Saturday, December 21, 2013

सार्वजनिक-निजी साझेदारीको अबधारणा र साल्ट ट्रेडिंग

सार्वजनिक-निजी साझेदारीको अबधारणा र साल्ट ट्रेडिंग   
प्राडा. विकासराज सत्याल

५० बर्ष अघी नुनको सहज आपूर्तिको लागि खोलिएको पहिलो सरकारी ब्यबसायिक संस्था ‘साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेड’ अर्धशताब्दी लामो अनुभवबाट खारिएर आज एउटा आत्मनिर्भर, सेवामुखी र सशक्त संस्थाको रुपमा उभ्भिएको छ | भूपरिबेष्ठित भएकोले समुद्री नुन जो दैनिक नेपाली खानाको अत्याबश्यक अवय हो हामीलाई बाहिरबाटनै आयात गर्नुपर्ने बाध्यता छ | नेपाल जस्तो कठिन भौगोलिक बनोट, असहज ढुवानी, असंगठित बजार र अपरिपक्व ब्यबसायिक क्षमाता भएको देशको तत्कालीन परिबेशमा विक्रम सम्बत २०२० मा मूलतः नुन र पछि आयोडिनयुक्त-नुनको सहज आपूर्तिको लागि गरिएको यसको स्थापना एउटा सराहनीय कदम मान्नु पर्छ | ५० बर्षको यो अन्तरालमा देशले धेरै काँचुली फेरीसकेको छ | राजनैतिक ब्यबस्था पंचायती हुदै गणतान्त्रिक भैसकेको छ | बजार ब्यबस्थापनका सिद्धान्तहरुमा धेरै उलटफेर भएको छ | २००७ साल अगाडि खासै सिद्धान्तको आधारमा नभई एकांकि ब्यबस्थापनबाट चलेका बजार पंचायतकलमा मूलतः आरक्षित र केन्द्रिकृत रहे | देश अहिले विश्व व्यापार संगठन(WTO) मा आबद्ध भइसकेको छ | राष्ट्रिय र अन्तरराष्ट्रिय व्यापारका संजाल देशमा सक्रिय छन् | बजार पूर्णरुपले निजीकारण गरिनुपर्छ भन्नेहरु पनि आबाज उठाईरहेका छन् र सरकारलाई दबाब दिदैछन् | साथै सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई पनि धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय संगठनहरुले उपुक्त ठानेर यसै अनुरुप कैयौ कार्यक्रम र संस्था चलिरहेका छन् | यिनै वादबिवाद र प्रयोगहरुको वीच सरकारको जम्मा ९ प्रतिशत हिस्सेदारी भएको साल्टट्रेडिंग, सार्वजनिक-निजी-साझेदारीको एउटा सफल उदाहरण र विकासवादी तथा अर्थशास्त्रीहरुको लागि अध्ययन मनन्-योग्य बिषय बनेको छ |    

सार्वजनिक-निजी साझेदारीको अबधारणा
देश विकासको लागि सार्वजनिक-निजी-साझेदारीको अबधारणा विश्वका धेरै मुलुकहरुमा नब्बेको दशकदेखि शुरु भएको थियो | सन् १९९२ मा बेलायतको अनुदारवादी दलका प्रधानमन्त्री जोन मेजरले चलाएको ‘निजी वित्तिय पहल’ (Private Finance Initiative) भनिने कार्यक्रम नै सार्वजनिक-निजी-साझेदारीको अबधारणामा चलेको पहिलो कार्यक्रम ठानिन्छ | यो अवधारणा नेपालले केही वर्षयता अंगीकार गरिरहेको छ । नेपालमा यस अबधारणाको शिलान्याशनै साल्ट ट्रेडिंग कर्पोरेशन बाट भएको ठानिन्छ | सार्वजनिक-निजी-साझेदारीको अवधारणामा विश्व बैंक, यूएनडीपी, डीएफआइडी जस्ता हाम्रा दातृ निकायहरुले पनि चासो दिने गरेका छन् । यसको पछाडी राज्य वा निजी क्षेत्र एउटालाई मात्र राम्ररी विश्वास गर्न नसक्ने अवस्थामा यो अवधारणामार्फत आफ्नो लगानी सदुपयोग होस् भन्ने दातृ निकायहरुको अपेक्षा देखिन्छ 
  

