केही वर्ष देखि विप्रेषणको जाईफल चाटेर देश
मस्त भएको छ | ‘विप्रेषण एउटा प्रदुषित रगत हो, मरिचिका हो जो देशको अर्थतन्त्रमा वग्न
थालेपछि देशको आर्थिक र सामाजिक स्वास्थ बिग्रिदै जान्छ’ भन्ने कुरा देखिदै गएको छ
| सन् १८१४ तिर भएको ब्रिटीशसंगको गोर्खाली युध्द पछि ‘वीर’ भनि चिनिएका नेपालीलाई
तत्कालिन पंजाबका राजा रंजित सिंहले सम्मानपूर्वक आफ्नो सेनामा भर्ति गरी राजधानी
लाहोरमा राखे | त्यो विदेशको कमाईनै नेपालमा लाहुरेले ल्याएको पहिलो विप्रेषणको रकम
थियो | सन् २००० पछि वदलिएको राजनैतिक परिवेशमा विदेश जानेलाई नेपालले ढोका ठुलोपारेर
खोलिदिएको हो | सन् २००० पछि आज सम्ममा पढ्न र काम गर्न भनेर बिदेशिनेको संख्या
बर्षेनी बढ्दै छ र देशमा विप्रेषणको वाडी नै आएको छ | सरकारी स्रोत अनुसार सन् २००० देखि २०१२ सम्ममा विदेशमा
रोजगारीको लागि श्रम विभागबाट स्विकृती लिनेहरु करिव ३५ लाख
छन् तथा शिक्षा विभागबाट पढन जानको लागि स्विकृती लिनेहरु करिव ३ लाख छन् अर्थात्
करिव ३७ लाख नेपाली भारत वाहेक अन्य देशमा छन् | उता ‘नेपाल जीवनस्तर सर्वेक्षण २०६६/६७’
ले नेपालमा प्रतेक तेश्रो घरबाट कम्तिमा एक
जना विदेशिएको, विदेशिनेमा करिब ८० प्रतिशत १५-३५ वर्षका युवा भएको र यि विदेशिनेमा
करिब ८५ प्रतिशत ग्रामीणभेकका भएको देखाउछ | उता विभिन्न गैरसरकारी संस्था तथा
अनुसन्धानकर्ताहरुको अध्ययनमा कानुनी र गैर कानुनी रुपमा विदेशिएका, बेचिएका चेली-बेटी
तथा भारतमा भएकालाई समेत जोड्दा झण्डै नेपाल भित्रको जनसंख्या बरावरको संख्या नेपाल
बाहिर पनि भएको अनुमान गरेको छ | देशमा बिग्रिदै गएको रोजगारीको स्थिति, वढ्दो महंगी,
बन्द-हड्तालको अस्थिरता तथा हरेक दिन त्रिभुवन बिमानस्थलबाट विदेशिनेको संख्या हेर्दा
सरकारी तथ्यांक भन्दा निकै ठुलो संख्यामा नेपाली विदेशिएको सहजै अनुमान गर्न
सकिन्छ | विप्रेषणको आयबाट २०६९-७० मा नेपालले रु ४३० अर्ब भित्रिएको छ जो कूल-गारस्थ्य-उत्पादन (जीडीपी) को करिव
२२ प्रतिशत हो |
माथिका तथ्यांकहरु सर्सर्ती हेर्दा विप्रेषणले देशमा प्रगति गरेको जस्तो देखिन्छ | तर विप्रेषण संग संगै अन्य तथ्यांक पनि केलाउने हो
भने दुखलाग्दो स्थिती देखिन्छ | विदेशमा कमाई गर्न २०शौ लाख युवा, जसमा मुख्य ग्रामीण भेगका छन्, बाहिरिदा देशको
उत्पादन क्षमता घट्दै गएको छ | अचेल जुनसुकै गाउघर शून्य र उराठलाग्दो हुदैगएको छ
| युवाहरु नहुदा कृषि, मेलापात, औषदीमूलो,
क्रियाकर्म सम्म गर्ने मान्छे पाउन गारो भैसकेको छ | नेपालको आर्थिक मेरुदण्ड
मानिएको कृषिक्षेत्रको बिग्रिदो हालत खाधान्नको भयाबह रुपको बढ्दो आयात ले देखाउछ
| २०३०-४० का दशकमा गार्हस्थ
उत्पादनको ७० प्रतिशत सम्म धानेको कृषिले हाल ३५ प्रतिशत मात्र
धानेको छ | कुनै बेला नेपालबाट निर्यात गरिने चामल अचेल आयात गर्नुपरेको छ | गत
