Thursday, December 20, 2018

पप्पुजिको विकास पथमा नेपाल (कारोबार पुष ६)

खरिद ऐन र नियमावलीलाई अझ व्यवस्थित गरेर विकास–निर्माण व्यवस्थापनलाई खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन आवश्यक छ ।



देशमा विकास–निर्माणले फड्को मार्ने सपना प्रत्येक सरकारले जनतालाई बाँड्ने गरेको छ । अझ त्यसमा वर्तमान सरकारले त अद्भुत चमत्कारहरू गर्ने श्वेतपत्रसमेत बाँड्यो । के यो सरकारको आर्थिक तयारी र बजेटले त्यस्तो विकास–निर्माण हुनसक्ने लक्षणहरू देखाउँछन् ?
हरेक वर्ष बजेटको आकार बढेको छ, जबकि पुँजीगत बजेटको हिस्सा भने खुम्चिँदै गएको छ । अझ त्यसमा पनि पुँजीगत बजेट जसको भरमा विकास–निर्माणको काम बढ्ने हो, हात्तीको देखाउने दाँतजस्तै देखावटी र आलंकारिक मात्रै हुँदै आएको छ । पुँजीगत खर्च देखावटी हुनुका अनेक कारण छन् । ३ खर्ब नाघेको देखिने विकास बजेट मनसुन विकासको चपेटोमा पर्ने गर्छ र पप्पुपथमा बिलाउँछ । फलस्वरूप तथ्यांकमा ठीकै खर्च देखिएको विकास खर्चको भित्री पाटो जर्जर र दयनीय छ, जसको भुक्तभोगी हामी सबै नेपाली छौ । कतै खराब बाटोमा गाडी पल्टेर मर्नेमा, कतै पुल भत्केर वर्षौंदेखि दुःख पाउनेमा, कतै बन्नुपर्ने भनिएको पुल, बाटो, स्कुल, हस्पिटल नबनेर र कतै वर्षौंदेखि खानेपानी नपाएर काकाकुल भएर जनताले दुःख भोग्दै छ । 
हरेक वर्ष विकास बजेटको खर्च न्यून हुने प्रवृत्ति देखिएको छ, जसको निरन्तरता यस वर्ष पनि भएको छ । त्यसको अर्थ हो, नारामा अनेकौं विकास योजनाका कथा सुनाइए पनि देश विकासको काम जो पुँजीगत बजेटको खर्चले देखाउँछ, हरेक आर्थिक वर्षझैँ यो वर्ष पनि निराशाजनक नै छ । 
गत आर्थिक वर्षहरू ०७३/७४ र ०७४/७५ को बजेटलाई तुलना गर्दा ०७३/७४ मा कुल बजेट करिब १० खर्ब ४९ अर्ब रहेकोमा पुँजीगत बजेट त्यसको २९.७ प्रतिशत अर्थात् ३ खर्ब १२ अर्ब थियो । जबकि आव ०७४/७५ मा कुल बजेट, अघिल्लो वर्षको भन्दा २ खर्ब ३० अर्ब बढाएर १२ खर्ब ७८ अर्ब रहँदा पुँजीगत बजेट २६.२ प्रतिशत अर्थात् ३ खर्ब ३५ अर्ब राखिएको थियो । यसरी हेर्दा पुँजीगत बजेटको अनुपात लगातार घटाउँदै लगिएको छ, कुल बजेटको आकार बढाउँदासमेत । चालू आव ०७५/७६ मा पुरानै परम्परालाई केही निरन्तरता दिंदै, अझ एक कदम अगाडि बढेर, पुँजीगत बजेटको अनुपात झनै घटाइएको छ । यस आवमा कुल बजेट १३ खर्ब १५ अर्बको हुँदा पुँजीगत बजेट भने २३.