Sunday, September 6, 2020

कोरोनाकालमा सुध्रिएको अर्थतन्त्र(आर्थिक अभियान भदौ २२ , २०७७ )

 यो बन्दाबन्दीमा कतिपय कुरा राम्रा भएको पनि देखियो, नेपालमा| मेरो संगालो आर्थिक अभियानमा |


लिंक

बूढापाका भन्ने गर्छन्— अनिष्टको छायामा निष्ट पनि आउँछ । खेतमा बाढी पसेपछि नदीले मलिलो माटो छोडेर जान्छ र अर्को साल त्यहाँ राम्रो उब्जनी हुन्छ । कोरोनाको प्रकोपले गाँजेको राष्ट्रिय अर्थतन्त्रमा गत वर्षहरूमा भन्दा यो वर्षमा सुधार देखिनु, यही अनिष्टमा देखिएको कोरोनाको स्नेह भन्न मिल्छ । तर, घरबारको स्तरमा बेरोजगारी र व्यापार व्यवसाय चौपट भए पनि समग्र राष्ट्रिय अर्थतन्त्रमा परेको सकारात्मकताको चर्चा मात्र यहाँ गर्न खोजिएको हो ।

जबजब राजनीतिक या अन्य कारणले, सिमाना बन्दा भएको छ, नेपाली आप्mनै पौरखले बाँचेको छ, अझ बढी स्वावलम्बी बनेको छ । यसपल्टको घटनाले पनि यही देखाएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी अर्थतन्त्र दोस्रो विश्वयुद्धपछि सबैभन्दा नराम्ररी प्रभावित भएको छ । गत फेब्रुअरीदेखि मार्चको छोटो अवधिमा नै अमेरिकी सट्टा बजारमा १९ प्रतिशतको गिरावट आएको थियो । तर, अमेरिकी खर्बपतिहरूको सम्पत्तिमा २९ प्रतिशतको वृद्धि भएको छ । अमेजनका जेजोफ बोजेस, माइक्रोसफ्टका बिल गेट्स, फेसबुकका मार्क जुकरकबर्ग र वारेन बफेट छन् । नेपालका चाउचाउ सम्राट् विनोद चौधरी, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ जस्ताको सम्पत्ति पनि यो कालखण्डमा निकै उक्कासिएको हुनुपर्छ । खाद्यान्न, तरकारी जस्ता अत्यावश्यक वस्तुको व्यापार बन्दाबन्दीमा सामान्यभन्दा धेरै थियो ।

नेपालको राष्ट्रिय स्तरको अर्थतन्त्रमा कोरोना कालमा अधिकांश सूचकांक सकारात्मक देखिन्छ । व्यापारघाटा घटेको, बजार मूल्यदर घटेको, सुनचाँदीको माग घटेको, वैदेशिक मुद्रा सञ्चय बढेको, प्रत्यक्ष वैदेशिक लगानी बढेको, विप्रेषण आय बढेको, वातावरण प्रदूषण घटेको आदि ।

सधैंको टाउको दुखाइ बनेको व्यापारघाटामा यस अवधिमा अभूतपूर्व सुधार देखिएको छ । गत आर्थिक वर्षको जेठसम्मको ११ महीनामा व्यापारघाटामा १६ प्रतिशतको कमी आएको छ । साउनमा प्रकाशित भन्सार विभागको तथ्यांकमा नेपालको आयात १९ दशमलव ६ प्रतिशतले घटेको देखिन्छ । सार्वजनिक यातायात ठप्प र निजी पनि ज्यादै कम चलेकाले पेट्रोलको खपतमा ठूलो कमी आउँदा आयातमा असर परेको हो । विकास निर्माणका कामहरू पनि अधिकांश बन्द भएकाले डिजेलको आयात पनि घटेको देखिन्छ । विलासी सामग्रीहरू, गाडी, इलेक्ट्रोनिक सामग्री, लुगाकपडाजस्ता वस्तुको समेत आयात घटेको छ । यति हुँदा पनि नेपालमा मानिसको जीवनमा ठूलो संकट देखिएको छैन । त्यसैले संकटले नेपाललाई बिगार्ने मात्र होइन, सपार्नेसमेत देखिन्छ । अर्थात् वैदेशिक मुद्राको ठूलो खर्च रोकेर आत्मनिर्भर बनाउने काममा यो नाकाबन्दीले सघाउने देखिन्छ । सिमानामा काँडेतार लगाएर सिमाना बन्द गरे मात्र नेपालको अस्तित्व जोगिने तर्कमा यस तथ्यले सहमति देखाउँछ ।

