Saturday, December 1, 2018

मौलिकता मास्दै पर्यटक बोलाउदै (नागरिक , मङ्सिर १६ २०७५)

Add caption

बजेट घाटा, भुक्तानी असन्तुलन, व्यापार घाटा, डलरसँगको गिर्दो विनिमयदर, मुद्रास्फिति, बेरोजगारी, विकास बजेटको दुर्बल स्थिति- आर्थिक सूचकांकमा कमजोरीको पराकाष्ठा छ। सबै आर्थिक सूचकाङ्क डरलाग्दोसँग बिग्रिएका छन् । सानो बजार, भूपरिवेष्टित, अझ भारतवेष्टित र अर्को छिमेकी चीनपट्टि दुर्गम हिमाली भूगोलले हामीलाई वैदेशिक वृष्टिछायाँमा धकेलेको छ। त्यसमाथि, हामी आफैँभित्रका कमजोरीहरूले पिल्सिएका छौँ। अल्पशिक्षा, स्वास्थ्य सेवामा सबैको पहुँच नपुग्न, कृषि या उद्योगबारे प्राविधिक ज्ञान कम हुनु, बाटोघाटोको असहजताले ठूलो जनसंख्या सरकारी सेवा र बजारको पहुँचबाट वञ्चित हुनु– जस्ता दीर्घकालीन हाम्रा समस्याहरूले हामीलाई पिल्साएको छ। अझ, अचेल बढ्दै गएको हाम्रो विकराल रोग बनेको छ– भ्रष्टाचार, अनुशासनहीनता र काम ठग प्रवृत्ति। अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण, तथ्यांक विभागको जीवनस्तर सर्वेक्षण, राष्ट्र बैंकको आर्थिक बुलेटिन, एसियाली विकास बैंक र विश्व बैंकहरूका आर्थिक प्रतिवेदनहरू, ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार बारेको विश्व प्रतिवेदन र युएनडिपी जस्ता संस्थाहरूबाट प्रकाशित हुने मानव विकास सूचकाङ्कमा देश दुरावस्थामा चित्रित छ।
इतिहास केलाउने हो भने हामी नेपाली इमानदार, मेहनती, कला र संस्कृतिको धनी जनता हौँ। हाम्रा घर र मन्दिर बनाउने कला तिब्बत हुँदै पूर्वी एसियाभरि फैलिएको हो। काठमाडौँ उपत्यका मात्र होइन, पूर्वको धरान, विराटनगर, जनकपुर हुँदै पाल्पा, दैलेख, मुस्ताङजस्ता ठाउँमा भेटिएका ऐतिहासिक सम्पदाले त्यहाँ संस्कृति र सभ्यताको विकास भएको तर कालान्तरमा त्यो जोगिन नसकेको प्रमाण दिन्छ। काठमाडौँ उपत्यकाको वर्णन त अनेकन् देशी विदेशीहरूले लिपिबद्ध गरेका नै छन् । अझ काठमाडौँको उत्तम सहरी विकासको नमुना- ढुंगेधारा, डबली, चोकहरू, ढलको व्यवस्थाले झल्किन्थ्यो जो केही दशक अघिसम्म पनि यथावत नै थिए, जसलाई आफ्नै आँखाले देख्ने धेरै मानिस अझै ज्युँदै छन्। हामी नेपाली अहिले आएर मात्र बिग्रिएको प्रमाण हुन् यी सबै। हामीलाई सम्भवतः पश्चिमी देशको हावाले बिगारेको हो। अर्थात् जेलाई उनीहरूले ‘विकास’ भने त्यही नै हो विकास भन्ने गलत बाटोमा अघि बढ्दा हामीलाई आजको यो ‘घरको न घाटको’ स्थितिमा पु-याएको हो। उदाहरणका लागि, एउटा परम्परागत गाउँले घरको सम्झना गराैं। खरले छाएको, सालको खाँवा भएको र माटोले लिपेको। यस्ता घर वातावरणमैत्री, वातानुकुलित हुन्थे तर लिपपोत गर्न र समय समयमा बाहिरी फेर्न मेहनत धेरै लाग्थ्यो। यसको सामान्य प्राविधिक प्रवर्धन गर्न सकेको भए त्यो दिगो र बढी स्वास्थ्यकर हुने