Tuesday, May 5, 2015

भूकम्पपछिको पुनर्निर्माण र प्राथमिकताहरू(कारोबार बैशाख २३ )

आउँदो दिनमा सुरक्षित बसोबासको योजनागत प्रयास गर्नमात्र सके पनि यस्ता विपत्तिको न्यूनीकरण गर्न सकिनेछ ।
अब हाम्रा सहर नयाँ ढंगले बन्न जरुरी छ, जुन सुन्दर पनि हुन्, कलात्मक पनि हुन् र सुरक्षित पनि । २०४५ सालको भूकम्पपछि धरानले यसरी नै काँचुली फेरेको हो । आशा गरौं, यो महाभूकम्पले हामीलाई आउँदा दिनहरूमा कसरी सुरक्षित बसोबास गर्ने भन्ने ज्ञान देओस् ।
प्रा. डा. विकासराज सत्याल
वैशाख १२ गते ११:५६ मा ७.९ रेक्टरको भूकम्प गएयता लगातार धर्ती हल्लिएको हल्लियै छ हरेक घण्टा, जो आजसम्म आउँदा केही सुस्ताएको भने छ । अहिलेसम्ममा १०० पल्टभन्दा बढी नै ४ रेक्टरमाथिका झड्का आएको छ । यस भूकम्पले जे बिगा¥यो, त्यो अपूरणीय छ । ८ हजारजति मानिसको ज्यान, गाइ–बाख्रा, अद्वितीय कारिगरीका मन्दिर, लाखौंका बास माटोमा मिस्सियो । हजारांै अनाथ भए । यो मानवीय र सांस्कृतिक क्षतिको पूर्ति हुनै सक्दैन । उसै त पिछडिएको, त्यसमाथिको यो विनाशले आर्थिक रूपमा देश २० आंै वर्ष पछि परेको छ ।
भूकम्प, पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोपपछि गरिनुपर्ने ३ महŒवपूर्ण जिम्मेदारी भनेको उद्धार, राहत र पुनर्निर्माण भनिन्छ । पहिलो कार्य हो— बाँच्न सक्ने जीवनको रक्षा । यस्ता दुर्घटनामा परी पुरिएका र सम्पर्कविहीन परेकाहरू स्वाभाविक रूपमा धेरै घण्टा बाँचिरहन सक्दैनन् । सामान्यतया यस्तोमा पुरिएकाहरू ज्युँदो रहने अधिकतम सम्भावनाको अवधि २ या ३ दिन अर्थात् ७२ घण्टा हो । यद्यपि यसपल्ट १०५ वर्षीय फन्चु घलेलाई १६८ घण्टा अर्थात् ८ दिनपछि जीवितै उद्धार गरिएको छ भने गोंगबुबाट कृष्णकुमारी खड्कालाई १२८ घण्टापछि जीवितै झिक्न सकियो । सात दिनपछि पनि निकैलाई जीवितै उद्धार गरिएका समाचारहरू आएका छन् । यसरी बाँचेकाहरूको यी उदाहरण— ठूलो भाग्य, प्रबल जिजीविषा र उद्धार प्रविधिको उदाहरण हो, जो सामान्यतया सम्भव छैन । अतः यस्तो उद्धारकार्य शीघ्र र द्रुत गर्नुपर्ने प्राथमिक कार्य हो । यसका लागि प्रविधि र उद्धारको ज्ञान भएका जनशक्ति आवश्यक हुन्छ । भनिन्छ, विशेष तालिम दिइएका कुकुरले पुरिएका मानिसलाई सुँघ्न सक्छन्, जसलाई जापानी र चिनियाँ टोलीले यसपल्ट काठमाडौँ ल्याएको थियो । केही कम्पासजस्ता यन्त्र पनि छन्, जसबाट गडेका तर जीवितहरू पत्ता लगाउन सकिन्छ । यस्ता उपकरण र तालिमप्राप्त कुकुरको सहायताले विदेशी टोलीको विज्ञताको प्रयोग गरी नेपाली सुरक्षाकर्मीहरूले केही व्यक्तिलाई जीवितै उद्धार गरेका हुन् । यस्ता उपकरण र कुकुरहरूको स्वदेशभित्रै व्यवस्थापन आउँदा दिनका लागि गर्नु आवश्यक देखिन्छ । मृत भइसकेकालाई पनि