Sunday, March 15, 2020

विश्व संस्कृति बदल्दै कोरोना र असावधान नेपाल(चैत ३ , कारोबार )

Link to my article
अमेरिकी राष्ट्रपति ट्रम्प र आइरिस प्रधानमन्त्री भाराडकर भेट्दा हात मिलाउनुको सट्टा नमस्तेको अभिवादन गरिरहेको फोटो सार्वजनिक भएको छ । त्यस्तैै, ब्रिटिस राजकुमार चाल्र्सले ‘प्रिन्स ट्रस्ट एवार्ड’ मा सबैलाई नमस्ते गरेको देखिन्छ । अचेल कोरोनाको भयावहताले संसारभरिको संस्कृतिमा विभिन्न नयाँ चालचलन देखिन थालेको छ ।
नमस्ते संस्कृति वास्तवमा नेपालको मौलिक र सर्वव्याप्त चलन हो, तर ‘पेटेन्ट राइट’ नभएको । अहिले यो ‘भारतीय नमस्ते’ भनेर प्रचार भएको छ । जबकि भारतमा हिन्दूहरूले मात्र नमस्ते भन्छन्, तर खुट्टा छुने चलनसमेत छ त्यहाँ । मुस्लिमहरू भने काँध जुधाउने र अस्सलाम–आलेकुमको एक हाते अभिवादन गर्ने गर्छन् ।
वास्तवमा, अभिवादनमा नमस्ते स्वास्थ्यका लागि सधैं सुरक्षित छ, कोरोना नहुँदा पनि । किनकि सामूहिक भेटघाटमा हात मिलाउँदा या गाला जोड्दा या अन्तरंगहरूसँग म्याइँ खाँदा जहिले पनि संक्रमणको खतरा बढ्छ । त्यसैगरी हामीतिरको खानपिनमा प्रयोग हुने बेसार, काँचो लसुन, टिम्बुर र पहिलादेखि पाइने तर अहिले ह्वात्त प्रयोग बढेको सोइजन (मोरिन्गा) को पातको चूर्ण पनि राम्रो प्रतिरोधी शक्ति भएको औषधि हो भन्ने अचेल भारतीय महाद्वीपबाहिरका डाक्टरहरूले समेत पनि भन्न थालेका छन् । चमेरो जस्ताबाट मान्छेमा सरेको शंका गरेदेखि चीनले यस्ता जीवजन्तु खान बन्देज गरेको छ । सायद आउँदा दिनहरूमा संसारकै खाने बानीमा र अभिवादन चलनमा कोरोनाको असर पर्न सक्छ ।
संक्रमणको ठूलो माध्यम कागजी नोट ठानिएकाले चीन सरकारले करोडौं नोट जलायो । इटालीका धेरै सहरका पसलहरूमा कागजी नोट पूर्ण बन्द गरेर केवल कार्डबाट भुक्तानी लिने गरेको छ । यसरी आउँदा दिनमा कागजी नोटको प्रचलन निरुत्साहित हुने सम्भावना देखिन्छ ।
घरबाटै काम र पढाइको चलन युरोपका डेनमार्कजस्ता सहरमा केही पहिलेदेखि थिए, सहरको यातायात र प्रदूषणको चाप व्यवस्थापन गर्न । तर, अहिले यस्तै व्यवस्था अमेरिकालगायत धेरै देशमा कोरोनाका कारण गरिएको छ । सम्भवतः आउँदा दिनहरूमा भीडभाडपूर्ण ठूला सहरहरूमा काम गर्ने तरिकामा सम्भवतः परिवर्तन आउनेछ ।