विश्वका धेरै अर्थशास्त्रीहरु 'जनता र लगानीकर्ताले एकअर्कालाई सन्तुलनमा राख्न्ने’ हुँदा यो मोडल दिगो विकासको उपुक्त मोडल हो भन्ने ठान्छन । निजी क्षेत्र छिटो नाफा आर्जन हुने क्षेत्रमा मात्रै लगानी गर्न चाहन्छन र मनग्य नाफा नहुने भए लगानी गर्दैन | ढिलो नाफा दिने सिँचाइ, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता आयोजनामा सरकारको उपस्थिति र निगरानी जरुरी हुन्छ । नेपालमा शासन व्यवस्था कस्तो हुनुपर्छ भन्ने बहस चल्न थालेपछि अर्थ नीतिबारे पनि बहस चल्न थालेको हो | विश्वमा दुईखाले अर्थ व्यवस्थाको वर्चश्व देखिन्छ । राज्यले नेतृत्व गरेको ‘समाजवादी अर्थतन्त्र’ र निजी क्षेत्र अर्थात् बजारले नेतृत्व गरेको ‘पूजीवादी अर्थतन्त्र’ । दुवै खाले अर्थतन्त्र दोष-रहित छैनन् त्यसैले जनताका अपेक्षाहरु लाई पूरागर्न पूर्ण सफल छैनन | यसै क्रममा बीचको बाटोको रुपमा सार्वजनिक–निजी साझेदारीलाई अगाडि सारिएको हो । मध्यमार्ग अर्थात् सेतु को कामगर्ने यो बिधिको प्रयोग संसार का अधिकांश विकाससिल मात्र होइन विकशित देशहरु मा समेत भईरहेको छ | थाइल्याण्ड, चीन र भारत जस्ता विकाससिल देशहरु एवम् बेलायत, अस्ट्रेलिया र क्यानाडा जस्ता विकशित देशहरुमा यो मोडलका मनग्य कार्यक्रमहरु चलेका छन् | युरोपियन संघमा भौतिक निर्माणको छेत्रमा सन् २००० देखि यो मोडल निकै लोकप्रिय भएको हो | तर शिक्षा र श्वास्थ जस्ता जनतासंग प्रत्यक्ष सरोकार राखने धेरै कार्यक्रमहरु पनि यसै मोडेलबाट संचालित भईरहेका छन् |    

हुन त यो अवधारणाबारे नेपालमा प्रशस्तै मतभेद हुनेगरेको छ । एकखाले अर्थविद्हरु यसलाई “समाजवादी नीति अख्तियार गर्न प्रयोग गरिएको चोर बाटो” भनेर टिप्पणी गर्ने गरेका छन्, भने अर्कोथरि अर्थविद्हरु भारत, चीन, थाइल्याण्डजस्ता देशहरुमा यसको सफल प्रयोग भएकाले यसबाट पूजीवादीहरु तर्सन नहुने तर्क गर्दछन् । हरेक नयाँ अवधारणाका पछाडि तर्क वितर्क त हुन्छन् नै तर नेपालजस्तो विकासोन्मुख देश जहाँ राज्य वा निजी क्षेत्रले एकलरुपमा मात्र प्रशस्त लगानीगर्न सक्दैन त्यहाँ यो अवधारणा सफल हुने अपेक्षा धेरैले गरेका छन् । फेरी कोरा शिद्धान्त भन्दा प्रतिफललाई पनि हेरेर अबधारणाहरुको पुनर्मुल्यांकन गरिनु राम्रो हो | आर्थिक विकासमा यो अवधारणाले दिर्घकालमा कस्तो प्रतिफल ल्याउछ त्यो त अहिलेनै ठोकुवा गर्न सकिदैन तर नेपालमा यो उपयुक्त हुने धेरै आधार छन् । नेपाल सरकार ले एक्लै ठूलो लगानी गर्न सक्दैन | निजीक्षेत्रले पनि परियोजनामा लगानीका लागि अफ्नो विश्वस्तता देखाउन सकिरहेको छैन | यस स्थितिमा दुवै क्षेत्रको सही सदुपयोग गरियो भने राम्रो परिणाम आउने अपेक्षा गर्न सकिन्छ । यसले एकातिर लगानीको दायरा फराकिलो बनाउने छ भने अर्कोतिर सरकारी र निजी क्षेत्रले एकअर्काप्रति दोषारोपण गर्ने प्रवृत्ति पनि कम हुनेछ । त्यसका साथै समाजमा पछाडि पारिएका र सीमान्तकृत अवस्थामा रहेका वर्गलाई आर्थिक विकासको मूलप्रवाहमा ल्याउदै उनीहरुलाई आर्थिक विकासबाट आउने प्रतिफलको हिस्सेदार बनाउन पनि यसबाट सहयोग पुग्नसक्छ । जुनसुकै अवधारणाको पनि सही सदुपयोग नै यसको सफलताको कडी हो । आर्थिक विकासमा सरकारी र निजी क्षेत्रको सहकार्य र साझेदारी बढाउने कुरालाई पनि व्यवहारमै बढी जोड दिन जरुरी छ । सही प्रयोगबाटै यसको सफलताको खोजी गर्न जरुरी छ 