९ प्रतिशत अर्थात् झन्डै ३ खर्ब १४ अर्ब बनाइएको छ; अर्थात् यो आवमा बजेटको आकार गत वर्षको भन्दा ३६ अर्ब बढाउँद पुँजीगत बजेट २१ अर्बले घटाइएको छ । यो वर्ष अर्थमन्त्रीले बडो चलाखीका साथ पुँजीगत बजेटको आकार सानो पारेको आभास हुन्छ । किनकि उनलाई यो बजेट पनि खर्च नहुने र पछि यसको अपजस आफूमाथि पनि लाग्ने पूर्वानुमान भएको हुनुपर्छ । कुल बजेट बढ्दा पुँजीगत घट्दै जानु भनेको चालू खर्चको लागि बजेट बढ्दै जानु हो र चालू खर्चले आर्थिक वृद्धि र प्रगतिमा कुनै भूमिका खेल्दैन, किनकि यो कर्मचारीहरूको तलब, भत्ता, विदेश भमण र कार्यालय सञ्चालनजस्ता खर्चका लागि मात्र प्रयोग हुने गर्छ । जसरी अर्थमन्त्रीले नियुक्त हुनेबित्तिकै सेयर बजार आर्थिक दृष्टिकोणले अनुत्पादक क्षेत्र हो भनेर कित्ताकाट गर्नुभयो, अर्थशास्त्रीहरू चालू बजेट र त्यसको खर्चलाई त्यसै कित्तामा राख्छन् । चालू बजेटको अनुपात लगातार बढ्नु अधोगतितिर जानु हो । 
गत वर्षहरूमा बजेट खर्चको विवरण हेर्ने हो भने चालू खर्चका लागि छुट्ट्याइएको बजेट लगभग सबै सकिने गरेको देखिन्छ, जबकि विकास बजेट भने आधा पनि खर्च नहुने गरेको देखिन्छ, जुन हाम्रो विकासका लागि चिन्ताजनक लक्षण हो । यस आर्थिक वर्षको ६ महिनापछि गरिएको समीक्षामा विकास बजेटको जम्मा १३.६ प्रतिशत मात्रै खर्च हुन सकेको देखिएको छ । मुलुक संघीयतामा गएपछि स्थानीय विकास–निर्माणको काम सोझै तल्लो तहसम्म पुग्ने र यसले आर्थिक विकासमा फड्को मार्छ भन्ने सोचिएको तर्क पनि अहिले असत्य झैँ बनेको छ । केन्द्रको कुसंस्कार प्रदेश र स्थानीय तहमा समेत मौलाएको देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो आवको पाँच महिनाभित्रमा सातै प्रदेशले गरेको पुँजीगत खर्च करिब १ अर्ब पुगेको छ, जुन छुट्ट्याइएको बजेटको ०.८९ प्रतिशत मात्र हो । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले पुँजीगत बजेटको आधा प्रतिशतसमेत खर्च गर्न नसकेको देखिन्छ, जुन दयनीय स्थिति हो । 
कुल बजेटको सानै हिस्सा भए पनि विकास बजेट पूर्ण सदुपयोग हुने भएको भए त्यसले अहिलेसम्म देशमा ठूलो परिवर्तन ल्याइसक्ने थियो, तर यसलाई क्यान्सर जस्तै ऐंजेरु प्रवृत्तिहरूले रोगग्रस्त पारेका छन् । यो कुप्रवृत्तिको एउटा उदाहरण हो— ‘मनसुने विकास’ । ‘मनसुने विकास’ भन्नाले वर्षायाममा, आर्थिक वर्षको अन्त्यको चटारोमा, कमसल गुणस्तरको सामानले तुरुन्तै बिग्रिने गरी बनाइने बाटो, पुलपुलेसा हुन्, जसमा समय अभावको निहुँ पारेर सरकारी अनुगमन जाँदैन, तर काम र खर्च सदर हुन्छ । यस्तो कच्चा काममा गरिने विकास खर्चले पछिल्लो सरकारको पालामा छलाङ मारेको थियो । गत आर्थिक वर्षको पहिलो नौ महिनासम्म विकास खर्चमा ३५ प्रतिशत मात्र खर्च देखिएकोमा त्यसपछिका दुई महिनामा १३ प्रतिशत र अन्तिम एक महिनामा मात्रै ३२ प्रतिशत थप खर्च गरिएर कुल विकास बजेटको ८० प्रतिशत खर्च भएको देखा परेको छ । यसरी ‘मनसुन विकास’ ले बनाएका कालोपत्रे बाटो, नहर, पुलहरू दुई–तीन हप्तामै भत्किएको समाचार अचेल आउँदैछन् । 
