Saturday, May 23, 2020

बन्दाबन्दीको ढाँचा फेर्दै आर्थिक क्रियाकलाप(जेठ ८, २०७७ कारोबार)

"कोरोनाका कारण देशबन्दीको स्थिति लम्बिने निश्चित छ । यस्तै प्रकारले बन्दाबदी भैरहे कोरोनाले भन्दा खाननपाएर बढी मान्छे मर्नेछन।"
कोरोनाले गर्दा बन्दाबन्दीको अवधि जति लम्बिँदैछ ‘कहिलेसम्म यसरी थुनिएर बस्ने’ भन्ने बेचैनी त्यत्तिकै बढ्दै छ । आ–आफ्नो पेसाका काम ः स्कुल–कलेज, व्यापार-व्यवसाय, खेतीपाती, यसैगरी कतिन्जेल बन्द राख्ने भन्ने अन्योल बढ्दै छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ संसारबाट निमिट्यान्न कहिल्यै हुनेछैन । सन् १९१८ मा संसारमा धेरैतिर फैलिएको ‘स्प्यानिस फ्लु’ र दशाब्दीअघि संसारका अनेकन् देशका देखिएको इबोला, सार्स र मार्सका जीवाणु अझै यो संसारमा छँदैछन्, तर यी पुराना रोगका जीवाणुले अहिले मानिसलाई पहिलाजस्तै घातक हानि पुयाउन छाडेका छन्, किनकि अहिले मानिसको जीउमा यी रोगसँग लड्ने प्रतिरोधक क्षमता बन्दै गएको छ । यस्तै तरिकाबाट सायद ८–१० महिनापछि विश्वले कोभिड–१९ बाट छुट्कारा पाउनेछ ।
नेपालमा यो कोरोनाको प्रभाव भर्खरै मात्र देखिन थालेको छ । रोग जाँच्ने हाम्रो क्षमता नभएर मात्र सुरुमा कम प्रकोप देखिएको रहेछ । सही किट नहुनु, अपर्याप्त किट हुनाको कारण न्यून संख्यामा मात्र जाँच्न सक्नु, सम्भावित संक्रमितहरूको पहिचान र जाँचको सही योजना नहुनु आदिले गर्दा मात्र सुरुका दिनमा यसको संख्या न्यून देखिए पनि अब जाँच्ने क्षमता बढेसँगै प्रकोपको संख्यामा ज्यामितीय वृद्धि देखा पर्न थालेको छ । नेपालमा देखिएका संक्रमितहरूको प्रमुख सम्बन्ध भारतमा मजदुरी गर्नेहरू नै हुन्, जो केही महिनादेखि ठूलो संख्यामा नेपाल भित्रिन थालेका थिए । भारतबाट फर्किनेको यो लर्को अझै कायमै रहेकाले नेपालमा यसको संक्रमण, आउँदो २–३ महिना अझै उच्च गतिमा बढ्ने र त्यसपछिको २–३ महिना अर्थात् कात्तिकतिर मात्र यो ओरालो लाग्दै घट्दै जाने देखिन्छ ।
तसर्थ यो प्रकोपको असर पूरा सकिन अझै निकै महिना कुर्नुपर्ने छ ।
अहिले घरभित्रै बसे पनि हाम्रा खाद्यान्न, तरकारीको जरुरत घटेको छैन । यसको आपूर्ति, अहिले पहिला गरिएको उत्पादनले नै धान्दै छ । तर, यसैगरी घरभित्र बसिरहने हो भने केही समयमा खाद्यान्न, तरकारी पनि सकिने नै छ । नेपालका विश्लेषकहरूले आउँदा दिनहरूमा अकल्पनीय खाद्यान्न र आर्थिक संकटमा देश पुग्ने आकलन गरेका छन् । तर, आउँदा दिनहरूमा स्वास्थ्य, खाद्यान्न र आर्थिक संकटले मात्र हामीलाई घेर्ने होइन, समस्याहरू बहुआयामिक हुनेछन् । लाखौंको संख्यामा रोजगारी गुमेका छन्, बैंकको ऋणभारले उद्योगीहरूको ढाड भाच्दैछ । यस्ता परिस्थितिले पारिवारिक, मानसिक तनाव, घरेलु हिंसा बढाउँदै गएको छ र आउदा दिनहरूमा यसले सामाजिक अपराध, लुटपाट, चोरी पनि बढाउनेछ ।