उत्खनन गरी आवश्यक थन्को लगाउनु जरुरी छ, किनकि यस्ता शवले अन्यथा महामारी ल्याउने खतरा छ । जुन अर्को खतरानक अवस्था हुनेछ । विषेशज्ञहरू चाँडै नै अर्को ठूलो भूकम्प जाँदैन भन्छन्, जो हालसम्म गएको भूकम्पको इतिहास हेर्दा ठीक नै देखिन्छ, तर बाढीपहिरो, आगलागी, बस पल्टिनेजस्ता घटना हाम्रो देशमा बारबार भइरहेका छन्, जसको लागि यस्ता सामग्री र तालिमप्राप्त जनशक्तिको जोरजाम या व्यवस्थापन गरिराख्नु आवश्यक देखिन्छ ।
अहिलेको दोस्रोे प्रमुख काम, जो जटिल, झन्झटिलो र अपजसिलो पनि हो, राहत वितरणको हो । बाँचेका भाग्यमानीहरू खान नपाएर या परेको पानी र रातको चिसोले मर्ने या बिरामी हुने क्रम हरेक दोस्रोे दिन बढ्दै गएको छ, किनभने भूकम्पपीडितहरूको पहिलेको आफ्नो खाले प्रतिरक्षा प्रणाली भताभुंग भइसकेको छ । हाम्रो जस्तो देशको कुरा गर्ने हो भने यस्ता पीडितहरूलाई, जो ग्रामीण क्षेत्रमा छन्, खानेकुरा र पिउने पानीसँगै त्योभन्दा पहिले ओतको बढी आवश्यकता परेको देखिन्छ । प्रायः गाउँघरमा घरभित्रको भण्डारणबाहेक पनि खाद्यान्न र पानीको केही वैकल्पिक उपाय हुने गर्छ । जस्तो, अहिलेको मौसममा बारीमा आलुजस्ता खाद्यान्न उपलब्ध हुन सक्छ । तर, पानी परिरहँदा र चिसोमा घरको छाना र भित्ता भत्किएपछि खुला आकाशमुनि बस्नु ग्रामीण परिवारको बाध्यता हुन आएको छ । ‘ओतका लागि पाल देऊ’ भन्ने माग भूकम्पले पूर्णतः क्षतिग्रस्त गाउँहरूबाट प्रमुखतासँग सुनिँदैछ । अहिलेको तथ्यांकअनुसार आवासीय घरमध्ये करिब १ लाख ३८ हजार पूर्ण क्षति भएका र १ लाख २३ हजार आंशिक क्षति भएका छन् । जसको अर्थ, मौजुदा ४.७ को औसत परिवार संख्याअनुसार, करिब १२ लाख २७ हजार पीडित मानिसहरू वा करिब २ लाख ६१ हजार परिवार घरबाहिर बसिरहेका छन् । मौसमविद्का अनुसार जेठको दोस्रो या तेस्रो हप्तादेखि मनसुन आउने सम्भावना छ । यसकारण, यी ओतविहीनहरूका लागि अस्थायी पुनस्र्थापना अबको केही हप्तामा गरिनु आवश्यक छ । यसको अर्थ बलियो र सजिलो पाल र त्रिपाल र ओढ्ने–ओछ्याउने कम्मलको उपलब्धता हो । साथै पिउने पानीको स्रोत प्रदूषित नहोस् भन्ने कुरामा पनि ध्यान दिनु जरुरी छ । संसारमा सस्तोमा केही दिनमै कटेरो बनाउने प्रविधि बनेका छन् जसमा सिंगैै भित्ता जडान गर्न सकिने या ब्लकहरू जडान गर्नेे गरिन्छ । चीनमा मे २००८ मा आएको भूकम्पमा परी ४८ लाख मानिस बेघरबार भएका थिए । निकै छोटो समयमा त्यहाँ नयाँ घर बनाइएको थियो । अहिले पनि आफ्नो प्रविधि र ज्ञान नेपाललाई दिन चीन तत्पर देखिन्छ । उता हाइटीमा सन् २०१० मा ७ रेक्टरको भूकम्प आएको थियो, जसमा २ लाख ५० हजार आवासीय घर भत्किएका थिए । खराब व्यवस्थापनको उदाहरण, हाइटीमा भूकम्प गएको ३ वर्षपछि पनि करिब ५० प्रतिशत भग्नावशेष पन्छाउन नसकिएको र ८० प्रतिशत पीडित अस्थायी क्याम्पमा बस्दै आएका थिए । अझै पनि त्यहाँका धेरै भूकम्पपीडितहरू सडककिनारामा बस्न बाध्य छन् । हाइटीमा भूकम्प आएलगत्तै ८ महिनापछि, चिलीमा ८.