Friday, July 12, 2013

विषाक्त खाद्यान्न - लाचार उपभोक्ता (कारोबार असार, २८)

नेपालका आमउपभोक्ता विवश छन्, विषाक्त एवं अखाद्य मिसावटका खाद्यान्न प्रयोग गर्न । विवश छन्, हरेक वस्तुको खरिदमा मिसावटी सामान किन्न । नेपालका उद्योग–व्यवसायहरू बिरामी छन् । यी यस्ता रोगले ग्रस्त छन् जसको उपचार डाक्टर या वैद्यसँग छैन । किनकि अधिकांश उद्योग–व्यवसायको जन्म नै केवल नाफा कमाउने दूषित बीउबाट भएको छ । जो जन्मदा स्वस्थ थिए ती पनि वयस्क हुदाँसम्ममा प्रदूषणले रोगी भइसकेका छन् । मुनाफाका लागि ढाँट र ठगी गर्नु व्यवसायीहरू आफ्नो अधिकार नै ठान्छन् । हालै मात्र भएको सुनचाँदी व्यवसायीहरूको हड्ताल, डेरी व्यवसायीहरूको कर्मचारीमाथिको आक्रमण, पानी व्यवसायीको हड्ताल र पेट्रोल डिपोवालाको खुला बजार नीतिको विरोधले यही देखाउँछ ।


कोलिफर्म एउटा परजीवी हो; जसले रगतमासी, हैजालगायतका थुप्रै पेटका रोग ल्याउँछ र जो दिसा मिसिएको प्रदूषित पानीबाटै प्रायः फैलिन्छ । प्याकेटमा बेचिने बच्चा–बूढालगायत सबैले खाने प्रशोधित  नमुना जाँच्दा यिनमा २ हजार ४ सयभन्दा बढी कोलिफर्म भेटियो । विश्व स्वास्थ्य संगठनका अनुसार दूध र पानीजस्ता पिउने पदार्थमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ र ५० भन्दा बढी भएमा यसबाट हट्टाकट्टा वयस्क पनि बिरामी पर्न सक्छ । ‘पास्चराइज’ प्रविधिबाट उत्पादित दूध केही बेर उच्च तापक्रममा उमालिन्छ र तत्कालै केही बेर चिस्याइन्छ, जसले गर्दा कोलिफर्मलगायत अन्य जीवाणु सबै मर्छन् । यसैले विदेशमा ‘पास्चराइज’ दूध प्रायः नउमालीकनै खाइन्छ । नेपालका सम्पूर्ण डेरीले ‘पास्चराइज’ पद्धतिको उत्पादनको स्वीकृति लिएका छन् तर ‘पास्चराइज’ गरे कि गरेनन् भन्ने विषयमा यतिखेर अहं प्रश्न उठेको छ । किनभने खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले अनुगमन गरेका प्रायः सबै दूध डेरीमा कोलिफार्म पाइयो । सबै डेरीवालाले यतिखेर एक स्वरमा ‘दूध उमालेर मात्र खानुस्’ भनेर हामीले प्याकेटमा लेखेका छौं भन्ने अभिव्यक्ति दिइरहेका छन् । यसले गर्दा नेपालका दुग्ध डेरीहरूमा ‘पास्चराइज’ भए–नभएको बारे आशंका जन्माएको छ ।  भक्तपुरको डेरीमा केही दिनअगाडि २ हजार ४ सयभन्दा बढी कोलिफर्म भएको दूध भेटियो । यो दुखद परिणाम मानव स्वास्थ्यका लागि अत्यन्त घातक पनि हो । कति बच्चा र बिरामीले यस्तो दूध खाए र बिरामी भए या मरे यसको खोजी किन गरिएको छैन । यसभन्दा दुःखद समाचार ती डेरी सञ्चालकले यस्तो भेटिएपछि जनतासँग क्षमा माग्नु सट्टा सरकारी कर्मचारीलाई आक्रमण गरे र पत्रकारका टेलिभिजन फुटाए भन्ने हो । भक्तपुरको डेरीजस्तै काठमाडौं र ललितपुरका डेरीहरूमा पनि यस्तै प्रदूषण भेटिएको छ । जनताको स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने यस्ता अपराधलाई, भक्तपुरका व्यवसायीले माग गरेका जस्तै, एकपल्ट माफी दिन मिल्छ कि मिल्दैन ? दूधमा प्रदूषण शून्य हुनुपर्छ भन्ने ज्ञान या कुन प्रविधिबाट यस्तो गर्न सकिन्छ भन्ने ज्ञान उद्योग खोल्नेले पहिले नै थाहा पाउनुपर्छ कि पर्दैन ? सुनमा मिसावट या ट्याक्सीको मिटर बिगार्नेजस्ता अनैतिक कामको समाचार आउँदा हाम्रा व्यवसायी कसरी जनतालाई ठग्नमा लिप्त रहेछन् भन्ने थाहा हुन्छ ।
सरकारको एउटा ठूूलो जिम्मेवारी भनेको उद्योग–व्यवसायीको ठगीबाट उपभोक्तालाई जोगाउनु पनि हो । सरकार कमजोर र भ्रमित भएको मौका छोपेर गर्दै रहेको ठगीलाई नैतिक या अज्ञानता या नियम नभएको भनेर ‘पानीमाथिको ओभानो’ हुन मिल्दैन । अझ अनुगमनमा फटाइँ भेटिएपछि त्यसको विरोधमा बन्द–हड्ताल र नाराबाजी गर्नु भनेको बिनावस्त्र खुला बजारमा नांगै उफ्रिनुजस्तै मूर्खतामाथिको महामुख्र्याइँ हो । यदि यस्तो सजाय माफ गर्न सकिनेछ भने परीक्षामा चिट चोर्दा समातिएकालाई किन सजाय दिने ?

