Tuesday, July 21, 2020

कोरोनाको सकारात्मक प्रभाव(कारोबार दैनिक श्रावण ७ २०७७)

गाडीहरू ज्यादै कम चलेकाले वातावरणको प्रदूषण अत्यन्त घटेको र मानव स्वास्थ्यमा राम्रो असर परेको तथ्य यो घरबन्दीको अर्को सकारात्मक पक्ष हो ।

कोरोनाले विगत ६ महिनादेखि संसारभरि आतंक फैलाएको छ । सवा करोड मानिस संसारका विभिन्न देशमा यसबाट संक्रमित भएका र झन्डै ६ लाख मरेका छन् । अझ यसबाट बढी आक्रान्त हुनेहरूमा अमेरिका, इटाली, स्पेन, बेलायतजस्ता विकसित देशहरू नै छन् । अझै पनि यो रोगका कीटाणुबारे वैज्ञानिकहरूले पूरा नबुझेको रहस्यमय स्वभावका नै देखिन्छन् । विश्व स्वास्थ्य संगठन स्वयम् नै बेलाबेलामा भ्रमित भएको अभिव्यक्ति दिने गर्छ, जस्तो ः कहिले यो कीटाणु हावाबाट सर्छ भन्छ, कहिले सर्दैन भन्छ, कहिले यो जनावरबाट सर्छ भन्छ, कहिले सर्दैन भन्छ ।
अहिले विश्वका झन्डै ५० जति औषधि विज्ञानका प्रयोगशालाहरूमा कोरोनाको खोपको परीक्षण धमाधम चल्दै छ । बेलायत, रूस, अमेरिका र चीनका वैज्ञानिकहरूले यसको खोपको परीक्षण अन्तिम स्तरमा पुगेको र चाँडै नै यसको औषधि बजारमा आउने चर्चाले विश्व समुदायमा यसको भय घटेको अनुभव भएको छ । अमेरिकाका प्रमुख सरुवा रोगका विशेषज्ञ डाक्टर फाउचीले पनि अक्टुबर या नोभेम्बरको अन्त्यसम्ममा यसको खोप बजारमा आउने अनुमान गरेका छन्, जसले आशा पलाएको छ ।