हाम्रो देश जहाँ केही ठूला ब्यापारी घरानाको अधिनमानै उद्धोग वाणिज्य रुमल्लिएको छ | जहाँ मझौला उद्धोग ब्यबसायमा सिन्डिकेटको राम्रो पकड छ | स्वतन्त्र व्यापारको वकालत गर्ने अर्थशास्त्रीहरुको ‘प्रतिस्पर्धा वाट बजारभाउ आफै नियंत्रित हुन्छ, प्रविधि, गुण वा सेवा को स्तर बढ्छ’ भन्ने तर्कको आधार नै काल्पनिक देखिन्छ | यो खुला प्रतिस्पर्धाको अबधारणा रामराज्यको दिवास्वप्न या अंग्रेजी शब्द युटोपियन-मिरेज (Utopian-mirage) मात्र हो जस्तो देखिइरहेको छ | हालैमा नेपालमा देखिएका केही उदाहरणले यस कुराको पुष्टि हुन्छ |    

 

केही दिनअघि यातायात व्यवसायीले विभिन्न माग राखेर हडतालको आह्वान गरे । सरकारले सुरुमा यातायात नचलाए कानुनी कारबाही हुने धम्की पनि दियो तर दुई दिन सार्वजनिक सवारीसाधन बन्द गरेपछि सरकार झुक्न बाध्य भयो । यातायात व्यवसायीहरूले यातायात नचलाएपछि सरकारसँग उनीहरूलाई खुसी पार्नुको विकल्प थिएन । किनकि सरकारसंग साझा यातायात, ट्रलीबस जस्ता सरकारी सार्वजनिक यातायातका साधन नै छैनन् । यातायात व्यवसायीहरूले जति नै कडा माग राखेपनि त्यो माग पूरा गर्नुको विकल्प सरकारसँग छैन 


हालैको अर्को उदाहरण खाना पकाउने ग्यासको लिनसकिन्छ | कमिसन वृद्धिमा सरकार नमान्दा ब्यबसायीहरुले केही दिन ग्यासजस्तो दैनिक उपभोग्य बस्तुको आपूर्तिनै बन्द गरे | सरकार यसपल्टपनि कमिसन बृध्दीगर्न बाध्यभएको भयो | पेट्रोलियम पदार्थको ठुवानीमा सरकारी निकायको आंशिक मात्र सहभागिता छ | यसको वितरणमा हुने हड्ताल र बन्दले उपभोक्ता अजित हुनेगरेका छन् । यसैगरी खाद्यान्न र तरकारीको आकासिदो भाउले आम जनता पिडित छन् | यो मुलाताया बिचौलियाहरुको नै करामत हो | अन्तिम उपभोक्ताको खरिदमा महगो समान परेपनि त्यसको शताम्शमात्र उत्पादक किसनले पाउने गर्दछ | स्वतन्त्र बजारनीति कतै लागु भएको देखिदैन | निजीक्षेत्रलाई समावेश नगरीकन विकास हुनसक्दैन भन्ने यथार्थतालाई नाबिर्सिएपनि निजीक्षेत्रको एकाधिकार भयो भने त्यसले सरकारलाई र देशलाई कसरी कमजोर बनाउँछ र त्यसको सिकार सर्वसाधारण जनता बन्नुपर्छ भन्ने पनि बिर्सिन नहुने यथार्थ देखिन्छ । यस स्थितिमा मध्यमार्गको सार्वजनिक-निजी साझेदारी, विकाशको राम्रो अबधारणाको रुपमा हुनसक्ने देखिन्छ | अमेरिकी अर्थशास्त्री ‘जोशेफ युलिन स्टिगलिज’ जो २००१ को नोबेल पुरस्कार बिजेता हुन्, आफ्ना व्याख्यानमा बजार धरासायी (market failure) हुनबाट जोगाउन ‘तेस्रो मार्ग’ को आबश्याकता पनि रहेको चर्चा गरेका छन् | उनको यो ‘तेस्रो मार्ग’ सरकारको भूमिका रहेको ‘सार्वजनिक-निजी साझेदारी’ हो भन्ने मानिन्छ |

