Tuesday, May 5, 2015

(बैसाख १ मा लेखिएको अप्रकाशित कविता : काठमाडौँ शहरको बेदना र बिशेषता बारे ) 

जन्मिदा एक अप्राकृतिक नवबर्ष

काठमाडौंको नवशिशु अस्पतालमा भिड छ |
सत्तरी पछिको दोश्रो शिशुको जन्ममा |
जो सबै भन्दैछन् ‘रुँदै होइन हास्दै जन्मेकी अप्राकृतिक छे’ ||

भन्छन, उसले-
बर्षौदेखि उडेको धुलोले गरुङ्गो भएको हावामा मस्तले सास तान्दै आखा खोलिछ |
जति फोहोर टिप्दा पनि नसकिएको डुंगुरबाट बगेको बाग्मतीको गन्ध सन्न तान्दै मुस्कुराएकी छ |
किरासरह हिड्ने मानिसको कोलाहल सुन्दै मस्केकी छ |
निश्चिन्त निदाउन खोज्दा, नारा जुलुश र हानेका ढुंगाको आवाजले झसंग बिउझेकी छ, तर नच्याँठीकन |
कंक्रिटका अग्ला घरहरुमा सुसाएको बिदेशी हावा सुन्दै खुट्टा हल्लाएकी छ |
चारैतिरको भिडले अनेक कुराकाट्दा रमाएर उनैलाई हात फैलाएकी छ ||

यस्तो अप्राकृतिक स्वभाबको शिशु देखेर सबै हतप्रद: छन् |
नव मस्तक छन्, सौन्दर्यमा लठ्ठ छन् |
‘धत्’ भन्दैछन्, तर एकपल्ट अँगाल्न तछाड मछाड गर्दै छन् |
आ-आफ्नै रुचिअनुसार यसको नाम राख्न खोजेका छन् ||
मसक्क मस्किदै, हात खुट्टा हल्लाउदै,
त्यो अप्राकृतिक वच्चा, भिडमा चिच्याए छ र आफ्नो नाम
सबैलाई बताए छ – ‘अक्षुण कुमारी’ ||
-    सत्तरी पछिको दोश्रो गर्भबाट अक्षुणकुमारी जन्मेकी छ ||
(सबैमा यो अक्षुणकुमारी जन्मेकोमा शुभकामना दिदै – विकास राज सत्याल, बैशाख २०७२, शान्तिनगर, काठमाडौँ) 

         

No comments:

Post a Comment