Wednesday, October 10, 2018

फोहोरको दिगो समाधान नयाँ डम्पिङ साइट होइन (कारोबार आश्विन २४, २०७५)

यसको दिगो समाधान प्रविधिको प्रयोग गरी फोहोरलाई पुनः प्रयोग गरिनु नै हो, जस्तो अचेल सबै विकसित राष्ट्रमा गरिन्छ ।
फोहोर ब्यबस्थापनको दिगो समाधान

उपत्यकाका सहरहरू फोहोर थुप्रिएर दुर्गन्धित बनेका छन् । कतिपय टोलमा त घरबाट फोहोर नउठाइएको महिनौ भयो । घरघरमा, बाटोका छेउछाउमा, सार्वजनिक जग्गामा, नदी–खोलामा— सबैतिर फोहोरका ह्रास देखिन्छन् । यो उपत्यकालाई प्रायः समाउने रोग हो । घरघरबाट उठिरहेको फोहोर अचानक महिनौं उठ्न बन्द हुँदा आफ्नै घरमा बसेकालाई समेत फोहोर व्यवस्थापनको वैकल्पिक उपाय नहुँदा ठूलो समस्या भोग्नुपर्छ्र । झन् केही कोठा भाडामा लिएर डेरामा बस्नेहरूलाई यस्तो बेला फोहोर कहाँ थुपार्ने भन्ने चिन्ताले रातको निद्रा हराउने गर्छ । थुपारिएका फोहोरले दुर्गन्ध मात्र बढाउने होइन, यसबाट सहरवासीलाई रोगको संक्रमण पनि हुने गर्छ्र । साथै यसले नदीनाला र खानेपानीको स्रोतसमेत प्रदूषित पार्छ ।
काठमाडौँ मात्र होइन, नेपालका प्रायः सबै सहरका रूप अचेल यस्तै हुँदै गएका छन् । डाँडापाखा घुम्दै हिँड्ने पर्यटक, बाटोमा फोहोर र गन्ध बढ्दै गएपछि अब सहर नजिक आइपुगिएछ भनेर बुझ्छन् भन्ने कथन छ रे नेपालमा । यस्तो फोहोरले सहरको रूप त बिगारेको छ नै, सरुवा रोग फैलिने ठूलो सम्भावना पनि बढाएको छ । बर्खामा जमिनभित्र पस्ने पानी, बग्ने खोलानाला प्रदूषित हुने र फालिएका प्लास्टिकले ढल निकास रोकिएर बाटोघाटो घर–पसल जलमग्न हुने समस्या बढ्दै गएको छ ।
काठमाडौं उपत्यकामा फोहोर नउठेर चोक, गल्ली र सडकमा डंगुर लाग्दा पनि नगरपालिकाहरूले यसको व्यवस्थापनको भरपर्दो विकल्प दिन सकेका छैनन् । सहरहरूमा फोहोरको यो दुर्गतिको मुख्य कारण सहरमा अत्यधिक बढेको जनसंख्या, अव्यवस्थितसँग भएका बस्ती विस्तार र कमजोर फोहोर व्यवस्थापन नै हो । योसँगै जोडिएको समस्याको अर्को प्रमुख कारण भने फोहोर व्यवस्थापन अर्थात् पुनर्प्रयोगको सोच सहरी विकासमा नदेखिनु हो । अहिलेको मितिमा काठमाडौँमा मात्र होइन, पोखरा, विराटनगर, नेपालगन्जजस्ता दशकौं पहिले बनेका सहरहरूमा र नयाँ बन्दै गरेका नगरहरूमा पनि फोहोरको पुनर्प्रयोगको कुनै सोच बनाइएको देखिन्न । फलतः फोहोरको समस्या नेपालका सबै सहरको सामुहिक र अनियन्त्रित हुँदै गएको देखा पर्दै छ ।