थियो, अचेलको सिमेन्ट कंक्रिट र मार्बलको घरभन्दा बलियो। तर त्यसको प्रविधि सुधार्ने ज्ञान सिक्न हाम्रा प्रविधिज्ञहरू लागेनन्। बरु पाश्चात्य निर्माण र रासायनिक उपलब्धि सिक्नमा लागे जो यो देशका लागि उपयुक्त थिएन। आफ्नो भौतिक विकासले वातावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर परेको ठहर गर्दै अचेल पश्चिमी मुलुकहरू स्वयं आफ्ना सहरका बाटो–घाटो, घर, अफिस, मल, विमानस्थलहरू वातावरणमैत्री प्रविधि, रुख, बिरुवा, फूलले सिंगार्दै लगेका छन्। जुन कुरा अबको केही वर्षपछि हाम्रा प्रविधिज्ञले पनि उच्च शिक्षा भन्दै उतैबाट पढ्नेछन्।
देशको हालको स्थिति हेर्दा उपलब्धि केवल तीन चिजले दिन सक्छ। कृषिमा प्रविधिको प्रयोग। सिँचाइका लागि पानीको उपलब्धता, उन्नत बिउ र आधुनिक औजार। दोस्रो, हिमाललाई जोगाउँदै गरिने जल उपयोग हो। मुख्यतः मध्य पहाडी क्षेत्रमा जलाशययुक्त विद्युत् परियोजनामा निर्मित जलाशयको सिँचाइका नहरहरूबाट मध्य–पहाडी र तराईका क्षेत्रको कृषिमा टेवा र उत्पादित विद्युत्बाट वातावरणीय विनाश रोक्ने डिजेल, पेट्रोलमा आधारित यातायात र उद्योगको प्रविधि प्रयोग गर्ने। र, समृद्धिको तेस्रो र सबैभन्दा सहजपूर्ण ढंगले गर्न सकिने गोरेटो हो, पर्यटनको उचित प्रवर्धन।
संसारभरि अहिले घुमन्ते संस्कृति बढेको छ। आफ्नो जुनीमा हिमाल शृंखला हेर्ने, सगरमाथा चढ्ने, नेपालका मनोरम ताल, डाँडाकाँडा हेर्ने या लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरको धार्मिक पर्यटन गर्ने धोको संसारका धेरै धनाढ्यहरूको भएको बुझिन्छ। तर हाम्रो क्षमता सीमित छ। आउन खोज्ने जति पर्यटकलाई ल्याउन सक्ने क्षमता नै हामीसँग छैन। जब कि, यो क्षमता र वातावरण बढाउन हाम्रो देशमा सहज छ जसमा ध्यान पु¥याइएको छैन। सहज यसकारण कि बैंङ्कक, सिंगापुर जस्तो हामीले कृत्रिम मनोहरता बनाउनुपरेको छैन। प्रकृतिले दिएको सम्पदा हामीसँग यथेष्ट छ। केवल बस्ने बास र पुग्ने बाटो, यातायातका साधनको व्यवस्था गर्नु जरुरी छ। अनि जरुरी छ, सञ्चार र सुरक्षाको व्यवस्था, जो त्यति गाह्रो कुरा होइन।
तथ्यांकले देखाउँछ गएको झन्डै तीन दशकमा पर्यटनको स्थिति सुधार्न हामीले धेरै गर्नसकेका छैनौँ। पर्यटकको संख्या सन् १९९१ मा झन्डै तीन लाखबाट तीन गुना थपिएर नौ लाख पुगेको देखिन्छ तर राष्ट्रिय उत्पादनमा (जिडिपीमा) यसको योगदान सधैं २ देखि ३ प्रतिशतबाट माथि उठेको छैन। भिजिट नेपाल २०२० का लागि १५ लाख पर्यटक भित्र्याउने लक्ष्य थियो। हालै चिनियाँ ट्राभल एजेन्सीसँगको संयुक्त विज्ञप्तिमा सरकारले यो लक्ष्य बढाएर २० लाख पर्यटक भित्र्याउने बनाएको छ। यो लक्ष्य नै कम हो, त्यसमा पनि हाम्रामा पर्यटक झोले, स्टोभे (आफ्नो खाना आफैँ बनाउन बसमा स्टोभ नै बोकेर आउने खालका) बढी देखिन्छन्। विदेशीले