विकास–निर्माणको दुर्गतिमा देखिएको अर्को दुरवस्थालाई ‘पप्पुजीको विकासपथ’ भन्न सकिन्छ । पप्पुजीले यो वर्ष निकै नाम कमाए, अर्थात् कुनाम । यो नामको निर्माण व्यवसायी कम्पनी जसका मालिक हरिनारायण रौनियार, प्रदेश २ मा संघीय समाजवादी फोरमका सांसद र सहरी विकासमन्त्रीसम्म भएका व्यक्ति हुन् । देशभरिमा ठूला–ठूला पुल, सडकहरूको ठेक्का पप्पुको हातमा छ । पप्पुको तिकडम यस्तो छ कि उनी सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थालाई टेकेर सबैभन्दा कम बोलकबोलसहित टेन्डर हाल्छन् । कामको लागत नै नउठ्ने कम मूल्यको टेन्डर कबोल गर्दा काम उनैले पाउँछन् । अनि जब ठेक्काको १० प्रतिशत मोबिलाइजेशन खल्तीमा पर्छ, त्यो कामतिर उनी फर्केर हेर्दैनन् । भनिन्छ, पप्पुलाई बेलैमा काम भएन भनेर कारबाही गर्ने चेतावनी दिनै हुन्न, अदालत पुगेर स्टेअर्डर ल्याइहाल्छन् । सडक विभागका अधिकारीहरूका अनुसार पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्बभन्दा बढीको ठेक्का छ र बनाउनुपर्ने सबै पुल मात्रको लम्बाइ जोड्ने हो भने ७ किलोमिटर नाघ्छ । काठमाडौंको तीनकुनेको बाग्मती पुल यसको उदाहरण हो, जुन भुइँचालोपहिले नै जीर्ण थियो र भुइँचालोले पुल चर्केपछि पप्पुले निर्माणको ठेक्का पाएको अहिले तीन वर्ष नाघ्दासमेत केवल दुई–तीनवटा पिलरसम्म उठेको देखिन्छ । पप्पुको कामको अर्को उदाहरण पर्साका पुलहरू छन् । नौरन्जिया र तिलावका पुल, जुन २०७० मै सक्नुपर्ने थियो भने बेदाहा र हेरियाडीका पुलहरू २०७३ मा नै सकिनुपर्ने थियो, तर अझै अलपत्र छन् । पप्पुले रौतहटको लालबकैया नदीमा बनाएको पुल २०७४ सालमा दोस्रो पटक भासियो । पूर्वी पिलर भासिएको एक वर्षपछि पश्चिमतर्फको पिलर पनि भासियो । उसैले बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल पनि निर्माण सकेर हस्तान्तरण नहुँदै भाँचियो, जसमा कम्पनी जिम्मेवार नहुने बताउँदै सर्वोच्चमा दायर गरेको रिटमा पप्पुकै पक्षमा फैसला आयो । झापा, रौतहट, पर्सा, कञ्चनपुर, बाँके, सिराहा, धनुषा, सुर्खेत, सप्तरीलगायत प्रायः सबै तराईका जिल्लाहरूमा सडक र पुलका काम यसैगरी पप्पुबाट अलपत्र पारिएको छ ।
पप्पु एउटा प्रवृत्ति मात्र हो, जो अहिलेको निर्माण व्यवसायमा देखा पर्दैछ । तर, सबैभन्दा रमाइलो पक्ष यो छ कि यस्ता निर्माण व्यवसायीले लापरवाहीका लागि सजाय पाउन्नन्, न नसिहत, न कालोसूचीमा पर्छन्— बरु नयाँ नयाँ काम लगातार पाइरहन्छ । नेपालको विकास–निर्माणको यो ऐंजेरु प्रवृत्तिको ‘पप्पु’ एउटा ठूलो उदाहरण मात्र हो, सतहमा देखा परेको एउटा ठूलो माछाजस्तो । यस्तो प्रवृत्ति सानो–ठूलो रूपमा देशैभरि फैलिएको छ । 