हामीले अबलम्बन गरेको सार्वजनिक-निजी साझेदारीको कार्यक्रमका केही कमजोरीहरु पनि देखिन्छन | सरकारी र निजी क्षेत्रबीच यस्ता कार्यक्रमहरु चलिरहदा पर्याप्त छलफल भइरहेको देखिन्न । नेपालमा विशेशगरी राष्ट्रियस्तरमा केही हदसम्म त्यस्तो छलफल चलेपनि स्थानीयस्तरमा त्यसखाले छलफल त्यति भइरहेको छैनन् । यस्ता छलफल बाटनै ति कार्यक्रमहरु प्रति जनताको अपनत्व कायम हुन्छ र कार्यक्रमहरु संचालक, जो सरकार नै हुन्छ, को आर्थिक बिश्वस्नियता कायम हुन्छ | दोस्रो समस्या पारदर्शिताको पनि हो | बिना टेन्डर खरिद-विक्री हुने परिपाटीमा भ्रष्टाचारको सम्भावना रहन्छ | काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी अबधारणा अनुसार चलाएको 'आकासे पुल' यसको उदाहरण हो । काठमाडौंको असन, रत्नपार्क, सहिदगेट आदि स्थानमा आकासे पुलमा महानगरपालिकाको एकलौटी अधिकार रहेको छ । यो एकलौटी अधिकारको अर्को विकल्प उपलब्ध पनि छैन किनकि निजी क्षेत्रले आकासे पुलको वैकल्पिक उपाय दिन पनि सक्दैन । महानगरपालिकाले आकासे पुल निर्माणको ठेक्का प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई दिन्छ तर निजी क्षेत्रले बनाएको आकासे पुलमुनि रहेका पसलको भाडाको दर भने बिनाप्रतिस्पर्धानै निर्माणकर्ताले निर्धारण गर्नेगरेका छन् | यस्तै आर्को उदाहरण साल्ट ट्रेडिङ कर्पोरेसनको हो जस्ले वस्तु वा सेवा खरिद वा बिक्री गर्दा कहिल्यै टेन्डरमा भाग लिनुपर्दैन | यसलाई अर्थशास्त्रीहरु अश्वस्थता ठान्छन् । सार्वजनिक-निजी साझेदारीको तेश्रो समस्या नविनता ल्याउन नसक्नु हो | यस अवधारणामा एउटा प्रमुख तत्त्व निजीक्षेत्रको निपुणता भित्र्याउने कुरा रहन्छ । तर सरकारले तोकिदिएको मूल्य माथि नाफापनि थपिने भएपछि निजी क्षेत्रले जोखिम उठाउन हिच्किचाउछ र आफ्नो मूल्य वा सेवाको खर्च कम गराउन प्रोत्साहित हुदैन । तसर्थ यि कमजोरीहरुलाई सुधार गरे यो विकाशको मोडल वढी प्रभाबकारी हुनसक्ने देखिन्छ |   

व्यापार विविधिकरण
नुनको आपूर्तिमा मात्र सिमित भएकोभए साल्ट ट्रेडिंग आजको जस्तो आत्मनिर्भर र फाइदा कमाउने संस्था हुनसक्दैन थियो, अझ यसको अस्तित्व नै शायद रहने थिएन | पचास बर्सको तन्नेरी हुंदा सम्ममा यसले बहुआयामी व्यापार बिविधीकारण को निती अपनाएर अफ्नो विकास गरेको देखीन्छ | यसले देशकै कृषिउपज अथवा आयातित - चिनी, चामल, दलहन, खाने तेल, गरममसला र मैदा जस्ता खाध्यान्नहरु आफ्नै लोगोमा बिक्रि-वितरण गरिरहेछ जसको लक्ष पहाडी, हिमाली र हिमालपारीका दुर्गम जिल्लाका सम्मका मध्यम र निम्न बर्गका उपभोक्ताका दैनिक उपभोगको आवश्यकतामा योगदान गर्नु हो |  यस्ले देशमानै पहिलोपल्ट बनस्पति घ्यू (?) घियू उत्पादनको  सुरुवातगर्दै यस्ता उधोग देशका विभिन्न ठाउँमा विस्तार गरेको छ | पछिल्लो समयमा, शहरी उपभोक्ताको आबश्यकता बन्दै गएको ‘खाना पकाउने ग्यास’ को बोटलिंग र वितरणको समेत सुरुवात गरेको छ | ४०० कर्मचारीलाई प्रत्यक्ष र हजारौ लाई अप्रत्यक्ष रोजगारी दिनु पनि यसको महत्वपूर्ण योगदान हो | यसैगरी अन्य उधोग र उधोगीहरु संग हातेमालो गर्दै व्यापारको नेटवर्क बनाएको केही उदाहरणगरुमा: गोरखकाली रबर, मोरंग चिनीमिल, बुटवल धागो र घरेलु हस्तकला जस्ता पर्दछ | यसको वेबसाईटमा उल्लेख भए अनुसार केही खाद्यान्न को निर्यात समेत यसले गर्नेगरेको छ |
 