शिक्षाक्षेत्रमा करिब १ वर्षको क्षति पुग्ने देखिन्छ । शुल्क लिनलाई केही निजी विद्यालयहरूले अनलाइन पढाइ थालेको भए पनि यो स्तरीय छैन । सरकारी शिक्षण संस्थाहरू र ग्रामीण भेगमा जहाँ न सधैं बिजुली छ, न कम्प्युटरजस्ता उपकरण सबैसँग छ, न त्यस्ता माध्यमले पढाउन सक्ने शिक्षक नै छन्, यो अनलाइन निरर्थक छ । अझ यसले ‘हुने र नहुने’को बीचको दूरी बढाउने देखिन्छ ।
पर्यटन क्षेत्रको मेरुदण्ड भाँचिएको छ । यसमा संलग्नहरू आउदो १–२ वर्षसम्म तङ्ग्रिने सम्भावना नै छैन । नेपालका अधिकांश उद्योग कुनै दुरदृष्टि राखेर, देशको कच्चापदार्थमा आधारित भएर चलेका होइनन् । भटमासको तेल, सुपारी र पामआयलजस्ता बाहिरी देशका कच्चापदार्थमा नेपालको छाप लगाएर बनेका हुन् । तसर्थ यस्ता उद्योग बन्द भएमा केही हजारको रोजगारी र थोरै राजस्वमा असर पर्नेबाहेक ठूलो महत्वका छैनन । बैंकलगायतका सेवा यसै भुमरीमा परेकाले संकटमा छन् । च्याउ उम्रेजस्ता अनगिन्ती बैंकहरूलाई मर्जिङ गरी ८–१० मा झार्ने सुनौलो मौका अहिले राष्ट्र बैंकलाई छ ।
अहिले, सबैभन्दा भरपर्दो र देशको स्थिति फेर्न सक्ने क्षेत्र कृषि र यसमा आधारित कुटिर उद्योग हो । वैदेशिक रोजगारीबाट देश फर्केका र गाउँ पुगेकाहरूको ठूलो जमात अहिले देशमा छ । यसको उचित परिचालन गर्न सक्नु अहिलेको देशको आवश्यकता र मौका हो । तर, हालै सरकारद्वारा प्रस्तुत, असामान्य संकटकालको नीति तथा कार्यक्रममा यो जनशक्ति परिचालनका लागि यस्तो कुनै ‘लक्षित योजना’ देखिन्न । त्यसैले आउँदा दिनहरूमा सरकारले यो मौकाको सदुपयोग गर्नेमा शंका छ ।
कोरोनाका कारण देशबन्दीको स्थिति लम्बिने निश्चित छ । हाम्रा आर्थिक, रोजगारी र खाद्यान्नका संकट गहिरिने निश्चित छ । त्यसैले समयमा नै केही निम्नबमोजिमका कदम चालेमा आउँदा दिनमा देशका लागि राहत र पारवारिक सुरक्षा हुन सक्ने देखिन्छ, जसका लागि सरोकारवाला, स्थानीय सरकारहरू, गाउँ-नगरपालिका र केन्द्रीय सरकारले समयमै ध्यान पुयाउन आग्रह पनि छ ।
१. यो संकट यस शताब्दीकै भयावह र विश्वव्यापी भएकाले वर्तमान सरकारले एक्लै समाधान गर्न नसक्ने हुनाले यसको व्यवस्थापनका लागि अधिकारसम्पन्न ‘सर्वदलीय समिति’ गठन गर्ने ।
२. गुणस्तरीय किट र अन्य उपकरणको मोटामोटी संख्या आकलन गरी त्यो ल्याउन चीन या अन्य सम्भाव्य देशमा अविलम्ब सम्पर्क गर्ने । त्यहाँका राजदूतहरूलाई यसमा सक्रिय गराउने । छोटो समयमा यसको खरिदका लागि यही सर्वदलीय समितिले खरिद नियमावली संशोधन गरी किन्ने व्यवस्था मिलाउने । खरिदका लागि बजेटमा अन्य खर्च कटौती गरेर व्यवस्थापन गर्ने । बजेट कटौती गर्न सकिने सम्भाव्य क्षेत्रहरू हुन् ः संसद् विकास कोष, चालू खर्च कटौती, विकास–निर्माण, यातायात, उद्योग आदिमा नियन्त्रण ।
