Tuesday, November 10, 2020

खोक्रो मान्छे : शून्य व्यापार( १७ मङ्सिर २०७७ , कारोबार )

 पत्रिकाको लिंक


मानिसको ज्ञान, विज्ञान कति निरीह रहेछ भन्ने यथार्थबोध यो कोभिड–१९ ले दिएको छ । अन्तरिक्षदेखि पृथ्वीको गर्भसम्म चहारेका, क्लोनिङ र जिन इन्जिनियरिङ गरेर बिरुवा र प्राणीको रूप र गुण जन्मदाताले दिएको भन्दा अर्कै बनाउन सफल भएका र आफूलाई उच्च प्रविधिसम्पन्न भन्ने देश तथा बुद्धिजीवीहरू सबैलाई, यो सियोको टुप्पोमा ५० करोड अट्ने सूक्ष्म जीव कोभिड–१९ को भाइरसले गएको झन्डै ११ महिनादेखि चुनौती दिइरहेको छ । अझै कति महिना यसले विश्वलाई रिँगाउने हो, टुंगो छैन । युरोपमा ठूलो जनधनको विनाश गरेको यो रोग अब सकियो भनेर जनजीवन सामान्य हुँदै थियो, अचानक यसको कहर पहिले भन्दा उग्र रूपको हुन थालेको छ, जसले गर्दा इटाली, स्पेन, बेलायत, फ्रान्स, जर्मनी, बेल्जियमजस्ता देशहरूमा फेरि कडा लकडाउन गर्न थालिएको छ । विज्ञान र प्रविधिको चुचुरोमा देखिएको अमेरिकामा कहिल्यै नथाकेको कोभिड–१९ ले २ लाख ३४ हजारभन्दा बढीको ज्यान लिइसकेको र अझै ९१ हजारको दरमा दैनिक संक्रमण थापिने गरेको देखिन्छ, जुन त्यहाँका प्राविधिज्ञहरूका लागि ठूलो चुनौती हो । वर्डोमिटरका अनुसार संसारभरिमा यसबाट साढे ४ करोड मानिस संक्रमित र १२ लाखजतिको मृत्यु भइसकेको छ । मानिस कति निरीह रहेछ र यिनको ज्ञान कति खोक्रो भन्ने कोभिड–१९ ले स्पष्ट देखाएको छ ।
अहिले सबै कोभिड–१९ को खोप कति चाँडै आउला र जनजीवन सामान्य बन्ला भन्ने पर्खाइमा छन् । विश्वका अनेक कम्पनीमा यसको खोप अन्तिम चरणमा पुगेको खबर पनि आएका छन्, तर कुनै पनि खोप अझै पूर्ण विश्वसनीय भइसकेको छैन । मानिसमा गरिएका कति खोपका परीक्षण नकारात्मक, अझ घातकसम्म देखिए । अमेरिकाको सरुवा रोग केन्द्रका प्रमुख डाक्टर फाउचीका अनुसार पनि विश्वसनीय खोप बजारमा आउन चाँडोमा सन् २०२१ को मार्च–अप्रिलसम्म लाग्नेछ, अर्थात् यसका लागि अझै चाँडोमा ६ महिना कुर्नुपर्ने देखिन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारका कैयौं देशका संस्थाहरू मिलेर यसको खोप तैयार गर्दैछन् र करिब १ सयवटा खोप, परीक्षणको अन्तिम अर्थात् तेस्रो तहमा पुगेको छ । तर, खोपको सफलतामा विभिन्न खाले जटिलताहरू देखा परेका छन् । सबैभन्दा अन्तिम अवस्थामा पुगेको चर्चा चलेको अक्सफोर्ड विश्वविद्यालयको ‘अस्ट्राजेनेका’ कम्पनीको खोपले अन्तिम परीक्षणमा बेलायतका केही परीक्षार्थीहरूमा