विकास बजेटको ठूलो अंश खर्च हुन नसक्नुको प्रमुख कारण सरकारी कर्मचारीको मनोवृत्ति नै हो, जसलाई सरकारले अनुशासित र उत्प्रेरित गर्न सक्नुपथ्र्यो, जुन गर्न नसक्नुमा उसको कमजोरी देखिन्छ । विश्लेषकहरूको भनाइमा निजामती सेवाको स्वरूप र जनशक्ति पनि यसमा दोषी छ; खासगरी निजामती ऐन–नियमका २४ ‘घ’ को बढुवा कार्य सम्पादन मूल्यांकनको व्यवस्था, जसमा नम्बर प्राप्त गर्न कतिपय सही कुराको निर्णय लिने क्षमता वरिष्ठको अगाडि कनिष्ठलाई हँुदैन । सरकारले सही व्यक्तिलाई सही ठाउँमा राख्न नसक्नु र राजनीतिक आस्थाका भरमा दल निकटका अनुपयुक्तलाई निर्णायक पदमा बहाल गर्नुले अर्को बेथिति ल्याएको छ, जसको प्रमुख सिकार राष्ट्रिय गौरवका आयोजनाहरू पर्छन् । 
ठूला विकास–निर्माणका काममा जहाँ ठूला आर्थिक निर्णयहरू राष्ट्रिय हित सोचेर र स्वविवेकले लिनुपर्ने हुन्छ, अख्तियार दुरुपयोगको भयले समेत कर्मचारीमा सकेसम्म त्यस्तो निर्णयबाट पन्छिन खोज्ने प्रवृत्ति देखिन्छ । त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनका अध्ययन तथा वन मन्त्रालयको अनुमतिले काममा ढिलासुस्ती हुने गर्छ । गहिरो अध्ययनबिना दाताबाट ऋण लिइने हाम्रो हतपते, स्वार्थी बानीले गर्दा समेत दाताका अनेकन् सर्त र दबाब योजनाले झेल्नुपर्छ, जसको उदाहरण जलविद्युत् र खानेपानीजस्ता कैयौ ठूला योजना हुन्, तिनको हविगत भएको छ । नेपालको सार्वजनिक खरिद ऐनमा भएको दुर्गुणले पप्पु–विकासको हविगत देशले बेहोर्नुपरेको चर्चा माथि गरियो । योबाहेक खरिद ऐन र नियमावलीलाई अझ व्यवस्थित गरेर विकास–निर्माण व्यवस्थापनलाई खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन आवश्यक छ ।
माथि उल्लिखित प्रायः सबै कठिनाइको बाटो खोल्ने साँचो भने देशको व्यवस्था मिलाउने जिम्मा पाएका राजनीतिक दलहरू, खासगरी सरकारमा बसेका दल र ठूला विपक्षी दलहरूको हातमा छ । देशको दुर्भाग्य यो छ कि अधिकांश समय यी दलहरू व्यक्तिगत फाइदाका कुरामा अल्झिने गरेका छन् र दलगत स्वार्थलाई राष्ट्रिय स्वार्थभन्दा माथि राखेर जनतालाई निराश पार्ने गरेका छन् । आशा छ, देशका दलहरू र त्यसको नेतृत्वमा बसेकाहरूमा विवेक जाग्ला र देशले साँच्चै विकास गर्न सक्ला ।
https://www.karobardaily.com/news/idea/14213

Saturday, December 1, 2018

मौलिकता मास्दै पर्यटक बोलाउदै (नागरिक , मङ्सिर १६ २०७५)

Add caption