कोरोनाले संसारभरि ठूलो आतंक फैलाए पनि योभन्दा ठूला अनेक महामारी विश्वले भोगिसकेको छ र सतर्कता अपनाउँदा त्यसलाई जितेका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ बाट आजसम्म करिब ५ हजारको मृत्यु भएको छ, जो ठूलो संख्या हो । तर, हामीले बिर्सिनु हुन्न, सन् २०१३ मा अफ्रिकामा फैलिएको इबोलाले ११ हजार ३ सयको ज्यान लिएको थियो । यस्तै, सन् १९१८ मा अमेरिकामा फैलिएको रुघाखोकीले १ करोड ५० लाखको ज्यान लिएको थियो । डाक्टरहरूका अनुसार समयमा पहिचान गर्न सके र सामान्य सतर्कता अपनाउन सके कोरोनाबाट बच्न सकिन्छ । यो कमजोर जीवाणु हो, सामान्य रुघाखोकीजस्तै ।
संसारभरिका वैज्ञानिक प्रयोगशालाहरूमा हरेक दिनजसो कुनै न कुनै रोगविरुद्धका औषधि, खोप निस्किने गर्छ । तर, जुन रफ्तारले औषधि निस्किँदै छन् त्यही रफ्तारले नयाँ रोग जन्मिदै पनि छन् । यो देख्दा तरुण–तपसीमा लेखनाथ भविष्यद्रष्टा देखिन्छन्, जसले लेखे, “यता हाँस्दै निस्के विविध बढिया वैद्य र बुटी, उता हाँस्यो नंगा मरण–तिथि साथै भुटभुटी ।” भाइरस लामो समयदेखि जीव वैज्ञानिकहरूका लागि एउटा चुनौती हुँदै आएको छ । सामान्य रुघाखोकी ल्याउने भाइरसको पनि डाक्टरहरूसँग कुनै विशेष औषधि छैन, आराम गर्ने र तातो पानी धेरै खानेबाहेक । त्यसैले ‘औषधि खाए सात दिनमा, नखाए एक हप्तामा निको हुन्छ’ भन्ने व्यंग्य सर्वमान्य छ । भाइरसको औषधि नहुनुको मुख्य कारण यसको चञ्चल स्वाभाव हो । भाइरस बडो चाँडो आफ्नो स्वाभाव, आक्रामणको शैली या जैविक संरचनामा नाटकीय परिवर्तन गर्न माहिर मानिन्छ, जसले गर्दा केही महिना पहिले त्यस्तै रोग गराउने भाइरसको उपचार केही महिनापछि उही तरिकाले हुन्छ भन्ने छैन, किनकि रोग ल्याउने भाइरसको गुण बदलिसकेको हुनसक्छ ।
नयाँ वर्ष २०२० को सँघारमा वुहानमा देखा परेको कोरोना भाइरस, जसलाई कोभिड–१९ नाम राखियो, कोरोना परिवारकै नयाँ जीवाणु थियो, पहिला संसारले नदेखेको । वर्ष दिनअघि, नोभेम्बर २०१९ मा मध्यपूर्वमा फैलिएको मार्स, जसले ८ सय ५८ जनाको ज्यान लिएको थियो, साधारण रुघाखोकीको लक्षण देखिने कोरोना नै थियो भने फरवरी सन् २००३ मा अफ्रिकामा देखा परेको सार्स पनि कोरोना परिवारकै थियो ।
समाचार हेर्दा यो कोभिड–१९, रहस्यमयजस्तो देखिन्छ, भूतनाथको तिलस्मी कथाजस्तै, कुनै लक्षण नदेखिने मान्छेबाट पनि सुटुक्क अर्को शरीरमा पस्न सक्ने जीवाणु हो यो । यसको जीवाणु बोकेर हिँड्ने मानिसलाई ज्वरो आएकै हुन्छ, रुघा लागेकै हुन्छ भन्ने छैन । त्यसैले ज्वरो जँचाएर वुहानबाट निस्केकाहरूले अरू देशमा यो रोग फैलाएको आशंका गरिन्छ । तर, १ सय २ फरेनहाइटभन्दा बढी ज्वरो यसको प्रमुख लक्षण मानिन्छ, किनकि आजसम्म १ लाख ३४ हजार कोरोना संक्रमितमध्ये झन्डै ९० प्रतिशतमा यस्तै ज्वरो भेटिएको छ ।