काठमाडौँ उपत्यकाकै कुरा गर्दा, भक्तपुरबाहेक अन्य सबै १० नपाले संकलित फोहोर सिसडोलमा फाल्ने गरेका छन् । यसरी हरेक दिन करिब ८ सय मेट्रिक टन फोहोर सिसडोलमा फाल्न लगिन्छ । सरकारले २०६२ बाट सिसडोलमा फोहोर फाल्न थालेको हो, जुन अबको तीन महिनामै भरिने अनुमान गरिन्छ । बन्चरेडाँडालगायत अनेकन नयाँ ठाउँमा डम्पिङ साइट बनाउने योजना छ, तर गएको १३ वर्ष बित्दा पनि न नयाँ ठाउँमा फोहोर थुपार्न पाइएको छ, न स्थानीयका अवरोध र अन्य प्राविधिक कारणले बेलाबेलामा फोहोर फाल्न अवरोध हुन छाडेको छ ।
फोहोर व्यवस्थापनको भरपर्दो समाधान नयाँ डम्पिङ साइट भेट्टाउनु या वनाउनु होइन, जसलाई सहरी विकासले अझै आफ्नो प्राथमिकतामै राखेको छ । दिगो समाधान, यस्तो विधि अपनाउनु हो जसमा फोहोर जम्मा गरिने स्थलको फोहोर नियन्त्रित या शून्य मात्रामा नै बसोस् र त्यहाँ नजिकका जनतालाई जल–थल–वायु प्रदूषणको समस्या पनि खेप्न नपरोस् । त्यसको अर्थ, हामीले फोहोरको पुनर्प्रयोगको विधि अपनाउनु हो, जसबाट अधिकतम मात्रामा त्यस्ता फोहोरको प्रयोग अन्य उपयोगी बस्तु बनाउन गर्न सकियोस् । गन्ध निस्किने खुला डम्पिङ साइटको प्रदूषणले नजिकका बासिन्दाको जीवन कष्टपूर्ण हुने र स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने हुनाले प्रभावित जनताले नजिकका त्यस्ता डम्पिङ साइटको विरोध गर्नु स्वाभाविक नै हो । नयाँ डम्पिङ साइट भेटिए पनि यो समस्या पुनः आउँछ नै । वर्षौं पहिले काठमाडौँको टेकुमा जर्मन सहयोगमा रिसाइक्लिङ प्लान्ट बनाएको थियो, जसको प्रयोग उचित ढंगले हुन नसक्दा दुर्गन्धपीडित स्थानीयहरूको विरोधले यो प्लान्ट बन्द भयो । पुनः त्यसै ठाउँमा दुई वर्षअघि, जापानको प्रविधि प्रयोग गरी एउटा ट्रान्सफर्मर स्टेसन बनाइएको छ, जसले ३ सय मेट्रिक टन फोहोरबाट करिब १४ किलोवाट विद्युत् उत्पादन गर्ने सफल प्रयोग गरेर देखाएकोे छ । तर यसको निरन्तरता या विस्तार भने हुन सकेको छैन, तसर्थ उपत्यकाको फोहोरको समस्या ज्युँदै छ ।
दिगो समाधान कसरी ?
यसको दिगो समाधान प्रविधिको प्रयोग गरी फोहोरलाई पुनः प्रयोग गरिनु नै हो, जस्तो अचेल सबै विकसित राष्ट्रमा गरिन्छ । यसका लागि हामीले थुपार्ने सहरको फोहोरको संरचना र यसका कुना कुन भाग के–कस्ता प्रकारले हामीलाई नै उपयोगी हुने वस्तु उत्पादन गर्न सकिन्छ भन्ने ज्ञान हुनु आवश्यक छ ।