बजेट घाटा, भुक्तानी असन्तुलन, व्यापार घाटा, डलरसँगको गिर्दो विनिमयदर, मुद्रास्फिति, बेरोजगारी, विकास बजेटको दुर्बल स्थिति- आर्थिक सूचकांकमा कमजोरीको पराकाष्ठा छ। सबै आर्थिक सूचकाङ्क डरलाग्दोसँग बिग्रिएका छन् । सानो बजार, भूपरिवेष्टित, अझ भारतवेष्टित र अर्को छिमेकी चीनपट्टि दुर्गम हिमाली भूगोलले हामीलाई वैदेशिक वृष्टिछायाँमा धकेलेको छ। त्यसमाथि, हामी आफैँभित्रका कमजोरीहरूले पिल्सिएका छौँ। अल्पशिक्षा, स्वास्थ्य सेवामा सबैको पहुँच नपुग्न, कृषि या उद्योगबारे प्राविधिक ज्ञान कम हुनु, बाटोघाटोको असहजताले ठूलो जनसंख्या सरकारी सेवा र बजारको पहुँचबाट वञ्चित हुनु– जस्ता दीर्घकालीन हाम्रा समस्याहरूले हामीलाई पिल्साएको छ। अझ, अचेल बढ्दै गएको हाम्रो विकराल रोग बनेको छ– भ्रष्टाचार, अनुशासनहीनता र काम ठग प्रवृत्ति। अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण, तथ्यांक विभागको जीवनस्तर सर्वेक्षण, राष्ट्र बैंकको आर्थिक बुलेटिन, एसियाली विकास बैंक र विश्व बैंकहरूका आर्थिक प्रतिवेदनहरू, ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार बारेको विश्व प्रतिवेदन र युएनडिपी जस्ता संस्थाहरूबाट प्रकाशित हुने मानव विकास सूचकाङ्कमा देश दुरावस्थामा चित्रित छ।
इतिहास केलाउने हो भने हामी नेपाली इमानदार, मेहनती, कला र संस्कृतिको धनी जनता हौँ। हाम्रा घर र मन्दिर बनाउने कला तिब्बत हुँदै पूर्वी एसियाभरि फैलिएको हो। काठमाडौँ उपत्यका मात्र होइन, पूर्वको धरान, विराटनगर, जनकपुर हुँदै पाल्पा, दैलेख, मुस्ताङजस्ता ठाउँमा भेटिएका ऐतिहासिक सम्पदाले त्यहाँ संस्कृति र सभ्यताको विकास भएको तर कालान्तरमा त्यो जोगिन नसकेको प्रमाण दिन्छ। काठमाडौँ उपत्यकाको वर्णन त अनेकन् देशी विदेशीहरूले लिपिबद्ध गरेका नै छन् । अझ काठमाडौँको उत्तम सहरी विकासको नमुना- ढुंगेधारा, डबली, चोकहरू, ढलको व्यवस्थाले झल्किन्थ्यो जो केही दशक अघिसम्म पनि यथावत नै थिए, जसलाई आफ्नै आँखाले देख्ने धेरै मानिस अझै ज्युँदै छन्। हामी नेपाली अहिले आएर मात्र बिग्रिएको प्रमाण हुन् यी सबै। हामीलाई सम्भवतः पश्चिमी देशको हावाले बिगारेको हो। अर्थात् जेलाई उनीहरूले ‘विकास’ भने त्यही नै हो विकास भन्ने गलत बाटोमा अघि बढ्दा हामीलाई आजको यो ‘घरको न घाटको’ स्थितिमा पु-याएको हो। उदाहरणका लागि, एउटा परम्परागत गाउँले घरको सम्झना गराैं। खरले छाएको, सालको खाँवा भएको र माटोले लिपेको। यस्ता घर वातावरणमैत्री, वातानुकुलित हुन्थे तर लिपपोत गर्न र समय समयमा बाहिरी फेर्न मेहनत धेरै लाग्थ्यो। यसको सामान्य प्राविधिक प्रवर्धन गर्न सकेको भए त्यो दिगो र बढी स्वास्थ्यकर हुने थियो, अचेलको सिमेन्ट कंक्रिट र मार्बलको घरभन्दा बलियो। तर त्यसको प्रविधि सुधार्ने ज्ञान सिक्न हाम्रा प्रविधिज्ञहरू लागेनन्। बरु पाश्चात्य निर्माण र रासायनिक उपलब्धि