नेपालमा पनि विदेशबाट भित्रिने प्रत्येक नाका (हवाई या स्थलगत) मा केवल ज्वरो नाप्ने र शंकास्पदलाई छुट्टै राख्ने व्यवस्था अविलम्ब गर्न एकदमै जरुरी देखिन्छ । हप्ता दिनअघि म काठमाडौँबाट सुर्खेत विमानस्थलमा ओर्लंदा त्यहाँ यात्रुको ज्वरो नाप्ने व्यवस्थाको सुरुवात भएको रहेछ, ढिलै भए पनि । तर, जब केही दिनअघि मात्र म काठमाडौँ फर्किएँ, यहाँ भने यो व्यवस्था छैन । अन्तर्राष्ट्रिय विमानस्थल आगमन द्वारमा मात्र ज्वोरो जाँच्दैमा यो संक्रमण पस्दैन भन्ने छैन । सबै नाकामा ज्वरो जाँच्ने सामान्य व्यवस्था पनि गर्न नसक्दा नेपालमा कुनै पनि बेला यो महामारीले भयावह रूप लिन सक्ने र सरकारलाई झन् ठूलो समस्या हुने देखिन्छ । उद्भव देश चीनसँग सीमा जोडिएको र भारतमा पनि यसको प्रकोप बढ्दै गएको हुनाले नेपालमा यो नदेखिएको भए पनि आउँदैन या अहिले छँदै छैन भन्न सकिन्न ।
भारतले नेपालका केही नाकामात्र आगमनका लागि खोलेको छ । यो राम्रो कुरा हो, नेपालका लागि पनि । यी नाकामा आवश्यक स्वास्थ्य जाँचको तुरुन्त व्यवस्था गर्नु जरुरि छ । अनअराइभल भिसा बन्द गर्नु र विदेश यात्रामा प्रतिबन्ध लगाउनु सरकारको राम्रो कदम हो । तर, धेरै कुरा अपर्याप्त छ । कोरोनाबाट बच्न मास्कभन्दा हात सफा गर्ने र बेलाबेलामा मनतातो पानीको घुट्को लिनु जरुरी ठानिन्छ । यो सन्देश सरकारले, सञ्चारले प्रसारण गर्नु जरुरी छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार रोग सरेको २ देखि १४ दिनमा यसको लक्षण देखिन्छ । त्यसैले सहरका भीडभाड हुने स्थलहरू मल, व्यस्त बजार, होटल, पार्टी प्यालेसहरू, सिनेमाहलहरू केही समयका लागि बन्द गर्नु राम्रो हुनेछ । काठमाडौँका सार्वजनिक बसहरू हर्दा अधिकांश कोचाकोच भएरै चल्छन्, जसको मुख्य कारण कलेजका विद्यार्थी नै हुन् । त्यसैले स्कुल, कलेजमा गर्मीे बिदाको सट्टा अहिले नै महिना दिनको छुट्टी गर्नु आवश्यक देखिन्छ । अमेरिकाको नर्थ डकोटा, जहाँ मेरी छोरी पढ्दै छिन, केवल १ जनामा संक्रमण देखिएकोमा सतर्कता अपनाउँदै वसन्तको छुट्टी अगाडि सारेर आउँदो हप्तादेखि नै स्कुल कलेज बन्द गरिएको छ । र, आउँदो सेमेस्टरको पढाइ र परीक्षा घरबाटै अनलाइन गर्ने नीति अमेरिकाका अधिकांश राज्यहरूमा गरिँदै छ । हामी संक्रमित देशसँग टाँसिएका र खुला सिमाना हुँदा पनि किन यस्तो निश्चिन्त भएर बसेका छौं, आश्चर्य छ । त्यसैले पछिको ठूलो क्षति रोक्नका लागि बेलैमा सामान्य सावधानी अपनाउन सरकारसँग अनुरोध छ ।