निश्कर्ष
नेपालको वर्तमान आर्थिक स्थिति निराशजनक छ | आर्थिक वृद्धिदर लक्ष भन्दा प्रायः सधै तल झरिरहेको छ | गत आर्थिक बर्ष २०६९/७० मा आर्थिक वृद्धिदर ३.६% रह्यो जो ६ वर्ष यताकै न्यून वृद्धिदर थियो | हरेक बर्ष सोधनान्तर घाटा बढ्दै छ र यसैसंग व्यापार घाटा डरलाग्दो संग बढ्दै छ | २०६९/७० मा व्यापार घाटा गत बर्षभन्दा १२०% ले बढेर रु ४ खर्ब ८० अर्ब  पुगेको छ |  यसले देशको उत्पादन क्षमता घट्दै गएको र परनिर्भरता बढ्दै गएको देखाउछ | राजनैतिक अस्थिरता संगै विकासका कार्यहरु प्रायः बन्द छन् जसले गर्दा रोजगारी घद्दै गएको छ | केही सक्ने र टाठावाठाहरु बैदेशिक रोजगारीमा विदेशपुगेका छन् | करिब २५ लाख युवा यसै क्रममा विदेशिएको तथ्यांकले देखाउछ | कृषि जो देशको अर्थतन्त्रको सबैभन्दा ठूलो स्रोत थियो लगातार खस्किदै गएको छ | कुनैबेला निकासी गरिने चामलको आयातनै गतबर्ष भन्दा २४४% ले बढेर करिब साढे ४ अर्ब भएको छ | कृषिको ह्राशका मुख्य कारणहरु हुन्: बिउ, मल, सिचाई र उन्नत प्रबिधी तथा श्रम शक्तिको अभाब | उत्पादनलाई बजारको या भनौ श्वस्थ वितरण प्रणालीको ठूलो अभाब छ | अशिक्षित किसानहरु लाई बजारको राम्रो ज्ञान छैन | फलस्वरूप बिचौलिया र सिण्डिकेटको चपेटामा पर्छन र न्यून मुल्यमा उत्पादन बेच्न बाध्य हुन्छन् | यसले गर्दा कृषिपेशामा पर्याप्त क्षमता हुदाहुदै पनि गहिरो निराशा छाएको छ | देशको आर्थीक विकाशको लागि उत्पादक र बजारको विचमा कम नाफामा चल्ने इमानदार र स्थायित्व भएको वितरण व्यवस्थाको अहिले ठूलो खाँचो छ | यस कशीमा खरो उत्रने ‘साल्ट ट्रेडिंग’ जस्ता संस्था देशको लागि त्राण देखिएको छ | अहिलेको यस्तो स्थितिमा यसै प्रकारका अन्य संस्थाहरु जस्ले बिबिध प्रकारका कृषिजन्य र उधोगजन्य उत्पादनको बिक्रि वितरणको ब्यबस्थापन गरी अर्थ वाणिज्यमा टेवा पुर्याउछ को ठूलो आवश्यकता देशमा देखिन्छ |

 

संदर्भ सामाग्री:

१)      ‘पीपीपी’ उत्कृष्ट विकास मोडल, आर्थिक संबाददाता, कान्तिपुर दैनिक,  मंसिर १९, २०६७

२)      सार्वजनिक निजी साझेदारी र समाजवाद, भोलानाथ चालिशे,  कान्तिपुर दैनिक, पुस ६, २०६७
३)      जलविद्युत्मा ‘सिन्डिकेट’को खतरा, भीम गौतम, सौर्य दैनिक(www.souryadaily.com), बैसाख १५ , २०६९
४)      Public Private Partnership in Nepal, Madhukar SJB Rana, Telegraphnepal.com, April 17, 2009
५)      आर्थिक विकासमा सार्वजनिक–निजी साझेदारी  सम्पादकीय  युगबोध राष्ट्रिय दैनिक, माघ १९, २०६९