सिंगापुरमा जमिनको ज्यादै कमी छ । झन्डै काठमाडौँ उपत्यकाको आकारको ७ सय वर्गकिमि भएको यो देशमा करिब साढे ५० लाखको बासोबास छ अर्थात् काठमाडौँ उपत्यकाभन्दा दोब्बर जनघनत्व । तसर्थ यो देशका लागि ठूलो ल्यान्डफिल्ड साइटको सम्भावना छैन । त्यसैकारण फोहोर व्यवस्थापनका लागि विशेष भट्टी बनाइएको छ, जसले दैनिक ८ हजार २ सय टन सहरी फोहोरको ९० प्रतिशत पचाएर ९ सय घरलाई पुग्ने २५ सय मेगावाट इन्धन उत्पादन गर्छ । यहाँ आफ्नो घरको गल्ने फोहोर आफैं व्यवस्थापन गर्नेलाई सरकारले विशेष सुविधा पनि दिन्छ । डेनमार्कले प्रत्येक काँच र प्लास्टिकका बोतल मेसिनमा लगेर फाल्नेको क्रेडिट कार्डमा पैसा थप्ने व्यवस्था गरेको छ । स्वीडेनका सहरहरू शून्य फोहोरमा आधारित छन् । स्वीडेनले फोहोरबाट ठूलो मात्रामा इन्धन उत्पादन गर्ने प्लान्ट खडा गरेपछि वार्षिक २० लाख टन फोहोर यसलाई चाहिने भयो, जुन देशमा नपुगेपछि अचेल उसले छिमेकी मुलुकबाट ८ लाख टन फोहोर वार्षिक आयात गर्दैछ ।
सन् २०१३ मा एडीबीले नेपालका त्यसबेलाका ५८ नपामा गरेको अध्ययनमा सहरी फोहोरको ५६ प्रतिशत गल्ने जैविक फोहोर, १६ प्रतिशत नगल्ने प्लास्टिक, १६ प्रतिशत कागज र बाँकी १२ प्रतिशत फलाम, सिसा जस्ता वस्तु हुने गरेको जनाएको थियो । यस हिसाबले अहिले उपत्यकाबाट दैनिक निस्किने फोहोरमा करिब साढे ४ सय मेट्रिक टन गल्ने जैविक फोहोर हुन्छ । टेकुको ट्रान्सफर्मर स्टेसनजस्तै प्रविधि सहरको बाहिरी भाग, जहाँ नजिक बस्ती पातलो छ, जस्तो सिसडोलमै स्थापना गर्न सके र त्यस प्लान्टको क्षमता बढाएर दैनिक ६ देखि ८ सय मेट्रिक टनको खपत हुन सक्ने बनाउन सके आउँदो दशकसम्मलाई काठमाडौँको आधाभन्दा बढी फोहोरको समस्या समाधान हुने देखिन्छ । विकसित देशमा यस्ता गल्ने फोहोरबाट बिजुली, पकाउने ग्यास र जैविक मलसमेत बनाइन्छ, जुन प्रविधि हामी पनि प्रयोग गर्न सक्छौं ।
विकसित देशहरूमा जस्तै हाम्रा नपाहरूले चार थरीका फोहोरका लागि भिन्दाभिन्दै फाल्ने ढ्वाङ टोलका ठाउँठाउँमा राख्न र हरेक दिन बिहान सबै ढ्वाङबाट फोहोर उठाउन सक्नुपर्छ । अहिले रिसाइक्लिङ गर्नुअघि फोहोर छुट्ट्याउनु नै रिसाइक्लिङ प्लान्टका लागि ठूलो टाउको दुखाइ हुने गरेको छ । त्यसैले स्थानीय स्तरमै यसरी फोहोर छुट्ट्याइए त्यसको बदलामा ढ्वाङको व्यवस्था र फोहोर संकलनको व्यवस्थापकीय तथा आर्थिक सबै जिम्मा नपाहरूले आफैं लिनु उचित हुनेछ ।
काठमाडौं उपत्यकामा फोहोरजन्य प्लास्टिक नै दैनिक १३० देखि १५० मेट्रिक टन निस्किन्छ । यो नगल्ने र जलाउँदा कार्बन मोनोअक्साइडजस्ता जहरिलो ग्यास निकाल्ने हुनाले यसको व्यवस्थापन संसारभरि नै चुनौतीपूर्ण मानिन्छ । भारतका इन्जिनियर राजगोपालन वाशुदेवनले सन् २००२ मा प्लास्टिक फोहोर जलाएर वायु प्रदूषण गर्नुको साटो त्यसलाई अल्कत्राको स्थानमा प्रयोग गर्दै बाटो कालोपत्रे गर्ने नयाँ प्रविधि विकास गरेका छन् । यस्ता ‘प्लास्टिक सडक’ अहिले भारत, केन्या, घाना, हल्यान्ड, अस्ट्रेलियाजस्ता