३. देशलाई ८–१० महिना लामो बन्दाबन्दीमा राखे खाद्यसंकट र बेरोजगारीले गर्दा धेरै घरबार बिग्रिने र मानिसहरू ठूलो संख्यामा मर्ने हुनाले आर्थिक क्रियाकलापलाई सँगसँगै सुचारु गर्नु जरुरी छ । त्यसैले देशलाई भारतले जस्तै हरियो, गुलाफी र रातो क्षेत्रमा छुट्याएर, प्रत्येकमा बन्दाबन्दीको ढाँचा फरक अपनाउने ।
४. भारतबाट आउनेको अत्यधिक भीड देखिएका तराईका केही क्षेत्रहरू नै नेपालमा कोरोना फैलाउने ढोका देखिएको छ । नेपालगन्ज, वीरगन्ज, गौरजस्ता सीमावर्ती क्षेत्रलाई उच्च जोखिमको रातो क्षेत्र घोषणा गरेर त्यहाँ कठोर बन्दाबन्दी गर्ने । यस्ता ढोकाहरूबाट भित्रिन खोज्ने नेपालीलाई लुकीछिपीभन्दा मुख्य ढोकाहरूबाट नै आउन प्रोत्साहित गर्ने र तिनीहरूलाई क्वारेन्टाइनमा राख्ने । अहिले होटल, स्कुलहरू सबै खाली भएकाले त्यस्तैमा सरकारले क्वारेन्टाइनमा बस्न यथेष्ठ न्यूनतम आवश्यक व्यवस्था, खानपिन र स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउने । यो अत्यन्त संवेदनशील रातो क्षेत्रको व्यवस्थापन र कडाइले देशभित्रका बाँकी क्षेत्रमा कम ध्यान दिए पुग्छ । त्यसैले यहाँ यथेष्ट प्रहरी, सेना र स्वास्थ्यकर्मीको आवश्यकता पर्छ । जेठ ४ गते नेपालगन्जछेउको नरैनापुरस्थित क्वारेन्टाइनको समाचार सुन्दा त्यहाँ जनतालाई खाने, पिउने, बस्ने व्यवस्था राम्रो नभएको र ग्रामीण जनतालाई कोरोनाको संक्रमणता र क्वारेन्टिनको महत्वबारे उचित ज्ञान नभएको देखिन्छ । यो ज्ञान सिमानाका सबै गाउँबस्तीमा फैलाउनु अत्यावश्यक छ ।
५. रातो क्षेत्रसँग जोडिएका सहर-गाउँका छिमेकी क्षेत्र या त्यहाँबाट सहरी क्षेत्र जाने बाटोलाई गुलाबी क्षेत्र मान्न सकिन्छ, जस्तो ः भैरहवा, नेपालगन्ज, दाङ, उदयपुरको भुल्के । यहाँ हल्का सतर्कताका साथ कृषि र व्यापार चलाउन सकिन्छ । यस्ता क्षेत्रका २० प्रतिशत घुमन्ते जनताको स्याम्पलिङ विधिद्वारा स्वाब परीक्षण गर्ने ।
६. बाँकी देशका क्षेत्रलाई हरियो क्षेत्र घोषणा गरी यहाँ बाहिरबाट भित्रिन नसक्ने बनाई अत्यावश्यक सेवाहरू, व्यापार र कृषि तुरुन्त सुरु गर्ने । यस क्षेत्रका १० प्रतिशतको चक्रीय स्याम्पलिङ विधिद्वारा स्वाब परीक्षण गर्ने ।
७. देशमा भएका सरकारी स्वास्थ्य निकायहरू— क्षेत्रीय, स्थानीय अस्पतालहरूमा कोरोना परीक्षणको भिन्दै एकाइ छुट्याउनुपर्छ । यही सुविधा ठूलो जनसंख्या भएका सहरी क्षेत्रका निजी अस्पतालहरूबाट पनि गर्न पाउनु विश्वव्यापी संक्रमणमा सरकारको पूर्ण अधिकार र निजीको नैतिक जिम्मेदारी हो । यस्ता कोरोना परीक्षण एकाइमा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक उपकरण उपलब्ध हुनुपर्छ ।