सुन व्यापारी होस् या पेट्रोल डिपोवाला या डेरी व्यवसायीहरू र उपभोक्ता ठगिएकोमा र ठगी गर्नेलाई समात्दा बन्द, तोडफोड गरेकोमा उद्योग–वाणिज्य महासंघजस्ता संगठनहरूले जनता र नैतिकताको पक्षमा, बन्द र तोडफोडको विरोधमा बोल्नुपर्छ कि पर्दैन ? कि योलगायतका पेसागत संगठनहरूको कर्तव्य केवल सम्बन्धित पेसावालहरूको कर र भ्याट कम गर्न सरकारलाई दबाब दिनु मात्र हो ? नेपाल उद्योग वाणिज्य महासंघले निकै प्रखर भएर लोकतन्त्रका लागि आवाज उठाएको छ । बेला–बेलामा हुने नेपाल बन्दलाई सधैं बन्द गर्नुपर्छ भन्ने आवाज पनि यो महासंघले उठाएको छ, जो नेपालको आर्थिक प्रगतिका लागि अत्यावश्यक हो । तर, यही महासंघले उद्योग–व्यवसायीहरूका अनैतिक क्रियाकलापको भत्र्सना गरी आफ्नो समाजप्रतिको दायित्व दर्साउन किन पछि परेको हो ? बुझिनसक्नु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघजस्तो व्यावसायिक संस्थाको भूमिका राजनीतिक दलका भ्रातृ संगठनहरूभन्दा फरक हुनैपर्छ ।  

खाद्यान्न अखाद्य या विषाक्त वस्तुको मिसावट अथवा उपभोग गर्ने अन्तिम तिथि–मितिको हेरफेरजस्ता कार्यले मानवीय स्वास्थ्यमा असर पर्ने हुनाले अरू खाले चलखेलभन्दा यो संगीन अपराध हो । केही वर्ष पहिले नयाँसडकको गुदपाक भण्डारको यस्तै मिसावटको समाचार छताछुल्ल भएको थियो । ठूलो जनदबाबपछि मात्र कारबाही भयो र त्यो पसल अहिले बन्द छ, तर त्यसैको छेउछाउमा या अरू ठाउँमा अहिले बेचिराखिएको गुदपाक शुद्घ छ कि छैन ? बजारमा बिक्रीका लागि राखिएका दैनिक उपभोग गर्ने खाद्य सामग्री— जुसदेखि दूधसम्म, पानीदेखि तेलसम्म, हरियो तरकारीदेखि चामल, दालसम्म निम्न गुणस्तरको या विषादी मिसिएको पाइएको छ । केही समयअगाडि खाद्यान्नमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने घातक विषादीहरूबारे एक अध्ययन गरिएको थियो । विश्व स्वास्थ्य संगठनको सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको भिम्टा प्रयोगशालामा गरेको सो अध्ययनमा नेपाली बजारमा बिक्रीका लागि राखिएका चामल, गेडागुडी, हरियो सागपात, चिउरा तथा पाउरोटीको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा ती खाद्यान्नमा मानव स्वास्थ्यलाई असर पु¥याउने नौ थरीका विषादी मिसाइएको पाइयो । देशका २५ वटा जिल्लाबाट नमुना संकलन गरी एक वर्ष समय लगाएर गरिएको सो अध्ययनले खाद्यान्नमा प्रतिबन्धित विषादीसमेत फेला परेको थियो ।

हाम्रो खाद्य परीक्षण गर्ने निकायको कमजोर प्राविधिक क्षमता र मानवीय कमीले छानबिन निरन्तर र स्तरीय हुनसकेको छैन । यति हुँदाहुँदै पनि जे–जस्तो खाद्यान्नमा निर्घात हेराफेरी गरेको भेटियो, यसरी मिसावट गर्नेहरू सोझै उपभोक्ताका शत्रु हुन् । त्यसैले तिनीहरूलाई कारबाही गर्नु जरुरी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतका उत्तरदायित्व पाएका र उपभोक्ताले तिरेको करबाट तलब खाएका सरकारी निकायहरूले यस्ता उत्पादक तथा विक्रेतालाई कडा कारबाही गर्न सक्नुपर्छ । साथै यसको नियमनका लागि इमानदार उद्योगी, सम्बन्धित सघं तथा उपभोक्ता हित संरक्षण मञ्चजस्ता संगठनहरू सबैको जागरूकता र सहयोग उत्तिकै आवश्यक छ ।

No comments:

Post a Comment