश्यक छ । आशा गरौं, वर्तमान सरकार र आउँदा सरकारहरूले वित्तीय अनुशासन पालन गर्नेछन्; रकमान्तरको प्रयास गर्नेछैनन्, यसमा गर्व गर्नेछैनन्, बेरुजु गर्ने छैनन् र गाउँका जनताबाट नै सिफारिश भएका, खोजिएका योजनाहरू नै सिंहदरबारमा पास हुनेछन् । यसका लागि सरकारका आर्थिक क्रियाकलाप चनाखो भई हेर्ने र यो सही तरिकाले भएको नदेखेमा हामी सबैले त्यसको भद्र विरोध गरे यस किसिमका आर्थिक अनुशासनहीनता कम भएर जानेछ ।