चैत, वैशाखदेखि भारतमा काम गरिरहेका लाखांै नेपाली देश फर्के । यो वर्ष वर्षात् पनि राम्रो भएको छ । यी दुवैले गर्दा आउँदो समयमा नेपालको खाद्यान्न उत्पादनमा राम्रो बढोत्तरी हुने निश्चित देखिन्छ । भारतीय नाका बन्द गरिएका बेला हरियो तरकारी नेपाल भित्रिएन । तर, देशका तरकारीले राम्रो बजार पायो । वास्तवमा चैतको बन्दीमा काठमाडौंका उपभोक्ताले अरू बेलामा भन्दा पनि ताजा तरकारी कम मूल्यमा पाएका थिए, शायद डेरावालहरू शहर छोडेर हिँडेकाले पनि यस्तो भएको हुनसक्छ । खेती गर्ने नेपाली किसानले यो अन्तरालमा राम्रै कमाइ गरेका हुन् । देशमा छरिएर रहेका तरकारी किसानको उत्पादन नजीकको शहर बजारसम्म पु¥याउन नसक्नुमा हाम्रो ठूलो कमजोरी देखिन्छ । कृषि विभाग, सहकारी संस्थाहरूमार्पmत यो बजारीकरण गर्नुपर्ने हो । केही मुठ्ठीभर बिचौलियाको चलखेलमा १० रुपैयाँमा किसानबाट उठाएको तरकारी उपभोक्ताको हातमा पुग्दा १०० रुपैयाँ बन्नु सरकारको कमजोरी नै हो । तर, सरकारको अनुपस्थितिमा बिचौलियाहरूले कृषकको जीवन बचाएको भने देखिन्छ ।

देशमा खाद्यान्न उत्पादन बढेमा नेपाली व्यापारको अर्को दुःखद पक्षबाट छुटकारा पाइनेछ । गत ११ महीनामा ५७ अर्बको खाद्यान्न, जसमा ३५ अर्बको त चामल मात्र पर्छ, हामीले आयात गरेका छौं । स्मरण रहोस्, २०३३ सालसम्म नेपालमा ‘धान चामल निर्यात कम्पनी’ अस्तित्वमा थियो । कोरोना र बन्दाबन्दी अवधिको विश्लेषण अर्थविद्हरूले गर्नु जरुरी देखिन्छ । विदेशिएका नेपालीले यसपल्ट कोरोनाको निहुँमा, खाद्यान्न उत्पादनको सुनौलो अण्डा देशमा पारेर गएका छन् । यस्ता विदेशिएकालाई नेपालमा नै टिकाउन सके समग्र अर्थतन्त्रमा र आत्मनिर्भरतामा पर्ने असरको मूल्यांकन गर्न कोरोनाले योजनाविद्हरूलाई प्रेरित गरेको हुनुपर्छ ।

भन्सार विभागको अनुसार गत ११ महीनामा निर्यातमा ८ दशमलव ८६ प्रतिशतको बढोत्तरी भएको छ । यो बढेको निर्यातमा मुख्य भूमिका चिया, गलैंचा, अलंैचीजस्ता वस्तुको देखिनु खुशीको कुरा हो । भटमास र पामको तेलजस्ता नेपालको उत्पादन नभएका वस्तु ठगीखाने व्यापार मात्र हुन् । चिया, अलैंचीजस्ता वस्तु जो नेपालको माटोको उपज हो, को निर्यात बढेको छ । त्यसैले यसको फाइदा माटो खन्ने किसानले बढी पाउनेछ । नेपालले कृषि तथा वन्यपैदावार, जस्तो कफी, स्याउ, अंगुर, सुन्तला, पाँचऔंले, कुड्की, लोक्ता, अर्घेली, जटामसीजस्ता पैदावारको व्यापारीकरण गर्नुपर्छ ।