--------------------*********************----------------------------------

Thursday, December 5, 2013

Remittance: a slow poison


केही वर्ष देखि विप्रेषणको जाईफल चाटेर देश मस्त भएको छ | ‘विप्रेषण एउटा प्रदुषित रगत हो, मरिचिका हो जो देशको अर्थतन्त्रमा वग्न थालेपछि देशको आर्थिक र सामाजिक स्वास्थ बिग्रिदै जान्छ’ भन्ने कुरा देखिदै गएको छ | सन् १८१४ तिर भएको ब्रिटीशसंगको गोर्खाली युध्द पछि ‘वीर’ भनि चिनिएका नेपालीलाई तत्कालिन पंजाबका राजा रंजित सिंहले सम्मानपूर्वक आफ्नो सेनामा भर्ति गरी राजधानी लाहोरमा राखे | त्यो विदेशको कमाईनै नेपालमा लाहुरेले ल्याएको पहिलो विप्रेषणको रकम थियो | सन् २००० पछि वदलिएको राजनैतिक परिवेशमा विदेश जानेलाई नेपालले ढोका ठुलोपारेर खोलिदिएको हो | सन् २००० पछि आज सम्ममा पढ्न र काम गर्न भनेर बिदेशिनेको संख्या बर्षेनी बढ्दै छ र देशमा विप्रेषणको वाडी नै आएको छ | सरकारी स्रोत अनुसार सन् २००० देखि २०१२ सम्ममा विदेशमा रोजगारीको लागि श्रम विभागबाट स्विकृती लिनेहरु करिव ३५ लाख छन् तथा शिक्षा विभागबाट पढन जानको लागि स्विकृती लिनेहरु करिव ३ लाख छन् अर्थात् करिव ३७ लाख नेपाली भारत वाहेक अन्य देशमा छन् | उता ‘नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७’ ले  नेपालमा प्रतेक तेश्रो घरबाट कम्तिमा एक जना विदेशिएको, विदेशिनेमा करिब ८० प्रतिशत १५-३५ वर्षका युवा भएको र यि विदेशिनेमा करिब ८५ प्रतिशत ग्रामीणभेकका भएको देखाउछ | उता विभिन्न गैरसरकारी संस्था तथा अनुसन्धानकर्ताहरुको अध्ययनमा कानुनी र गैर कानुनी रुपमा विदेशिएका, बेचिएका चेली-बेटी तथा भारतमा भएकालाई समेत जोड्दा झण्डै नेपाल भित्रको जनसंख्या बरावरको संख्या नेपाल बाहिर पनि भएको अनुमान गरेको छ | देशमा बिग्रिदै गएको रोजगारीको स्थिति, वढ्दो महंगी, बन्द-हड्तालको अस्थिरता तथा हरेक दिन त्रिभुवन बिमानस्थलबाट विदेशिनेको संख्या हेर्दा सरकारी तथ्यांक भन्दा निकै ठुलो संख्यामा नेपाली विदेशिएको सहजै अनुमान गर्न सकिन्छ | विप्रेषणको आयबाट २०६९-७० मा नेपालले रु ४३० अर्ब भित्रिएको छ जो कूल-गारस्थ्य-उत्पादन (जीडीपी) को करिव २२ प्रतिशत हो |
माथिका तथ्यांकहरु सर्सर्ती हेर्दा विप्रेषणले देशमा प्रगति गरेको जस्तो देखिन्छ | तर विप्रेषण संग संगै अन्य तथ्यांक पनि केलाउने हो भने दुखलाग्दो स्थिती देखिन्छ | विदेशमा कमाई गर्न २०शौ लाख युवा, जसमा मुख्य ग्रामीण भेगका छन्, बाहिरिदा देशको उत्पादन क्षमता घट्दै गएको छ | अचेल जुनसुकै गाउघर शून्य र उराठलाग्दो हुदैगएको छ | युवाहरु नहुदा कृषि, मेलापात, औषदीमूलो, क्रियाकर्म सम्म गर्ने मान्छे पाउन गारो भैसकेको छ | नेपालको आर्थिक मेरुदण्ड मानिएको कृषिक्षेत्रको बिग्रिदो हालत खाधान्नको भयाबह रुपको बढ्दो आयात ले देखाउछ | २०३०-४० का दशकमा गार्हस्थ उत्पादनको ७० प्रतिशत सम्म धानेको कृषिले हाल ३५ प्रतिशत मात्र धानेको छ | कुनै बेला नेपालबाट निर्यात गरिने चामल अचेल आयात गर्नुपरेको छ | गत २०६९-७० मा चामलको आयात अघिल्लो बर्ष भन्दा २४४ प्रतिशत ले बढेर करिब रु १४ अर्ब भएको छ | यसैगरी भारतबाट रु ४.