२०६९-७० मा चामलको आयात अघिल्लो बर्ष भन्दा २४४ प्रतिशत ले
बढेर करिब रु १४ अर्ब भएको छ | यसैगरी भारतबाट रु ४.५ अर्बको तरकारी आयात भएको छ
जो अघिल्लो बर्षभन्दा ७५ प्रतिशत बढी हो | बढ्दो आयात र घट्दो निर्यातले गत बर्ष
व्यापार घाटा २३.५ प्रतिशत ले बढेर ४७९.८ अर्ब पुगेको छ | विदेशको कमाईमा
देशको उर्वर शक्ति भुल्लिदा उत्पादन क्षमता घट्दै गएको देखिन्छ |
के विप्रेषणले
नै अहिलेको देशको खर्च धानेको र आर्थिक सम्बृद्धि ल्याएको हो त ? हामी बाहिरबाट आईरहेको
पैसा गन्दै मात्र रमाएका छौ | ढोका खुल्ला राख्दा कति चोर कति किरा फट्यांग्रा घर
भित्र पस्दै छन् हेर्न खोजेका छैनौ | गत आर्थिक बर्षमा भित्रेको विप्रेषण जिडीपीको
२२ प्रतिशत हो | त्यसै अवधिमा आयात र जिडीपी को अनुपात ३३ प्रतिशत हुन आउछ | यसको
अर्थ जिडीपीमा विप्रेषणको अनुपात भन्दा आयातको अनुपात ज्यादै बढी छ | फेरी
खाधान्न, बिलाशिताका बस्तु लगायत अन्य उपभोग्य बस्तुको आयात क्रमिक रुपमा विप्रेषण
संगै बढ्दै गएको छ | बाहिरबाट जे कमायो त्यो भन्दा बढी बाहिरबाट किन्नु परेको छ
भने, विप्रेषणले कसरी आर्थिक सम्बृद्धि ल्यायो ? केही अर्थशास्त्रीहरु तथा
विश्वबैंक विप्रेषणले गरिबी घटाईरहेको पनि भन्ने गरेका छन् | यस अवधारणाको कुनै ठोस
प्रमाण भने कसैले दिन सकेका छैनन् | यो पैसा एकमुस्ट न भएर छरिएर घर-घरमा
पुग्नेहुनाले यसबाट विकासको ठुलो काम हुन सक्दैन | विप्रेषणको रकम घरमा भित्रेको
देखिएको छ, तर विदेश जाँदा ति घरका कतिले ऋण बोकाएर गएका छन्, कतिका परिवारले त्यो
ऋण तिर्न नसक्दा आत्महत्या गरेका छन् र यसरी आएको पैसा कति खान-पिन लुगाफाटोमा
खर्च भएको छ, यो हिसाब कसले गरेका छ र ? यस पंक्तिकरले गरेको एक आर्थिक
अनुसन्धानमा विप्रेषणले महगी बढाउने र प्रतेक ११ करोड रुपैयाको विप्रेषण भित्रिदा करिव
१ प्रतिशतले वजार भाउ बढ्ने देखिएको छ | यो विदेशको रोजगारीले नत आफ्नो
देशमा केही वन्छ, नत ढुक्क भएर विदेशमा काम पाइरहिन्छ भन्न सकिन्छ | रोजगारीको
टन्टा परेन भनेर ढुक्क भएर सुतेको सरकारसंग विदेशको आवश्यकता र निती बदलिएर कामदारहरु
एक्काशी देश भित्रिए के गर्ने भन्ने सोच छैन | हालसालै मलेशियामा नेपालीको सट्टा
बंगलादेशीलाई कामदिने र यसैगरी अरबमा मुस्लिमल देशका लाई प्राथमिकता दिने भन्ने
कुरा निस्केको थियो | अन्तरराष्ट्रिय मुद्राकोषले गरेको अध्यनमा विप्रेषण बढी भित्राउने
देशका संस्थागत संरचनाहरु बढी तहस-नहस भएका र यसले भ्रस्टाचार बढाएको समेत देखिएको
छ |
जति तितो विप्रेषणको आर्थिक पक्ष छ त्यो
भन्दा तितो सामाजिक पक्ष छ | ठूलो
संख्यामा परिवार टुट्ने र पारपाचुके हुने बढेको छ | ज्यान जोखिम हुने कामबाट मर्ने
र झ्यालखान पर्नेको संख्या बढ्दो छ | यसैगरी युवाहरु जो परिवर्तनका नायक हुन् ठुलो