सिक्नमा लागे जो यो देशका लागि उपयुक्त थिएन। आफ्नो भौतिक विकासले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर परेको ठहर गर्दै अचेल पश्चिमी मुलुकहरू स्वयं आफ्ना सहरका बाटो–घाटो, घर, अफिस, मल, विमानस्थलहरू वातावरणमैत्री प्रविधि, रुख, बिरुवा, फूलले सिंगार्दै लगेका छन्। जुन कुरा अबको केही वर्षपछि हाम्रा प्रविधिज्ञले पनि उच्च शिक्षा भन्दै उतैबाट पढ्नेछन्।
देशको हालको स्थिति हेर्दा उपलब्धि केवल तीन चिजले दिन सक्छ। कृषिमा प्रविधिको प्रयोग। सिँचाइका लागि पानीको उपलब्धता, उन्नत बिउ र आधुनिक औजार। दोस्रो, हिमाललाई जोगाउँदै गरिने जल उपयोग हो। मुख्यतः मध्य पहाडी क्षेत्रमा जलाशययुक्त विद्युत् परियोजनामा निर्मित जलाशयको सिँचाइका नहरहरूबाट मध्य–पहाडी र तराईका क्षेत्रको कृषिमा टेवा र उत्पादित विद्युत्बाट वातावरणीय विनाश रोक्ने डिजेल, पेट्रोलमा आधारित यातायात र उद्योगको प्रविधि प्रयोग गर्ने। र, समृद्धिको तेस्रो र सबैभन्दा सहजपूर्ण ढंगले गर्न सकिने गोरेटो हो, पर्यटनको उचित प्रवर्धन।
संसारभरि अहिले घुमन्ते संस्कृति बढेको छ। आफ्नो जुनीमा हिमाल शृंखला हेर्ने, सगरमाथा चढ्ने, नेपालका मनोरम ताल, डाँडाकाँडा हेर्ने या लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरको धार्मिक पर्यटन गर्ने धोको संसारका धेरै धनाढ्यहरूको भएको बुझिन्छ। तर हाम्रो क्षमता सीमित छ। आउन खोज्ने जति पर्यटकलाई ल्याउन सक्ने क्षमता नै हामीसँग छैन। जब कि, यो क्षमता र वातावरण बढाउन हाम्रो देशमा सहज छ जसमा ध्यान पु¥याइएको छैन। सहज यसकारण कि बैंङ्कक, सिंगापुर जस्तो हामीले कृत्रिम मनोहरता बनाउनुपरेको छैन। प्रकृतिले दिएको सम्पदा हामीसँग यथेष्ट छ। केवल बस्ने बास र पुग्ने बाटो, यातायातका साधनको व्यवस्था गर्नु जरुरी छ। अनि जरुरी छ, सञ्चार र सुरक्षाको व्यवस्था, जो त्यति गाह्रो कुरा होइन।
तथ्यांकले देखाउँछ गएको झन्डै तीन दशकमा पर्यटनको स्थिति सुधार्न हामीले धेरै गर्नसकेका छैनौँ। पर्यटकको संख्या सन् १९९१ मा झन्डै तीन लाखबाट तीन गुना थपिएर नौ लाख पुगेको देखिन्छ तर राष्ट्रिय उत्पादनमा (जिडिपीमा) यसको योगदान सधैं २ देखि ३ प्रतिशतबाट माथि उठेको छैन। भिजिट नेपाल २०२० का लागि १५ लाख पर्यटक भित्र्याउने लक्ष्य थियो। हालै चिनियाँ ट्राभल एजेन्सीसँगको संयुक्त विज्ञप्तिमा सरकारले यो लक्ष्य बढाएर २० लाख पर्यटक भित्र्याउने बनाएको छ। यो लक्ष्य नै कम हो, त्यसमा पनि हाम्रामा पर्यटक झोले, स्टोभे (आफ्नो खाना आफैँ बनाउन बसमा स्टोभ नै बोकेर आउने खालका) बढी देखिन्छन्। विदेशीले भन्दा अन्तरिकले बढी खर्च गरे भन्ने पोखरा लगायतका पर्यटकीय स्थलमा