नकारात्मक असर देखाएको र ब्राजिलका एक व्यक्ति, जो २८ वर्षे डाक्टर हुन्, को मृत्यु हुनुबाट योलगायत अन्य सबै खोप बनाउनेहरूका लागि दुःखद परिणाम ल्याएको छ । यसैले बजारमा ल्याउने तयारीमा रहेका यस्ता खोपहरू पुनः विचरणीय र परीक्षणमा गएका छन् । इपिडेमोलोजी, जो मानव स्वास्थ्य, रोग र उपचारसँग सम्बन्धित अनुसन्धानको विधा हो, अहिले सबैभन्दा ठूलो चुनौतीमा परेको देखिन्छ; यो रोगको, अझ यो भाइरसको, वास्तविक स्वरूप पहिचान गर्न र निदान दिन नसकेर । कुनै पनि भाइरस अझै पनि वैज्ञानिकहरूका लागि सहज पहिचानको विषय बन्न सकेको छैन र जबसम्म कुनै भाइरसको राम्रो पहिचान हुन लाग्छ, त्यति बेलासम्ममा त्यो भाइरसले आफ्नो पहिचान र गुण (जसलाई डीएनए पनि भन्न सकिन्छ) मा परिवर्तन गरिसकेको हुन्छ । अहिलेको कोभिड–१९ भनिने भाइरस कोरोनाको सातौं या आठौं परिवर्तित स्वरूप हो । यसै कोरोनाको यसअघिका प्रारूपहरू सार्स र मार्स भन्ने थिए । सार्स र मार्सका खोप भर्खरै मात्र बजारमा आएका छन्, जब यसले आफ्नो स्वरूपमा परिवर्तन गरी कोभिड–१९ को रूप लिइसकेको छ । सार्स सन् २००३ मा चीनमा देखा परेको थियो भने मार्स सन् २०१२ मा मध्यपूर्वी देशहरूमा देखा परेको थियो । अहिले पनि कोभिड–१९ ले आफ्नो स्वरूप वुहानमा २०१९ मा देखाएको भन्दा परिवर्तित गर्दै गएको छ, जसको प्रमाण हो— यो रोगको लगातार बदलिँदै गएको लक्षण र सर्ने प्रक्रिया, जो स्वयम् विश्व स्वास्थ्य संगठनलगायतले बेलाबेलामा फरक परेको बताउँदै आएका छन् ।
अहिलेको ६ महिनापछि सम्भवतः खोप आएमा पनि संसारभरिका देशमा यो तुरुन्तै पुग्ने सम्भावना छैन । सुरुका दिनमा यो खोप ज्यादै महँगो हुनेछ; तसर्थ संसारका धनी देशहरूले मात्र यसको प्रयोग गर्न सक्नेछन् । नेपालजस्ता गरिब राष्ट्रसम्म यो खोप आइपुग्न अझै ९–१० महिना लाग्ने देखिन्छ र त्यतिन्जेल बजार निस्फिक्री भएर खोलिन र व्यापार चल्न गाह्रो हुनेछ । यो दसैंमा केके न व्यापार होला भनेर सरकारले लकडाउन गर्ने हिम्मत गरेन, या यो लफडामा आफू पर्न चाहेन; तर अधिकांश बजार सुनसान नै बने । गत वर्षहरूमा हुने व्यापारको १० प्रतिशत पनि व्यापार अहिले भएन । दसैंको खुलापनको परिणाम बढेको संक्रमणको संख्यामा सुनिन बाँकी नै छ ।