८. राजधानी उपत्यकाको हकमा बाहिर जिल्लाबाट आउनेलाई कडाइसँग रोक्न जगाते र नागढुङ्गामा होइन, बर्दिवास र मुग्लिङमा नै रोक्नुपयो र सरकारी कार्यालय, मन्त्रालयहरू, बैंकलगायत आर्थिक गतिविधि बिस्तारै खोल्दै जानुुपयो ।
अहिले भारत र तेस्रो देशबाट, नेपालका विभिन्न सहरबाट गाउँमा युवा जम्मा भएका छन् । वर्षौंदेखि सुनसान भएका गाउँमा शक्ति र ज्ञान सिकेका युवाहरूलाई कृषिमा लगाएर अहिलेको आर्थिक संकट, खाद्यान्न आभाव न्यूनीकरण गर्ने र देशको उत्पादनशीलता बढाउने राम्रो अवसर देशको नेतृत्वले पाएको छ, जसलाई उपयोग गर्न त्यहीअनुसारको बजेट र योजनाहरू तर्जुमा गर्नु आजको आवश्यकता हो ।

Monday, May 4, 2020

बिल गेट्स र कोरोनाग्रस्त नेपाली अर्थतन्त्र( बैशाख २१, २०७७ कारोबार)

उसै त गरिब राष्ट्र, त्यसमा पनि बन्दाबन्दीले निम्त्याएको आर्थिक संकट, नेपाल आउँदा केही वर्षसम यो दुश्चक्रमा नराम्ररी पीडित हुने निश्चित छ ।
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स एक्लो व्यक्ति हुन् जसको नाम फोब्र्स पत्रिकामा २१ वर्षसम्म विश्वका सबैभन्दा धनाढ्यको सूचीमा आएको थियो । झन्डै ९० अर्ब डलरका मालिक गेट्स, धनाढ्य भएर मात्र चर्चामा आएका होइनन्, विश्वको गरिबी र रोगको लडाइँमा सबैभन्दा बढी चिन्तनशील, आर्थिक सहयोगी र ऊर्जावान् विचारका लागि चिनिएका व्यक्ति हुन् यिनी । सन् २०१५ मा आफ्नो ‘टेडटक’ माउनले, निकट भविष्यमा नै यस्तो महामारी आउने र त्यसको बचावटका लागि विश्वभरिका सरकारहरूले तयारी थाल्नुपर्ने विचार राखेका थिए, जसलाई विश्वले समयोचित ध्यान दिन सकेन, अहिले स्थिति सम्हालिनहम्मे परेको छ ।
विश्वमा पोलियो, एड्स, इबोलाजस्ता रोगहरूको अनुसन्धान, औषधिका लागि निरन्तर सबैभन्दा बढी आर्थिक सहयोग गर्ने बिल एन्ड मेलिन्डा गेट फाउन्डेसनले गत फरवरीमा १० करोड डलर कोरोनासम्बन्धी खोप र अनुसन्धानलाई दिएको थियो । अहिले, अलिबाबाका ज्याक माँ र अमेजनका जेफ बोजोसलगायतका व्यापारीहरूले पनि हृदय खोलेर संसारभर सहयोग गरिरहेका छन् । तर यता हाम्रा व्यापारी र राजनीतिकर्मीको ध्यान भने यो विकट बेलामा समेत अनैतिक हतकण्डाबाट कमाउनमा नै रमाइरहेकोे देखिँदैछ ।
उसै त गरिब राष्ट्र, त्यसमा पनि बन्दाबन्दीले निम्त्याएको आर्थिक संकट, नेपाल आउँदा केही वर्षसम यो दुश्चक्रमा नराम्ररी पीडित हुने निश्चित छ । विश्व नै यो शताब्दीकै चरम आर्थिक संकटमा परेका बेला हाम्रोे सोचमा केही परिवर्तन नआउने हो भने २०७२ सालको नाकाबन्दी र भैंचालोले पारेको शून्यनजिकको आर्थिक वृद्धिभन्दा अत्यन्तै नकारात्मक वृद्धिको दयनीय स्थितिमा देश पुग्नेछ र वैदेशिक सहयोग दिने राष्ट्रहरू पनि आफ्नो हात टकटक्याउँदै उतर्सिनेछन् ।