५ अर्बको तरकारी आयात भएको छ जो अघिल्लो बर्षभन्दा ७५ प्रतिशत बढी हो | बढ्दो आयात र घट्दो निर्यातले गत बर्ष व्यापार घाटा २३.५ प्रतिशत ले बढेर ४७९.८ अर्ब पुगेको छ | विदेशको कमाईमा देशको उर्वर शक्ति भुल्लिदा उत्पादन क्षमता घट्दै गएको देखिन्छ |   
के विप्रेषणले नै अहिलेको देशको खर्च धानेको र आर्थिक सम्बृद्धि ल्याएको हो त ? हामी बाहिरबाट आईरहेको पैसा गन्दै मात्र रमाएका छौ | ढोका खुल्ला राख्दा कति चोर कति किरा फट्यांग्रा घर भित्र पस्दै छन् हेर्न खोजेका छैनौ | गत आर्थिक बर्षमा भित्रेको विप्रेषण जिडीपीको २२ प्रतिशत हो | त्यसै अवधिमा आयात र जिडीपी को अनुपात ३३ प्रतिशत हुन आउछ | यसको अर्थ जिडीपीमा विप्रेषणको अनुपात भन्दा आयातको अनुपात ज्यादै बढी छ | फेरी खाधान्न, बिलाशिताका बस्तु लगायत अन्य उपभोग्य बस्तुको आयात क्रमिक रुपमा विप्रेषण संगै बढ्दै गएको छ | बाहिरबाट जे कमायो त्यो भन्दा बढी बाहिरबाट किन्नु परेको छ भने, विप्रेषणले कसरी आर्थिक सम्बृद्धि ल्यायो ? केही अर्थशास्त्रीहरु तथा विश्वबैंक विप्रेषणले गरिबी घटाईरहेको पनि भन्ने गरेका छन् | यस अवधारणाको कुनै ठोस प्रमाण भने कसैले दिन सकेका छैनन् | यो पैसा एकमुस्ट न भएर छरिएर घर-घरमा पुग्नेहुनाले यसबाट विकासको ठुलो काम हुन सक्दैन | विप्रेषणको रकम घरमा भित्रेको देखिएको छ, तर विदेश जाँदा ति घरका कतिले ऋण बोकाएर गएका छन्, कतिका परिवारले त्यो ऋण तिर्न नसक्दा आत्महत्या गरेका छन् र यसरी आएको पैसा कति खान-पिन लुगाफाटोमा खर्च भएको छ, यो हिसाब कसले गरेका छ र ? यस पंक्तिकरले गरेको एक आर्थिक अनुसन्धानमा विप्रेषणले महगी बढाउने र प्रतेक ११ करोड रुपैयाको विप्रेषण भित्रिदा करिव  १ प्रतिशतले वजार भाउ बढ्ने देखिएको छ | यो विदेशको रोजगारीले नत आफ्नो देशमा केही वन्छ, नत ढुक्क भएर विदेशमा काम पाइरहिन्छ भन्न सकिन्छ | रोजगारीको टन्टा परेन भनेर ढुक्क भएर सुतेको सरकारसंग विदेशको आवश्यकता र निती बदलिएर कामदारहरु एक्काशी देश भित्रिए के गर्ने भन्ने सोच छैन | हालसालै मलेशियामा नेपालीको सट्टा बंगलादेशीलाई कामदिने र यसैगरी अरबमा मुस्लिमल देशका लाई प्राथमिकता दिने भन्ने कुरा निस्केको थियो | अन्तरराष्ट्रिय मुद्राकोषले गरेको अध्यनमा विप्रेषण बढी भित्राउने देशका संस्थागत संरचनाहरु बढी तहस-नहस भएका र यसले भ्रस्टाचार बढाएको समेत देखिएको छ |                    