संसारमा र नेपालमा उद्योग, व्यापार, स्कुल, यातायात, पर्यटनजस्ता व्यवसायहरू कहिलेबाट पुरानै लयमा फर्किनेछन् त ? सायद सबैको चासो यही प्रश्नमा हुनुपर्छ । तर, यसको मोटामोटी भए पनि अनुमानित उत्तर व्यवसायअनुसार भिन्दाभिन्दै हुनसक्छ । सबै व्यवसाय चल्नका लागि यो रोगमा नियन्त्रण हुँदै जानुप¥यो । युरोपका अधिकांश देशहरूमा गत मे–जुनतिर संक्रमितहरूको संख्या न्यून बिन्दुमा झरेपछि बजार सामान्य रूपमा खुल्न थालेको थियो, तर अचानक अक्टोबरको मध्यबाट संक्रमितको संख्याले पुरानो रेकर्ड तोड्यो र अहिले अधिकाश देशमा पुनः लकडाउन गरिएको छ । दुई कारणले संक्रमणको दर घट्न सक्ने देखिन्छ— पहिलो, प्रभावकारी खोप बजारमा सर्वसुलभ भएमा या दोस्रो, यो रोगको जीवाणु आफैं परिवर्तित हँुदै कमजोर बन्दै गएर मानिसको प्रतिरक्षा प्रणालीले यसलाई जित्न सकेमा, जस्तो— अहिले सामान्य रुघाखोकी केही दिनपछि आफंै हराएर जाने गर्छ । सन् १९८१ मा सल्केको स्पेनिस फ्लुले संसारभरिमा ५० करोड मानिसको ज्यान लिएको थियो । तर, अहिले स्पेनिस फ्लुको निदान सामान्य मानिन्छ, किनकि यसका कीटाणुलाई मानिसको प्रतिरक्षा प्रणालीले जितिसकेको छ ।
हाम्रो प्रतिरक्षा प्रणालीले कोभिड–१९ लाई जित्ने आशा छ, तर कहिले यस्तो होला भन्ने अनुमान गर्न सहज छैन । बरु खोप आउने मितिको अनुमान गर्न बढी सहज छ । डाक्टर फाउचीले भनेजस्तो भएमा आउँदो ६ महिनामा विश्व बजारमा यसको खोप आउने आशा गरांै र त्यसको ३–४ महिनापछि नेपालजस्ता देशका जनतामा यसको पहुँच पुग्ने अनुमान गरौं । यसको अर्थ हो, आउँदो १० महिना लाग्नेछ नेपालीको जनजीवनमा केही न्यूनतम कुरा सामान्य हुन । त्यसपछि स्कुल, कलेज, सार्वजनिक यातायात (सहजसँग), खुद्रा पसल, साना रेस्टुराँ, साना निजी अफिसहरू, कलकारखाना आदि खुल्नेछन् । सबैभन्दा पछि पर्यटन, ठूला मलहरू, सिनेमा हलहरू खुल्नेछन् ।
नेपालका अधिकांश तारे होटलहरू, महँगा रेसोर्टहरू जो सन् २०२० को पर्यटन वर्षका लागि तयार हँुदै थिए र जसमा ठूलो लगानी पनि गरिएको थियो, ‘प्रथमग्रासे मक्षिकापातः’ भनेजस्तै सन् २०२० को पूर्वसन्ध्यामा पसेको कोभिड–१९ को प्रकोपबाट सबैभन्दा बढी मारमा पर्ने व्यवसाय बने । नेपालको पर्यटन व्यवसाय मूलतः चिनियाँ पर्यटकको आशामा थियो । त्यसैले चिनियाँ राजदूत र चिनियाँ मोडलसमेत ल्याएर विज्ञापन गरिएको थियो । तर, डिसेम्बर सन् २०१९ मा चीनको वुहानबाट नै यो रोग सुरु भयो र सबैभन्दा त्रासदी चीनमा नै देखियो । फलस्वरूप, हजारौँको संख्यामा चिनियाँ पर्यटकहरूले गरेको रिजर्भेसन फिर्ता गरे । अहिले आन्तरिक पर्यटकलाई लोभ्याउन अनेक प्याकेजहरू व्यवसायीहरूले ल्याएका छन् र केही अन्तरिक पर्यटन चलेको पनि छ । तर, यो