तथ्यांक विभागले बर्षदिन लगाएर गरेको कृषि लघु-गणनाको नतिजा गत पौष ९ मा
सार्बजनिक गर्यो | कृषि जनगणना भनिएपनि यो छानिएका श्याम्पलमा मात्र गरिएको लघु गणना(sample survey) हो | यो प्रतिबेदनको तथ्यांकले २०११ को नेपाललाई मात्र
प्रतिबिम्बित गर्छ, यसैले गत बर्षको बर्ड-फ्लूको संक्रमणले सखाप भएको ह्याचरी उध्द्योगमा झण्डै
५०% कुखुराको बृध्दि भएको यसको तथ्यांक देखाएको छ | यसै गरी यो प्रतिबेदनले कृषिको
उत्पादकत्वको तथ्यांक दिनसकेको छैन, केवल भू-स्थितिको तथ्यांक मात्र दिएको छ | जस्तोकी,
धान फल्ने जग्गामा करिब ६% ले कमी आएको छ भन्ने यो प्रतिबेदनले देखाएको छ तर धानको
उत्पादन कति प्रतिशत घटेको भन्ने देखाएको छैन | हेक्का रहोश, नेपाल राष्ट्रबैंकले
फागुन २०६९ मा गरेको मुल्यांकन अनुसार देशमा चामलको आयात २४४% ले बढेको देखाएको थियो
| यसरी कृषि-गणनाको ५० बर्ष पुगेको गर्ब गरिरहदा यो तीन बर्ष पुरानो र अधकल्चो तथ्यांकमात्र
दिनसक्नु भनेको तथ्यांक विभागले आधुनिक प्रविधिको प्रयोग र व्यबस्थापन गर्न अझै अक्षम
भएको जस्तो नै देखिन्छ | तथापी गणना गर्ने पद्धतिमा निकै आधुनिकरण गरिएको, पूर्ण आफ्नै
आर्थिक क्षमताबाट सम्पन्न गरिएको भनिएको छ, जो यसको प्रशंसनीय पक्ष हो |
नेपाल कृषिप्रधान देश हो, किनकी अहिले पनि देशको ७१%
जनताको संलग्नता कृषिमा नै भएको देखिन्छ | सन् १९७१ मा यो संलग्नता ९४% थियो, जो ४०
बर्ष पछि २०११ मा आएर ७१% मा झरेको छ | हुनत, कृषिको संलग्नता घट्नु नै अविकाश
होइन | कृषिबाट गैर-कृषिमा रुपान्तरित हुदै जानु प्रगति नै हो | तर हाम्रो देशमा
कृषिको लागि आधार जति सजिलो छ त्यति उद्योग, व्यापार या सेवाको लागि छैन | कृषि
हाम्रो धर्म, संस्कृति, दर्शन, साहित्य, भाषा, प्रेम, क्रान्ति लगायत जीबनका हरेक
तत्व मा मिलिसकेको छ | कृषिबारे सामान्य ज्ञान दिदा पढलेख नगरेकाले पनि राम्ररी
बुझ्न र उपयोग गर्न सक्छन | फेरी, भाग्यबश
हामी हिमाल र तराईको जुन भौगोलिक स्थितिमा छौ जहाँ संसारको दुर्लभ हावापानी र
जैविक बिबिधता हामीलाई प्राप्त छ, जहाँ शैकणौ प्रकारका कृषि उपज सम्भब छ जो नजिकका
अन्य छिमेकी देशहरुमा हुदैन | तसर्थ यस क्षेत्रको विकास हुन सजिलो र यसले भबिष्यको
लागि ठुलो क्षमता बोकेको देखापर्छ | तर बस्तुगत
स्थिति यति अनुकुल देखिएपनि कृषि क्षेत्र लगातार बिग्रिदै गएको देखिन्छ |
हाल कुल गार्हस्थ्यउत्पादनको ३५% भन्दा केहीबढी कृषिबाट नै पूर्ति हुन्छ | तर साथ साथै, तीस
बर्ष पहिले सम्म चामल विदेशबाट आयात गर्ने नेपालले यस आर्थिक बर्षमा झण्डै ८
अर्बको त चामलनै आयात गर्ने अनुमान छ | खाध्द्यान्नमा हाम्रो परनिर्भरता हरेक बर्ष