अर्थ मन्त्रालयले साउनसम्ममा प्रत्यक्ष वैदेशिक लगानीमा गतवर्षको तुलनामा ५० प्रतिशत बढेर १९ अर्ब ४८ करोडको लगानी भित्रिएको जानकारीको सम्बन्ध कोरोना नहोला तर यही कालमा यो भित्रिएको छ । मुद्रास्फीति दर गतवर्ष जेठमा ६ दशमलव १६ देखिएकोमा यस वर्ष ४ दशमलव ५४ देखिनु निश्चय नै बजार बन्दको प्रभाव भन्न सकिन्छ ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको ठूलो भरथेग छ । यस वर्ष विप्रेषण खस्किने धेरैले अनुमान गरेका थिए तर वृद्धि भएको छ । गत आर्थिक वर्षको जेठ १ महीनामा मात्रै नेपालमा ७८.४ करोड डलर विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको जेठमा जम्मा ४४.९ करोड डलर भित्रिएको थियो । खाडीका अधिकांश देश तथा मलेशियामा पूर्ण या आंशिक रूपमा चलेको, अरू देशका कामदार आफ्नो देश फर्किए पनि अधिकांश नेपाली नफर्किएकाले यस्तो भएको हुन सक्छ । तर, यो बढोत्तरीले सरकारी ढुकुटीको सञ्चय सपार्‍यो ।

सुनचाँदी अत्यावस्यक वस्तुमा पर्दैन, यी विलासिता सामग्री हुन् । यसमा गरिएको खर्च अधिकतर गहना बनाई अनुपयोगी आर्थिक वस्तु बन्न जान्छ । सुनचाँदी व्यवसायीका अनुसार वार्षिक करीब ३० अर्बको सुनको खपत हुनेगर्छ । राष्ट्र बैंकको अनुसार गत आवमा सुनचाँदीको मागमा ६० प्रतिशतले र चालू आर्थिक वर्षको पहिलो २ महीनामा ७० प्रतिशतले गिरावट आएको छ । यसले अनुमानित २०–२१ अर्बको बचत भएको छ । यो बचतले राष्ट्रिय ढुकुटीको विदेशी मुद्रा सञ्चयमा सकारात्मक असर परेको छ । यसपल्टको विदेशी मुद्रा सञ्चय आउँदो १६ महीना पुग्ने अनुमान गरिएको छ, जो कोरोनाको स्नेह नै भन्न सकिन्छ ।

यो बन्दीले सबैभन्दा प्रभावित क्षेत्र पर्यटन, होटेल र साना रेस्टुराँहरू हुन् । नेपाल राष्ट्र बैंकले २०७७ असारमा प्रकाशित कोभिड– १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनमा होटेल र रेस्टुराँहरूमा सबैभदा बढी ४० प्रतिशतको रोजगारी कटौती भएको देखाएको छ । यो दुःखद घटना हो । भ्रमण वर्ष सन् २०२० को घोषणाले धेरै होटेल, रिसोर्टलगायत अन्य पर्यटन व्यवसायीले बैंकबाट ऋण लिएर नयाँ व्यवसाय खोलेका या पुरानोमा थप गरेका थिए जो अहिले ऋणको भारमा पिरोलिएका छन् । यति हुँदाहुँदै पनि पर्यटन क्षेत्रबाट गार्हस्थ्य उत्पादनमा केवल १ दशमलव ५ प्रतिशतको मात्र योगदान हुने गरेको यथार्थ हेर्ने हो भने यस कोरोनाका कारण राष्ट्रिय अर्थतन्त्रमा यसले नगण्य क्षति पुर्‍याउने देखिन्छ ।

कोरोनाका कारण भएको बन्दाबन्दीले राष्ट्रिय अर्थतन्त्रमा थोरै नकारात्मक तर अनेकन सकारात्मक प्रभाव पारेको देखिन्छ । यसो भन्दैमा सारा उद्योग व्यापार बन्द गरेर बस्नु राम्रो त हुँदै होइन, तर आउँदा दिनहरूमा केके शीर्षकमा कटौती गर्नु बेस हुन्छ, कुन विलासिताका वस्तु कटौती गर्न सकिन्छ भन्ने संकेट यसले दिएको छ । विदेशमा भौंतारिएर अरूकै देशका लागि बगिरहेको युवाको पसिना देशभित्र नै उपयोग गर्नसके आयातमा गरिने ठूलो धनराशी बच्ने कुरा प्रशासकहरूले कत्ति सोचे ? जबजब राजनीतिक या अन्य कारणले सिमाना बन्द भएको छ, नेपाली आफ्नै पौरखले बाँचेको छ, अझ बढी स्वावलम्बी बनेको छ । यसपल्टको घटनाले पनि यही देखाएको छ जसले, सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने तर्क गर्नेहरूका लागि अन्यबाहेक आर्थिक कारणले पनि यस्तो गर्नु उचित रहेको देखाउँछ ।