अरु सरुवा रोगको दाँजोमा कोरोनाको संक्रमण दर कम छ र मृत्युदर झनै कम छ । वोर्डोमिटरका अनुसार, विश्वका हाल संक्रमितमध्ये १ प्रतिशत मात्र चिन्ताजनक स्थितिमा छन् भने पुराना संक्रमितहरूमध्ये ७ प्रतिशतमात्र मरेका छन् । नेपालमा त अहिलेसम्ममा यसबाट ३९ जना मरेको देखिन्छ र त्यसमा पनि सबै कोरोनाले नै मरेको भन्ने पुष्टि हँुदैन । फेरि यो ६ महिनाको अवधिमा जति कोरोनाले नेपालमा मरेका छन् त्योभन्दा बढी जनता यो असार एक महिनाको बाढीपहिरोले नै मरेका छन् भने चैत ११ देखि जेठसम्ममा नै ११ सयले आत्महत्या गरेका छन् । तर, कोरोनाको त्रास बढी छ । व्यापार, व्यवसाय, उद्योग, कृषि सबै यसको निहुँमा चाउरिएका छन् ।
नेपालजस्तो देशमा कोरोनाको प्रभावले भयावह आर्थिक परिणाम ल्याउने चित्रण गरिने गरिएको छ । तर, यथार्थमा यसले राष्ट्रिय अर्थतन्त्रमा अनेक सकारात्मक प्रभावसमेत पारेको विभिन्न तथ्यांकहरूले देखाउँछ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६-०७७ को ११ महिनाको तथ्याङ्क असार मसान्तमा सार्वजनिक गरेको छ, जसअनुसार यो अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचत भएको देखिन्छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको थियो । यो सुखद परिणाम गत ४ महिनाको कोरोनाले ल्याएको बन्दीको परिणाम नै हो भन्न सकिन्छ । आव २०७६-७७ को ११ महिनामा देशको आयात ५.७ प्रतिशत घटेको र निर्यात १२.९ प्रतिशत बढेको छ । यो देशका लागि अत्यन्त सकारात्मक हो । बन्दीले सबैभन्दा बढी पेट्रोलियम पदार्थको मागमा कमी देखिएको छ । यसको बढ्दो आयातबाट नै व्यापारघाटा सधैं अकासिने गरेको थियो । राष्ट्र बैंकका अनुसार गत वर्षको ११ महिनाको तुलनामा यो वर्षको ११ महिनामा पेट्रोलियमको आयात १२ प्रतिशतले घटेको छ भने मोटरसाइकल र गाडी तथा यसका पार्टपुर्जाको आयातमा २४ प्रतिशतले गिरावट आएको छ । गाडीहरू ज्यादै कम चलेकाले वातावरणको प्रदूषण अत्यन्त घटेको र मानव स्वास्थ्यमा राम्रो असर परेको तथ्य यो घरबन्दीको अर्को सकारात्मक पक्ष हो ।
यही उचित समय हो सरकारलाई— साझा, मयूर, सुन्दरजस्ता सार्वजनिक यातायातका ठूला बस र विद्युतीय साधनलाई अझै प्रवद्र्धन गर्दै साना मिनी-माइक्रो बसजस्ता साधनलाई विस्थापित गर्दै जाने । त्यसैगरी अहिले प्रदूषणको प्रमुख कारण र देशको सम्पत्ति विदेश जाने प्रमुख खर्च देखिएको निजी सवारी साधनहरूको खरिदका लागि वार्षिक कोटा र बन्देज लगाउँदै निरुत्साहित गर्न सरकारका लागि उचित बेला हो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार त जेठमा मूल्य वृद्धिदरसमेत घटेको देखाएको छ । २०६७ जेठमा उपभोक्ता मूल्य वृद्धिदर ४.५४ प्रतिशत छ, जो अघिल्लो वर्षको सोही महिनामा ६.१६ प्रतिशत थियो ।
अहिले थोरै भए पनि स्वदेशको तरकारी उत्पादन बढेको छ, किनकि केही महिना भारतले नै आफ्ना यातायातहरू सबै बन्द ग¥यो । यो वर्ष कृषिमा केही राम्रो उत्पादन हुने आशा गर्न सकिन्छ, जसको श्रेय कोरोनालाई पनि जान्छ । यो वर्ष अरू वर्षको दसैंतिहारमा समेत देश नफर्कने गाउँले नेपालीहरू ठूलो संख्यामा देश फर्के, मुख्य भारतबाट । र, त्यतिखेर गाउँमा अन्न रोप्ने बेला परेको थियो । यो वर्ष भाग्यवश वैशाखदेखि नै वर्षा हुन थालेको पनि थियो । यी सबैको परिणाम यो वर्षको अन्न उत्पादनमा वृद्धि देखिने निश्चित छ । तर, धेरैले सुझाव दिँदा पनि सरकारको बेवास्ताले यसरी गाउँ फर्किएका कृषकहरूलाई देशमा नै अड्याउने सुनौलो मौका भने देशले गुमायो । कृषिमा आर्थिक प्याकेज र सहुलियत ऋण दिने घोषणा गरेको भए विदेशमा पनि सास्ती नै खाएका भुक्तभोगीहरूमध्ये केही भए पनि देश फर्केका गाउँलेहरू गाउँमा नै बस्न सक्थे, कृषि उत्पादन बढाउँदै र देशको व्यापारघाटा घटाउँदै । तर, त्यति बेला सरकार मास्क र टेस्ट किटबाट कमाउनमा नै व्यस्त बन्यो, या त भारतले कहिल्यै नछोड्ने कालापानीको चुच्चे नक्सा कोरेर आत्मरति गर्नमा, या सरकारको कुर्सी टिकाउने छक्कापन्जामा ।
भारतीय केन्द्रीय बैंकको प्रतिवेदनले देखाउँछ, जति नेपालीले भारतबाट विप्रेषणको कमाइ भित्र्याउँछन्, त्यसको तीन गुना बढी विप्रेषण भारतीयहरूले नेपालबाट लग्छन् । गत वर्ष भारतबाट १ अर्ब डलरको विप्रेषण नेपाल आएको थियो भने ३ अर्ब डलर विप्रेषण नेपालबाट भारत गएको थियो । यसरी नेपाल भित्रिएको विप्रेषणको पनि ८०–८५ प्रतिशत आफ्नो देशमा खाने वस्तुको उब्जनी नहुने भएकाले भारत या अन्य देशबाट मगाउन बाहिरिने गर्छ । यो बुझ्दाबुझ्दै पनि देशका योजनाकार युवाहरूलाई रोजगारीका लागि विदेश पठाउन नै उद्यत देखिन्छन्, जुन आश्चर्यको विषय हो । यो बिदेसिने क्रमभंग गर्ने अवसर कोरोनाले दिएको थियो, जसलाई यसपल्ट पनि उपयोग गर्न चाहिएन ।
देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो महत्व मानिँदै आएको छ, यद्यपि यसको ठूलो हिस्सा खाद्यान्न र अन्य विलासिताका सामग्रीको आयातमा फेरि बिदेसिने गरेको त छँदैछ । धेरै बिदेसिएका नेपाली श्रमिक नेपाल फर्के । तर, समाचार हेर्दा थाहा हुन्छ, त्यसमा अधिकांश भारतबाट आउनेहरू थिए । मलेसिया, कुबेत र कतारजस्ता तेस्रो मुलुकहरूबाट अनेक कारणले नेपाली त्यति फर्केनन् । नेपालमा हवाई यातायात बन्द भएकाले, चार्टर गर्दा महँगो पर्ने हुनाले, देश फर्केपछि पनि दुई हप्ता महँगोमा क्वारेन्टाइनमा बस्नुपर्ने खबरले र यो अन्योलमा नै बितेको समयमा आफू काम गरिरहेको देशमा कोरोना घट्न थालेकाले फेरि मजदुरको आवश्यकता देखिएकाले उतै बसे । त्यसैले राष्ट्र बैंकको प्रतिवेदनमा यो ११ महिनामा गत वर्षको तुलनामा विप्रेषण झिनो अनुपात अर्थात् १.७ प्रतिशतले घटेको होइन, बढेर कुल विप्रेषित रकम ५.१९ अर्ब डलर भएको देखिन्छ ।
कोरोनाले सबैभन्दा बढी असर गरेको क्षेत्रका रूपमा पर्यटनलाई लिइन्छ, जुन सही हो । सन् २०२० लाई भ्रमण वर्ष घोषित गरिएकाले यस क्षेत्रमा लागेका उद्योगीहरूले आफ्नो लगानी र क्षमता बढाएका थिए । कैयौं नयाँ होटल, रिसोर्टसमेत बनेका थिए । ठूलो लगानी यहाँ भएको थियो । चिनियाँ पर्यटक नै मुख्य लक्षित गरिएकाले चिनियाँ मोडललाई समेत ल्याएर प्रचार गरिएको थियो । तर, दुर्भाग्यवश पहिलो कोरोनाको प्रकोप चीनबाटै सुरु भयो, अघिल्लो वर्षको डिसेम्बरबाट नै । फलस्वरूप हाम्रो पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो असर प¥यो । हजारौंको रोजगारी गुम्यो । यो दुःखद मानवीय पक्ष हो । तर, समग्र अर्थतन्त्रमा पर्यटनको योगदान सधैं नगन्य हुने गरेको छ । गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान २.५ प्रतिशतभन्दा बढेको छैन । गत वर्ष यसको योगदान केवल १.५ प्रतिशत थियो । यसको अर्थ, सम्पूर्ण पर्यटन उद्योग धराशायी भएमा समेत देशको अर्थतन्त्रमा न्यून मात्र असर पर्छ ।