जति तितो विप्रेषणको आर्थिक पक्ष छ त्यो भन्दा तितो सामाजिक पक्ष छ | ठूलो संख्यामा परिवार टुट्ने र पारपाचुके हुने बढेको छ | ज्यान जोखिम हुने कामबाट मर्ने र झ्यालखान पर्नेको संख्या बढ्दो छ | यसैगरी युवाहरु जो परिवर्तनका नायक हुन् ठुलो संख्यामा विदेशिदा, देशको राजनीतिमा नकारात्मक असार परिरहेको होइन भन्न पनि सकिन्न | महिलाहरुको आत्मनिर्भरता केही बढेको छ, भने महिला यौनकर्मीको भारत ईतर अन्तरराष्ट्रियकारण र विविधिकरण भएको छ | करिब ४ लाख नेपाली महिला पछिल्लो दशकमा यौनकर्मीको रुपमा भारत, खाडी प्रदेश, युरोप अमेरिका देखि अफ्रीका सम्म पुगेको अनुमान गरिएको छ | ‘माईती नेपाल’ जस्ता संस्थालाई भारतमा मात्र वेचियेका चेलीवेटीको समश्या न्यूनीकरण गर्न हम्मे परेको वेलामा यसरी संसारभरि छरिएकाहरुबाट त समश्या झनै विकराल बनेको छ | करिब २ लाख महिला खाडी पुगेको अनुमान छ जसमध्ये अधिकांश महिलाको हालत अत्यन्त दारुण छ किनकि ती देशमा कानुनको राज्य छैन, शेखको राज्य छ | फलस्वरुप, त्यहाँ पुगेका हजारौ महिलाले आत्महत्या गरेको खवर छापिएको छ भने हजारौ गुमनाम नजरबन्द या शहिद भएका छन् | यि यौनकर्मीका कमाई पनि हाम्रो विप्रेषणमा जोडिएको छ |   
सरकार र नितीनिर्माताहरुले विप्रेषणको जाईफल चाटेर मस्त हुन वाहेक युवा शक्तिलाई देश विकासमा लगाउन, देशमा रोजगारीको वातावरण बनाउन, उद्योग धन्दाको वातावरण बनाउन, निर्माण र आर्थिक विकास गर्न खासै सकेका छैनन् | तर केही जाँगरिया युवाहरु आफ्नै वलवुतामा रोजगारीका नया आयामहरु खोल्न लागिपर्दैछन् जसमध्धे कति विदेशको हण्डरखाएर फर्केका पनि छन् | देशभर बेमौसमी तरकारी, टनेल खेति र गोलभेडाको लहर युवाहरुले ल्याएका छन् | कुखुरा पालन र डेरीले काँठको जनजीवन परिवर्तित गर्दै छ | नुवाकोट हुदै ट्राउट माछा लमजुंग, गोर्खा, काब्रे तिर छरिदै छ | सत्तरी करोड लगानी भएको रुपन्देहीको अष्ट्रिच पालन देशमाथिको विश्वासको कोशे ढुंगा हो, जस्ले सन् २००० सम्ममा ८७ अर्बको व्यापारको लक्ष लिएको र करिब ५०० लाई रोजगारी दिइरहेको  छ | मेचीको चिया, संखुवासभाको अलैची, ताप्लेजुंगको हिन्वा रक्शी, मार्फाको ब्रान्डी र गुल्मीको कफी केही पहिले देखि स्थापित कृषिमा आधारित रोजगारी थिए | देशका ग्रामीण क्षेत्रमा नै हुनसक्ने रोजगारीका यस्ता सम्भावनाहरु लाई उजागर गरेका यि युवाहरु लाई सलाम गर्नुपर्छ | नेपालमा ठुलो उद्योगको भविष्य छैन भन्ने तर्क यस पंक्तिकरका पहिलेका लेखमा छन् जो भारत र चीनको तुलनात्मक अध्ययन बाट गरिएको थियो | यसैले भोलिको नेपालको उधमी यस्तै ग्रामीण कृषिमा आधारित साना र मझौला उधमी हुन् | यिनैले भोलि देशमा स्वरोजगारी, उत्पादन वृद्धि र आयात घटाउने काम गर्ने छन् | यस्ता जमातलाई चाहिएको थोरै कुरा हुन् - बन्द हड्ताल लाई बन्दगर्ने, सडक यातायातलाई ग्रामीण भेक सम्म पुर्याउने, र प्राविधिक कृषि र ब्यबस्थापनको केही ज्ञान काम गर्नेलाई दिने | यति गरे कुनै सरकार, पार्टी, (सिंह)दरवारका हाकिम कसैलेपनि रोजगारी दिने चिन्ता गर्नु पर्दैन न त परदेशको अनिश्चित कमाईबाट विकास गर्ने झुठो आश्वासन नै दिनुपर्छ |