भन्दा अन्तरिकले बढी खर्च गरे भन्ने पोखरा लगायतका पर्यटकीय स्थलमा सुनिन्छ। अन्तरिक पर्यटन वृद्धि हुनु पनि राम्रै हो तर विदेशी मुद्रा र आयका लागि हामीलाई चाहिने विदेशी र स्तरीय पर्यटक नै हुन्। श्रीलंका पर्यटनका लागि त्यति आकर्षित गर्ने देश होइन। ‘लोन्ली प्लानेट’ जस्ता पर्यटन व्यवसायी संस्थाका सूचीमा नेपाल धेरै वर्षदेखि मथिल्लो स्तरमा रहेको देखिन्छ भने श्रीलंका आकर्षणको निम्न मध्यम सूचीमा मात्र पर्छ। तर पनि श्रीलंकाको समुद्रतटले गत वर्ष मात्रै झन्डै २१ लाख पर्यटक भित्र्याएको देखिन्छ। यस्तै अर्को हाम्रो नजिकको देश, मलेसियाले गत वर्ष मात्र २ करोड ६० लाख जति पर्यटक भित्र्याएको देखिन्छ। मलेसियामा पर्यटक औसत ५.७ रात बस्छन् र प्रतिव्यक्ति प्रतिदिन १३२ डलर बराबरको खर्च गर्छन्। नेपालमा पर्यटकको बसाइँ लामो देखिन्छ, सन् २०१७ मा औसत १२.६ रात। तर ज्यादै कम खर्च गर्ने खालका, प्रतिव्यक्ति प्रतिदिन केवल ५४ डलर। बस्ने थलोको तुलना नै गर्दा, मलेसियामा झन्डै ४८३ लाख ओछ्यान भएका ५० लाख होटेल पर्यटकका लागि उपलब्ध छन्, भने नेपालमा मात्र ४० हजार ओछ्यान भएका ११ सय होटेल। सुविधायुक्त होटेलको कमी नेपालमा खड्किन्छ।
हाम्रो पर्यटन उद्योगको ज्यादै राम्रो पक्ष ‘होमस्टे’ देखिन्छ। यसबाट जनता पर्यटनमा सोझै जोडिन्छन्। यसले गरिबी निवारणमा ठूलो सहयोग गर्छ। यस्ता घर अतिथिलाई दिनेले कोठाबाहेक उसको करेसाबारीको तरकारी, छिमेकीको अन्न र स्थानीयका हस्तकलासम्मको आय आर्जन गर्नसक्छन् जसबाट केही ठूलो होटल व्यवसायीको भन्दा धेरै सामान्य ग्रामीण परिवारको गुजारा चल्छ। पर्यटन मन्त्रालयको तथ्यांकअनुसार हाल सामुदायिक र निजी गरेर जम्मा २८३ घरमा ९४८ कोठाहरू पर्यटकलाई स्वागत गर्नसक्ने स्थितिमा रहेको देखिन्छ। मन्त्रालयको यसै तथ्यांकलाई हेर्दा गत एक वर्षमा यस्ता ५० कोठा पनि थप्न सकिएको रहेनछ। सरकारले यस्ता होमस्टे थलोहरूको विस्तारका लागि स्थानीय सरकारसँग हातेमालो गर्न जरुरी छ। विदेशी पर्यटकले न्यूनतम कस्ता सुविधा खोज्छन् र केमा रमाउँछन् भन्ने ज्ञान पर्यटन मन्त्रालयले स्थानीय सरकारको माध्यमबाट सम्भाव्य गाउँ–बस्तीमा पु-याउनु पर्छ र आवश्यक सहयोग गर्नुपर्छ। यस्ता होमस्टे चलाउनेलाई सरसफाइ र सुरक्षित शौचालयको बारेमा जानकारी दिनुपर्छ र त्यहाँ सौर्य ऊर्जाबाट बत्ती बाल्ने, पानी तताउने र इन्टरनेट चलाउने सुविधा पर्यटकलाई दिन सक्नुपर्छ। यसका लागि स्थानीय सरकारलाई जागरूक गराउन जरुरी छ। प्राकृतिक छटाले भरिपूर्ण हाम्रो देशका लागि कम लगानीमा तुरुन्तै गर्न सकिने र स्वरोजगारीको ठूलो सम्भावना बोकेका छन् यस्तै होमस्टेले र केही मध्यम लगानीका स्तरीय पर्यटन व्यवसायले। त्यसैले समृद्धिको हाम्रो आशा यतैबाट सम्भव हुने देखिन्छ।

No comments:

Post a Comment