निचोड
कोरोनाले गर्दा भएको बन्दीले संसारका अन्य ठाउँमा जस्तै नेपाललाई पनि असर गरेको छ; तर हाम्रो देश ठूला उद्योग–व्यापारमा बाँचेको देश होइन । हामी विदेशमा कमाइएको विप्रेषण, विदेशी अनुदान र यताको सामान उता पठाउने गोरखधन्दा (पामआयल र भटमासको तेलजस्ता) मा मात्र बाँचेका हौं । यी प्रक्रियाहरूमा खासै ठूलो ह्रास कोरोना कालमा पनि आएको छैन । राष्ट्रिय अर्थतन्त्रमा ठूलो असर परेको छैन । बरु यो बेलामा धेरै विदेशी मुद्रा खर्च हुने पेट्रोलियममा ठूलो बचत भएको छ । गाडीको आयात, रक्सीको आयात र सुनको आयातमा बचत भएको छ । देशमा तरकारीको उत्पादन बढेको छ । केही घरेलु उत्पादनको निर्यात बढेको छ । यसलाई देश विकासको अवसर बनाएर कृषि उत्पादन बढाउनमा जोड दिने र महँगा गाडीजस्ता विलासी सामग्रीको आयातमा नियन्त्रणमुखी नीति अपनाएर आउँदा दिनमा सुखसँग बाँच्ने नीति हामीले लिनुपर्छ ।

No comments:

Post a Comment