धेरै देशमा बिस्तारै प्रयोग हुन थालेका छन् । भारतमा राँची, बोखारो, जमशेदपुर, धनबादजस्ता सहरहरूमा गरी २ हजार किमिभन्दा लामा यस्ता बाटा बनिसकेका छन् । यस्ता कालोपत्रेको विशेषता भनेको सस्तोमा बन्ने, पानीले नबिगार्ने, एकदमै छिटो समयमा बन्न सक्ने र सबैभन्दा राम्रो कुरा, यो फालिएको नगल्ने फोहोरको सदुपयोग गरेर बन्ने हो ।
नेपालमा पनि हालसालै पोखरामा यसै प्रविधिबाट सानो नमुना ‘प्लास्टिक सडक’ बनाइएको छ । यसको अनुभव र सिकाइलाई परिमार्जित गरी सहरी सडक निर्माणमा यो प्रविधि अपनाउनु नेपालका लागि अत्यन्त उपयोगी हुनेछ । भारत सरकारले सन् २०१५ मा सडक विभागका लागि यस्ता फोहोरको उपयोग गरेर बन्न सक्ने ठाउँमा अनिवार्य यसको प्रयोग गर्नुपर्ने नियम वनाएको छ, जसबाट यो प्रविधिको उपयोगिता प्रस्टिन्छ । भारतीय इन्जिनियरिङ जर्नलमा सन् २०१७ मा प्रकाशित एक अनुसन्धानअनुसार परम्परागत प्रविधिले बनाइने अल्कत्रा सडकको दाँजोमा प्लास्टिक सडक बनाउँदा प्रतिकिमिमा भारु ३ लाख २० हजार कम खर्च हुने पत्ता लगाएको छ, अर्थात् हामीले काठमाडौँबाट केरुङसम्मको १ सय ७५ किमि सडक बनाउन यो प्रविधि अपनाउँदा अन्य फाइदाका साथै लागत करिब ९ करोड कम लाग्नेछ । यस्ता प्रविधिको निःशुल्क तालिम वासुदेवन इन्स्टिच्युटले दिने गरेको छ, जुन हाम्रा सडक इन्जिनियरहरूले लिन सक्छन् ।
सहरी फोहोरको झन्डै एकतिहाइ भाग कागज, सिसी–बोतल र फलाम हुने गर्छ । कागज र सिसी–बोतल घरघरबाट संकलन गर्न साइकलमा आउने हामी सबैले देखेका छौ, अर्थात् यस्ता फोहोर सजिलै पुनः प्रयोग हुने वस्तु हुन् । पुरानो कागजको पुनः प्रयोगले सामान पोको पार्ने बट्टाहरू बनाउन सकिन्छ, जुन अहिले भारतबाट आयात गरिन्छ । त्यस्तै अधिकांश नफुटेका सिसी–बोतल नेपालमै पुनप्र्रयोग हुँदै आएका छन् ।
यसरी सहरमा जम्मा हुने फोहोरको ९५ प्रतिशत हिस्सा, सामान्य प्रविधिको प्रयोग र छुट्टै संकलनको व्यवस्थापनले सजिलै सम्भव छ, जसले नयाँ फोहोर फाल्ने ठाउँको खोीज, त्यहाँसम्म पुग्ने बाटो तथा अन्य पूर्वाधारमा गरिने खर्च भन्दा किफायतमा दिगो समाधान दिन्छ । सिसडोलमा हरेक दिन काठमाडौँ नपाले मात्रै रु. १ लाख खर्च गर्ने गरेको छ भने बन्चरेडाँडाको जग्गा अधिग्रहण र भौतिक निर्माणका लागि १ अर्ब खर्च लागिसकेको छ । त्यसैले नयाँ नपाहरूले फोहोर व्यवस्थापनको समस्या आउनुअगाडि नै आर्थिक र वातावरणीय हिसाबले उपयोगी यस्ता पुनर्प्रयोगका हरित प्रविधिहरूको प्रयोग गर्ने योजना ल्याउनु अत्यन्त जरुरी भइसकेको छ ।

No comments:

Post a Comment