सुनिन्छ। अन्तरिक पर्यटन वृद्धि हुनु पनि राम्रै हो तर विदेशी मुद्रा र आयका लागि हामीलाई चाहिने विदेशी र स्तरीय पर्यटक नै हुन्। श्रीलंका पर्यटनका लागि त्यति आकर्षित गर्ने देश होइन। ‘लोन्ली प्लानेट’ जस्ता पर्यटन व्यवसायी संस्थाका सूचीमा नेपाल धेरै वर्षदेखि मथिल्लो स्तरमा रहेको देखिन्छ भने श्रीलंका आकर्षणको निम्न मध्यम सूचीमा मात्र पर्छ। तर पनि श्रीलंकाको समुद्रतटले गत वर्ष मात्रै झन्डै २१ लाख पर्यटक भित्र्याएको देखिन्छ। यस्तै अर्को हाम्रो नजिकको देश, मलेसियाले गत वर्ष मात्र २ करोड ६० लाख जति पर्यटक भित्र्याएको देखिन्छ। मलेसियामा पर्यटक औसत ५.७ रात बस्छन् र प्रतिव्यक्ति प्रतिदिन १३२ डलर बराबरको खर्च गर्छन्। नेपालमा पर्यटकको बसाइँ लामो देखिन्छ, सन् २०१७ मा औसत १२.६ रात। तर ज्यादै कम खर्च गर्ने खालका, प्रतिव्यक्ति प्रतिदिन केवल ५४ डलर। बस्ने थलोको तुलना नै गर्दा, मलेसियामा झन्डै ४८३ लाख ओछ्यान भएका ५० लाख होटेल पर्यटकका लागि उपलब्ध छन्, भने नेपालमा मात्र ४० हजार ओछ्यान भएका ११ सय होटेल। सुविधायुक्त होटेलको कमी नेपालमा खड्किन्छ।
हाम्रो पर्यटन उद्योगको ज्यादै राम्रो पक्ष ‘होमस्टे’ देखिन्छ। यसबाट जनता पर्यटनमा सोझै जोडिन्छन्। यसले गरिबी निवारणमा ठूलो सहयोग गर्छ। यस्ता घर अतिथिलाई दिनेले कोठाबाहेक उसको करेसाबारीको तरकारी, छिमेकीको अन्न र स्थानीयका हस्तकलासम्मको आय आर्जन गर्नसक्छन् जसबाट केही ठूलो होटल व्यवसायीको भन्दा धेरै सामान्य ग्रामीण परिवारको गुजारा चल्छ। पर्यटन मन्त्रालयको तथ्यांकअनुसार हाल सामुदायिक र निजी गरेर जम्मा २८३ घरमा ९४८ कोठाहरू पर्यटकलाई स्वागत गर्नसक्ने स्थितिमा रहेको देखिन्छ। मन्त्रालयको यसै तथ्यांकलाई हेर्दा गत एक वर्षमा यस्ता ५० कोठा पनि थप्न सकिएको रहेनछ। सरकारले यस्ता होमस्टे थलोहरूको विस्तारका लागि स्थानीय सरकारसँग हातेमालो गर्न जरुरी छ। विदेशी पर्यटकले न्यूनतम कस्ता सुविधा खोज्छन् र केमा रमाउँछन् भन्ने ज्ञान पर्यटन मन्त्रालयले स्थानीय सरकारको माध्यमबाट सम्भाव्य गाउँ–बस्तीमा पु-याउनु पर्छ र आवश्यक सहयोग गर्नुपर्छ। यस्ता होमस्टे चलाउनेलाई सरसफाइ र सुरक्षित शौचालयको बारेमा जानकारी दिनुपर्छ र त्यहाँ सौर्य ऊर्जाबाट बत्ती बाल्ने, पानी तताउने र इन्टरनेट चलाउने सुविधा पर्यटकलाई दिन सक्नुपर्छ। यसका लागि स्थानीय सरकारलाई जागरूक गराउन जरुरी छ। प्राकृतिक छटाले भरिपूर्ण हाम्रो देशका लागि कम लगानीमा तुरुन्तै गर्न सकिने र स्वरोजगारीको ठूलो सम्भावना बोकेका छन् यस्तै होमस्टेले र केही मध्यम लगानीका स्तरीय पर्यटन व्यवसायले। त्यसैले समृद्धिको हाम्रो आशा यतैबाट सम्भव हुने देखिन्छ।