यति बढ्दै गएको छ कि हरियो तरकारी नै नेपालले गत छ महिनामा रु २ अर्ब ५ करोडको भारतबाट
आयात गरेको छ, जो अघिल्लो बर्ष को भन्दा ६१%ले बढी हो र जसको उत्पादनक्षेत्र
सबैभन्दा बढेको (४१% बढेको) यो कृषि प्रतिबेदनले देखाएको छ | आर्थिक सर्वेक्षण
२०७० ले, कृषिबाट गार्हस्थ्य उत्पादनमा ३४% को योगदान पुगेको देखाउछ भने कृषि उत्पादनको
वृद्धिदर आर्थिक बर्ष २०६८/६९ मा ४.९% रहेकोमा २०६९/७० मा झरेर १.२% हुनपुगेको
देखाउछ | यस सर्वेक्षण अनुसार हाम्रो व्यापार घाटा ३.८ खर्ब पुगेको छ जो गतबर्ष
भन्दा २३.५% ले बढेको हो | यस घाटाको प्रमुख जिम्मेवार, खादयान्नको आयात हो जो गतबर्ष
हामीले करिब ४० अर्बको गरेको देखिन्छ | यसको अर्थ हो हाम्रो उत्पादनको बृध्दिदर
मागको बृध्दिदर भन्दा अत्यन्त कम छ |
गाउँघरमा पुग्नेहो भने पहिला खेती गरीएका जमिनहरु
बाँझै बसेका दृश्यहरु जताततै देखिन्छन् र शयौ मुरी अन्न फल्ने खेतहरु कित बाँझै,
कित तीन बाली उब्जनेमा एक बाली मात्र लगाएको भन्ने सुनिन्छ | कृषि मजदुर नपाईने,
ज्याला ज्यादै महगो भएको, आफ्नो परिवारको रेखदेखगर्ने बलिया मान्छे विदेश या शहर
पसेका, मल-बिउ लिन गाह्रो भएको, गुनासो नै यो कृषिको निराशजनक हुनुको कारणहुन् भन्ने
जताततै सुनिन्छ | आश्चर्यको कुरा यस्ता गाउँघरमा सामान्यतया: भेटिने लक्षणहरु यो कृषिको
प्रतिबेदनमा प्रतिबिम्बित भएका छैनन् | उदाहरणको लागि, यो प्रतिबेदनले “एउटै जग्गामा
कति बाली लगाईन्छ?” भन्ने तथ्यांकमा करिब दुई बाली लगायिने (१.८५ पल्ट) र यो दर
हिमाल,पहाड र तराई सबैतिर गत दश बर्षमा बढेको देखाउछ | खेती गरिने ग्रामीण भेगहरुमा
मजदुरको कमी भएको र त्यहाँका स्थानीय युवाहरु शहर या विदेश पलायन गरेको यथार्थ हो
| यस जनशक्तिको पलायन र विप्रेषणको पैसाले कृषिमा रुची घट्दै गएको पनि सत्य हो |
तर यो युवाशक्तिको पलायन र कृषिमा निराशाको एक प्रमुख कारण कृषि क्षेत्रमा सरकारको
उदासिनता र अक्षमता पनि हो | उत्पादकत्वमा कमी र धेरै समय दिदा पनि १२ महिना खान
नपुग्नु निराशाको प्रमुख कारण हो | यो प्रतिबेदन अनुसार कृषिमा संलग्न परिवार
मध्ये ६०% लाई आफ्नो उब्जनी ले पुग्दैन जसमध्ये ४४% लाई ४-६ महिना र २३% लाई ७-९
महिना खान पुग्दैन | समयमा बिउ/मल नपाउने, आकाशे सिंचाईमा नै निर्भर, नयाँ प्रविधिका
कृषिऔजार नभएको, कृषि बजारको अभाब, संकलन प्रणालीको अभाब तथा नयाँ बिउ-बिजन/खेतिका
प्रविधि/माटोको अम्लियताको अनुसन्धानको प्रभावहिनता- यि कमजोरीहरु दसौ बर्ष देखि
अनुसन्धानकर्ताहरुले औलाईरहेका कृषिमा बिद्यमान समयहरु हुन् | तर यो क्षेत्रमा
लगातार भईरहेको अधोगतीले देखाउछ कि सरकारको कृषि प्रतिको रुची केवल मन्त्रालय बनाउने,