लामो समय चल्दैन र महँगा होटलहरू पनि चल्दैनन् । सम्भवतः पर्यटन सबैभदा पछि चल्न सक्ने व्यवसाय हो । जब अन्य व्यवसाय राम्ररी चल्छन्, रोजगारी बढ्छ, जनजीवन सामान्यीकरण हुन्छ, मान्छेले आम्दानी गर्न थाल्छ र मन भित्रैबाट नयाँ ठाउँ हेर्ने स्फूर्ति जाग्छ अनि बल्ल पर्यटनका लागि मान्छे अन्यन्त्र हिँड्छ । अहिले, यो सँगै संक्रमणको समेत चिन्ता थपिएको छ । नेपाल, जहाँ अझै संक्रमणको दर लगातार बढ्दै छ, संक्रमितको उपचारको स्थिति चौपट छ, विदेशी पर्यटक नेपाल आउने सम्भावना अझै टाढा छ ।
पुरानो लयमा विश्व अर्थतन्त्र फर्किने वातावरण आउन, विश्व बैंकको सन् २०२० जुनमा प्रकाशित ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टिभ’ मा उल्लेख गरेअनुसार अझै चार–पाँच वर्ष लाग्छ । सन् २०२० मा विश्व अर्थतन्त्रमा ८ प्रतिशतसम्मको संकुचन हुने र सन् २०२१ मा यो संकुचन १ प्रतिशतले उकासिने अनुमान गरिएको छ । अहिलेसम्मको स्थिति हेर्दा अमेरिकाको अर्थतन्त्रमा औसत असर परेको देखिन्छ भने चीनको अर्थतन्त्रमा न्यूनतम र ईयूको अर्थतन्त्रमा अत्यधिक असर परेको देखिन्छ । अमेरिकाको बेरोजगारी दर सन् २०१९ को मध्यमा ३.७ प्रतिशत रहेकोमा सन् २०२० को मध्यमा यो दर १०.४ प्रतिशत पुगेको छ ।
नेपालको अर्थतन्त्रमा कोभिड–१९ को असर नराम्ररी पर्ने स्पष्ट छ । एडीबीले सेप्टेम्बर २०२० मा गरेको आकलनमा नेपालको गार्हस्थ्य उत्पादन २०२० को अन्त्यमा २.३ प्रतिशत र २०२१ मा १.५ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । तर, यो आँकडा अझै तल झरेर ऋणात्मक बन्न सक्ने प्रस्ट लक्षणहरू देखिंदै गएको छ । भारत र तेस्रो मुलुकको आयातमा पूर्णतया भर परेको हाम्रो अर्थतन्त्रमा बाह्य प्रभावले मुद्रास्फीति बढाएको, विकास निर्माणमा ह्रास आएको, आन्तरिक राजस्वमा गिरावट आएको र कोभिड–१९ को मारले अन्तरिक खर्च बढेको देखिन्छ । फलस्वरूप एडीबी र राष्ट्र बैंकको अनुमानभन्दा हाम्रो आर्थिक वृद्धि खस्किने देखिन्छ ।
समग्रमा, संसारभरिको अर्थतन्त्र, सन् १९३० को आर्थिक संकटपछि सबैभन्दा बढी गिजोलिएको छ । नेपालमा जनजीवन र व्यवसाय सामान्य हुन अझै दुई–तीन वर्ष लाग्ने देखिन्छ । यस्तो कठिन बेलामा सरकारको प्राथमिकता कृषिमा आत्मनिर्भतातिर लाग्ने, देशको विशिष्ट खनिज र जडीबुटीको खोजी र त्यसको निर्यात, विद्युत् उत्पादन र विद्युतीकरण, आर्थिक अनुशासन र आन्तरिक खर्च घटाउनेतिर हुनु जरुरी देखिन्छ ।

No comments:

Post a Comment