अहिले संसारभरिको ध्यान आफ्ना नागरिकको ज्यान जोगाउनेमा केन्द्रित छ, जसले गर्दा उत्पादनको बिग्रिँदो स्थितिबारे ज्यादै कम सोचिएको छ । तर, बिस्तारै खोप र औषधि बन्दैछन्, आफ्नो बचाउका प्रयास सबै देशहरू गर्दैछन् । बिल गेट्सले हालै आफ्नो लेखमा अहिलेको यो स्थिति सुध्रन र पुरानो लयमा विश्वको बजार फर्कन, खोप र औषधि तयार हुनुपर्ने र त्यसका लागि कम्तीमा अठार महिना लाग्ने अनुमान गरेका छन् । यो माहामारी शान्त भएपछि सम्पूर्ण विश्वको ध्यान उत्पादन र सेवाको भताभुंग स्थितितिर केन्द्रित हुनेछ । तर, यो दौरान नेपाल चरम आर्थिक संकटमा फस्दै जाने देखिन्छ । नेपालको प्रमुख समस्या— पर्यटक नआउनु, उद्योग व्यापार नचल्नु, डलर सञ्चिति बिग्रिँदा आयातका लागि वैदेशिक मुद्रा अपुग हुनु र देशभित्रको रोजगारी तथा भारत एवं तेस्रो मुलुकबाट फर्केका नेपालीलाई खुवाउन, हेरचार गर्न हम्मे पर्नेछ ।
इस्वी संवत् २०२० को सुरुवातसँगै नेपालले भ्रमण वर्ष घोषणा गरेको थियो, जो पहिलो गाँसमै ढुंगा परेझैँ बन्यो । भ्रमण वर्षका लागि धेरै होटल, रिसोर्ट, पर्यटनस्थल थपिएका थिए । यस्ता व्यवसायमा गरिएका लगानीको भारले व्यवसायीहरू थला परेका छन् । अहिले नेपालको अर्थतन्त्रको एकतिहाइ हिस्सा बनेको विप्रेषणमा ३० प्रतिशतको ह्रास आएको छ । कोरोनाले विश्वभरिको रोजगारी बजार तहसनहस पारेको छ । नेपाली अर्थतन्त्रको ३० प्रतिशत हिस्सा ओगटेको विप्रेषणको भविष्य अहिले अन्धकार देखिँदैछ । मलेसिया, कतार, दुबईजस्ता देशमा काम गरिरहेका नेपाली चाँडै नै देश फर्किने सम्भावना देखिन्छ । लाखांैको संख्यामा अहिले भारतमा काम गर्ने फर्किंदै छन् । यो संख्यामा तेस्रो मुलुकमा गएका नेपालीहरू जोडिँदा २०–२५ लाखको हाराहारीमा हुन आउँछ । यो अचानक बढेको जनसंख्यालाई खाद्यान्नलगायत उपभोगका अन्य सामानको आवश्यकता बढ्नेछ, जसका लागि सरकार कुनै न कुनै रूपमा जिम्मेवार हुनुपर्ने नै छ ।
नेपालका अधिकांश उद्योग विदेशी कच्चापदार्थमा निर्भर छन् । उद्योग चलाउने यस्ता कच्चापदार्थ नै कुल आयातको १८.५ प्रतिशत हुने गर्छ, जो अहिले बन्द छ । त्यसकारण विदेशको स्थिति सामान्य नहुन्जेल हाम्रा उद्योगका मेसिन चल्नेछैनन् । त्यसैले उद्योग सुचारु हुन, मजदुरले काम पाउन, उत्पादन निर्यात गरी राजस्व संकलन हुन निकै समय लाग्ने निश्चित छ ।