संख्यामा विदेशिदा, देशको राजनीतिमा नकारात्मक असार परिरहेको होइन भन्न पनि सकिन्न
| महिलाहरुको आत्मनिर्भरता केही बढेको छ, भने महिला यौनकर्मीको भारत ईतर अन्तरराष्ट्रियकारण
र विविधिकरण भएको छ | करिब ४ लाख नेपाली महिला पछिल्लो दशकमा यौनकर्मीको रुपमा भारत,
खाडी प्रदेश, युरोप अमेरिका देखि अफ्रीका सम्म पुगेको अनुमान गरिएको छ | ‘माईती
नेपाल’ जस्ता संस्थालाई भारतमा मात्र वेचियेका चेलीवेटीको समश्या न्यूनीकरण गर्न हम्मे
परेको वेलामा यसरी संसारभरि छरिएकाहरुबाट त समश्या झनै विकराल बनेको छ | करिब २
लाख महिला खाडी पुगेको अनुमान छ जसमध्ये अधिकांश महिलाको हालत अत्यन्त दारुण छ
किनकि ती देशमा कानुनको राज्य छैन, शेखको राज्य छ | फलस्वरुप, त्यहाँ पुगेका हजारौ
महिलाले आत्महत्या गरेको खवर छापिएको छ भने हजारौ गुमनाम नजरबन्द या शहिद भएका छन्
| यि यौनकर्मीका कमाई पनि हाम्रो विप्रेषणमा जोडिएको छ |
सरकार र नितीनिर्माताहरुले विप्रेषणको जाईफल चाटेर
मस्त हुन वाहेक युवा शक्तिलाई देश विकासमा लगाउन, देशमा रोजगारीको वातावरण बनाउन,
उद्योग धन्दाको वातावरण बनाउन, निर्माण र आर्थिक विकास गर्न खासै सकेका छैनन् | तर
केही जाँगरिया युवाहरु आफ्नै वलवुतामा रोजगारीका नया आयामहरु खोल्न लागिपर्दैछन् जसमध्धे
कति विदेशको हण्डरखाएर फर्केका पनि छन् | देशभर बेमौसमी तरकारी, टनेल खेति र गोलभेडाको
लहर युवाहरुले ल्याएका छन् | कुखुरा पालन र डेरीले काँठको जनजीवन परिवर्तित गर्दै
छ | नुवाकोट हुदै ट्राउट माछा लमजुंग, गोर्खा, काब्रे तिर छरिदै छ | सत्तरी करोड लगानी
भएको रुपन्देहीको अष्ट्रिच पालन देशमाथिको विश्वासको कोशे ढुंगा हो, जस्ले सन् २०००
सम्ममा ८७ अर्बको व्यापारको लक्ष लिएको र करिब ५०० लाई रोजगारी दिइरहेको छ | मेचीको चिया, संखुवासभाको अलैची, ताप्लेजुंगको
हिन्वा रक्शी, मार्फाको ब्रान्डी र गुल्मीको कफी केही पहिले देखि स्थापित कृषिमा
आधारित रोजगारी थिए | देशका ग्रामीण क्षेत्रमा नै हुनसक्ने रोजगारीका यस्ता
सम्भावनाहरु लाई उजागर गरेका यि युवाहरु लाई सलाम गर्नुपर्छ | नेपालमा ठुलो
उद्योगको भविष्य छैन भन्ने तर्क यस पंक्तिकरका पहिलेका लेखमा छन् जो भारत र चीनको
तुलनात्मक अध्ययन बाट गरिएको थियो | यसैले भोलिको नेपालको उधमी यस्तै ग्रामीण कृषिमा
आधारित साना र मझौला उधमी हुन् | यिनैले भोलि देशमा स्वरोजगारी, उत्पादन वृद्धि र
आयात घटाउने काम गर्ने छन् | यस्ता जमातलाई चाहिएको थोरै कुरा हुन् - बन्द हड्ताल
लाई बन्दगर्ने, सडक यातायातलाई ग्रामीण भेक सम्म पुर्याउने, र प्राविधिक कृषि र
ब्यबस्थापनको केही ज्ञान काम गर्नेलाई दिने | यति गरे कुनै सरकार, पार्टी,
(सिंह)दरवारका हाकिम कसैलेपनि रोजगारी दिने चिन्ता गर्नु पर्दैन न त परदेशको
अनिश्चित कमाईबाट विकास गर्ने झुठो आश्वासन नै दिनुपर्छ |
No comments:
Post a Comment