जागिर ख्वाउने र टिप्पणी उठाउने औपचारिकता भन्दा धेरै माथि उठेको छैन | नेपाल
सरकारले बजेटको राम्रो हिस्सा कृषिलाई दिदै आएको छ | प्राय: बजेटको ५-७%(सिंचाई जोड्दा)
हिस्सा पाउने कृषि क्षेत्रको बजेट, गतबर्ष बाट दोब्बर बढाएर बार्षिक २१ अर्ब ४० करोड
पुह्राईएको छ | यसरी योजनाबद्द विकाश शुरु भएदेखिको ५० बर्षको हिसाबगर्दा कृषिमा करिब
१०-१५ खर्बको लगानी भईसकेको छ | यो तथ्यांक हेर्दा राज्यले कृषिमा गरेको खर्च
अब्यबस्थित र अबिबेकी भएको वा भनौ बालुवामा पानि खन्यायेको जस्तो मात्र देखिएको छ |
अहिले मोन्सान्टो जस्ता आनुवंशिक बिउको प्रोयोग-स्थल नेपाल भएको सनसनीखेज खबर चल्दा
सरकारी नीति र संयन्त्र कति निरिपेक्ष्य भएर कृषिप्रति उदासिन भै बसेका रहेछन् भन्ने
प्रष्ट्याउछ |
यि अधिकांश निराशका
तथ्यांकहरु को बिचमा केही व्यक्तिगत प्रयाशहरुको आशाजनक खबर पनि छापामा पढ्न पाउदा
यस क्षेत्रको भबिष्य त्यती निराशाजनक न भएको भान हुन्छ | जुनार, च्याउ,
रेन्बोट्राउट माछा, टनेलमा तरकारीखेती जस्ता कामबाट राम्रों कमाई गरिरहेका युवाहरुको
समाचारले ठुलो ताम-झाम र देशी-बिदेशी संस्थाको फेरो समातेर बनाईयेका १०/२० बर्षे कृषि
नीतिहरुमा हुंकार गरीरहेको सरकारलाई संदेश पुगेको हुनु पर्छ | यसैगरी नवलपरासीका
चन्द्रशर्माको अष्ट्रीच पालनको कथा छ जसले सन् २०२० सम्ममा रु.८७ अर्बको व्यापार
गर्ने हौसला देखाएका छन् | यस्तै, कृषि उपजलाई थोरै मात्र प्रशोधित गरी मुल्य अभिबृध्दि
गर्ने र लामोसमय भण्डारण गरी बढी मुनाफा गरिरहेका हरुको गाथा छ जसमा पुर्बोत्तर
संखुवासभाको हिन्वा वाईन, मार्फाको ब्रान्डी, जिरीको चीज, ईलामको चिया, गुल्मीको
उच्च-पर्बतिय कफी र गलैचा उधोगहरु पर्छन | यि यस्ता उदाहरण पनिहुन् जो नेपालको
बिशेष जलबायुमा आफ्नै खालको उत्पादनको रुपमा विश्वबिख्यात भईसकेका छन् | जस्तो, “नेपालको
उच्च-पर्बतिय-कफी संसारका अरु धेरै देशका कफीभन्दा एकदमै भिन्न छ” भनेर पारखीहरु
भन्छन् | हाम्रा यस्ता आफ्नैपना भएका कृषि उत्पादानको पहिचान गर्दैजानुपर्छ र
यसलाई अर्ध-प्रशोधित गरि कुन रुपमा विश्वबजारमा लानसकिन्छ त्यसको खोजि हुनुपर्छ | यसैगरी
हाम्रा यार्सागुम्बा, पाँचऔले, केशर, जटामाशी जस्ता बहुमुल्य जडिबुटीहरु जो प्राय:
नेपालमा मात्रै पाईन्छ हामी कच्चारुपमा सोझै बेचिदिछौ | यसबाट पनि केहीको घरबार त
चलेको छ तर सामान्य प्रशोधनगरि तेलको रुपमा बेच्दा यसबाट दशगुना बढी मूल्य पाईन्छ
र केहि बढी मान्छेहरुले रोजगारी पनि पाउछन् | यस्तो सामान्य प्रशोधनको लागि ठूलो
लगानी र प्रबिधिको आबश्यकता पनि पर्दैन |
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
No comments:
Post a Comment