जनसंख्या पनि पुँजी हो र नेपालको झन्डै ३ करोडको जनसंख्याको उचित परिचालनले देशको अपुग आपूर्ति र व्यापारघाटा नियन्त्रण गर्न सक्छ । अर्थशास्त्रका धुरन्धर माल्थस र कार्लमाक्र्स दुवैले आआफ्नै तरिकाबाट उपभोग र जनसंख्याको समीकरणको व्याख्या गरेका छन् । माल्थसले मानव जनसंख्याको वृद्धि तीव्र हुने र खाद्यान्न उत्पादनको दर सुस्त हुने कारण समायोजन गर्न प्रकृतिले माहामारी, रोग, अनिकाल प्रादुर्भाव गराउने भनिरहँदा माक्र्सले मानिस जन्मदा एउटा खाने मुख मात्र होइन, दुईवटा हातसमेत ल्याउने हुनाले यस्तो संकट आउँदैन, प्रविधिको प्रयोगले उत्पादन पनि त्यसैगरी बढाउन सकिन्छ भन्ने व्याख्या गरे । तसर्थ जनशक्ति पनि पुँजीको रूप हो भन्ने व्याख्या माक्र्सवादले गरेको छ । हुन पनि चीन, भारत, अमेरिकाजस्ता देशको अन्तरिक उपभोग नै उनीहरूका उद्योग चल्न पर्याप्त देखिन्छ, अर्थात् जनसंख्या नै पुँजी हो भन्ने माक्र्सको धारणामा वजन देखिन्छ । तर, पुँजीको रूपमा रहेको नेपालको ठूलो युवाशक्ति भने लामो समयदेखि विदेशमा रोजगारी गर्दैछ ।
विप्रेषणले मात्रै नेपालमा डलर सञ्चितिका लागि झन्डै ६४ प्रतिशत भरथेग गरेको थियो । नेपालको उपभोगको ९० प्रतिशत बाहिरी उत्पादनमा निर्भर छ, जसका लागि आफूसँग डलर हुनु आवश्यक छ । अहिले बाहिरबाट गरिने सम्पूर्ण खरिदका लागि हामीसँग बजारमा महँगिदै गएको डलर अपुग हुँदै गएको छ । वैदेशिक लगानी र सहयोगबाट डलर भित्रिने सम्भावना त्यति छैन ।
विदेशमा रहेका नेपाली त्यहाँको भौतिक निर्माण, उद्योग, कृषि, प्रतिरक्षा, शिक्षा, अतिथि सत्कार, स्वास्थ्य, कम्प्युटरजस्ता सेवामा संलग्न देखिए पनि राष्ट्र बैंकको प्रतिवेदनअनुसार करिब ८५ प्रतिशत कृषि र उद्योगका काममा नै संलग्न देखिन्छन् । किन यस्तो भएको, किदेशमा नै अत्यन्त खाँचो रहेका यस्ता कामहरू, नेपालीले स्वदेशमा नै नगरेर विदेश जाने र त्यो पनि ऋण लिएर ? यो प्रश्न देशका नीति–निर्माताले बुझ्न जरुरी छ र तिनीहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउनु राजनीतिक नेतृत्वको प्रमुख भूमिका हुनुपर्छ । यो कोरोनाको कहरपछि आक्रान्त विश्वको गति पुरानै लयमा जान निकै समय लाग्ने देखिन्छ, तर अहिलेको यो विषम परिस्थितिलाई उचित नीति र योजनाले जोड्ने हो भने यो कोरोनाको विश्व संकट, स्वदेशका लागि अद्भुत सुखद संयोग समेत देखिन्छ, देशको चरम परनिर्भरता हटाउन र विदेशको ज्ञान लिएर आएका युवालाई देशमा टिकाउन ।
नेपालको भविष्य स्वदेशी उत्पादनमा नै छ, मुख्यतः कृषिउपज र त्यसको अर्धप्रशोधित उत्पादनमा । यो कोरोनाको विश्वव्यापी विपद्ले फेरि हाम्रो भविष्य त्यसैमा रहेको देखाएको छ । नेपाल जलवायु विविधता र पानी, जमिनजस्ता प्राकृतिक संसाधनले भरपुर देश हो । कृषि उत्पादन नेपालमा राम्रो नहुनुमा राम्रो जातको बीउ, मल, प्रविधि र सिँचाइको अभावले हो । अहिले पाँच या दस वर्षपहिलेको स्थिति देशमा छैन । कतिपय अप्ठ्याराहरू, जो यी विदेश गएका युवाले त्यतिखेर भोगेका थिए, मा परिवर्तन आएको छ । खराब नै भए पनि उत्पादनलाई बजार जोड्ने सडक बनेका छन् । बिजुली निरन्तर उपयोग गर्न सकिन्छ । मोबाइल र इन्टरनेटले नेपालबाटै विश्वको माग र परिवर्तन बुझ्न सम्भव छ । बिचौलिया भए पनि उत्पादन र बजारको सञ्जाल तयार छ । उत्पादित सामानको बजार मूल्य त्यति नराम्रो छैन ।
अहिले राजनीतिक नेतृत्व, स्थानीय सरकारहरू, योजनाकार र नीति–निर्माताहरूले केवल सहजीकरणको व्यवस्था, बीउबिजन, मलको व्यवस्था, सिंचाइको सहजीकरणका लागि केही नीतिगत निर्णय र स्थानीय सेवा मात्र दिन सके नेपालले काँचुली फेर्ने देखिन्छ । उधोगधन्दा नचल्दा बैंकहरू जोखिममा पर्दै गएका छन् । सरकारले सस्तो ब्याजमा कृषि र कृषिमा आधारित उद्योग संचालनका लागि ऋण दिन सक्छ । अपेक्षित स्तरमा कृषि उत्पादन बढाउन, उन्नत बीउ र मल त चाहिन्छ नै, प्रविधि र औजारको ठूलो खाँचो छ । यसका लागि सरकारले स्थानीय स्तरका कृषि विभागहरूलाई तयार पार्न जरुरी छ । अहिले देश फर्केका युवाहरू, जो अहिले आफ्ना गाउँमा पुगेका छन्, लाई बुझ्न त्यहीं टिक्ने वातावरण दिन सके सुनसान बन्दै गएको गाउँघर उत्पादनशील हुने, फेरि चहलपहल देखिने र कृषिउपजले आन्तरिक मागको ठूलो हिस्सा थेग्ने र मौलिक नेपाली कृषि उत्पादन विश्वबजार पुग्न सम्भाव छ ।
विदेशमा कमाउन सजिलो छैन, दिनरात मेहनत र स्थानीय सरकार या कम्पनी मालिकको तजबिज, बुहार्तन र शोषण भोग्नुपर्छ । अहिले काठमाडौँ या अन्य नेपालका सहरमा दुःखको जीवन बिताएर गाउँघर पुगेका या यसैगरी भारत या तेस्रो देशबाट नेपाल पसेकाहरूमा आफ्नै ठाउँमा त्यति दुःख गरे बढी कमाइ, पारिवारिक शान्ति पाउन सकिन्छ भन्ने चेत आउन सके, स्थानीय जागरुक समूहले, सरकारले यो चेत उनीहरूलाई दिन सके, नेपालले राम्रो कोल्टे फेर्ने निश्चित छ । यसरी गाउँ फर्केकाहरूले सहरको महँगो स्कुलमा भन्दा स्थानीय सरकारी स्कुलमा राम्रो पढाइ होस्, स्थानीय स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी र औषधि उपलब्ध होस् भनेर स्थानीय सरकारलाई दबाब दिए– देशमा सुखद क्रान्ति आउने थियो । सरकारले अहिले यो चेतना प्रवाह गरे र त्यहाँको शिक्षा र स्वास्थ्यमा सुधार गर्ने ग्यारेन्टी दिन सके अहिलेको विश्व मन्दीमा देश बाँच्ने र त्यसपछि आर्थिक प्रगति हुने निश्चित छ । देश अहिले त्यो मोडमा आएको छ जहाँ इमानदारीसँग गरिएको थोरै व्यवस्थापनले, नीति–निर्माताहरू सधैं स्मरणीय र प्रशंसनीय हुन सक्छन् । त्यसैले यो सुखद संयोगको सदुपयोग गर्ने आँट गरौँ र त्यसका लागि आवश्यक काम गर्ने बुद्धिमानी देखाऔं ।
लिंक