८ रेक्टरको भूकम्प गएको थियो जसमा हाइटीको तुलनामा १ प्रतिशतमात्र मानिस हताहत भएका र करिब १ वर्षभित्र त्यहाँ सम्पूर्ण सहर र सहरवासी व्यवस्थित भएका थिए ।
तेस्रो महत्वपूर्ण विषय स्थायी बसोबासको व्यवस्था हो । नेपालका घरबस्तीहरू बिनाकुनै योजनागत सोचाइबाटै सयांै वर्षदेखि जन्मिदै, कालान्तरमा बाक्ला बस्ती र पछि ठूला गाउँ हुदै सहर बनेका हुन् । यस्ता स्वरूपका बस्तीहरू पहाड र मधेसमा राम्ररी देख्न सकिन्छ । यस्तो छरिएको स्वरूपले बस्तीमा शिक्षा, स्वास्थजस्ता विकासका सेवा दिन ठूलो अप्ठ्यारो हुँदै आएको छ । उता सहरहरूमा धेरै तलाका घर प्रायः कमजोर जगमा बनेका छन् । कमजोर जगका घर पहिले जागिरवालाले आफ्नो कडा संघर्षका दिनहरूमा बनाउने रहेछ । केही वर्षपछि अरू पैसा जम्मा हुन आउँदा उसले त्यही घरमाथि तला थप्दै जाने प्रवृत्ति देखिन्छ । अबका दिनमा कस्ता घर कस्तो जमिनमा कस्तो प्रविधिबाट बनाउनुपर्छ, यसको राम्रो अध्ययन गरेर मात्र घर बनाउन स्वीकृति दिनुपर्छ । भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप नेपालजस्तो न्यून विज्ञान प्रविधि भएको देशमा पूर्वानुमान गर्न असम्भव नै छ । भूकम्पको पूर्वानुमान त जापान र अमेरिकाजस्ता प्रविधिको अत्यधिक विकास भइसकेका देशमा पनि गर्न सकिएको छैन । यस्तो स्थितिमा हामीजस्ता देशले गर्न सक्ने भनेको आफ्नो सुरक्षाको प्रयास हो । आउँदा दिनमा सुरक्षित बसोबासको योजनागत प्रयास गर्नमात्र सके पनि यस्ता विपत्तिको न्यूनीकरण गर्न सकिनेछ ।
आउँदा दिनमा हरेक गाविसमा कम्तीमा एउटा स्कुल या गाविस भवन भूकम्प प्रतिरोधक प्रविधिबाट बनाउने र त्यसमा एउटा भण्डार कोठा बनाउनु उपयुक्त देखिन्छ । यस्तो भण्डार कोठामा गाविसको जनसंख्या हेरी पर्याप्त हुने गरी त्रिपाल, पाल, राडी, कम्बल, टर्चलाइट, प्राथमिक उपचारका सामग्रीजस्ता नकुहिने सामानको भण्डारणका साथै खाद्यान्न, औषधिको भण्डारण गर्नुपर्ने देखिन्छ । नबिग्रिनेबाहेकका सामग्रीलाई वर्षको एक दिन कुनै चाडपर्व या दिवसका रूपमा सम्झना गरेर प्रतिस्थापन गर्ने बानी बसाल्नुपर्छ । माघ २ गते भूकम्प दिवस त सरकारी तवरले देशमा मनाइन्छ नै । नेपालमा आउँदो वर्षदेखि वैशाख १२ गते यो महाभूकम्पको सम्झना गर्दै यस्तो दिवस मनाउन उपयुक्त हुने देखिन्छ ।
हरेक गाउँसका वडाहरूमा कम्तीमा एउटा खुला चौर वा खेलमैदान अथवा पार्क हुनु अनिवार्य देखिन्छ । सबैजसो विदेशका सहरहरूमा यस्ता खुला स्थानको प्रबन्ध गरिएको हुन्छ, यो गाउँसहरको सौन्दर्यका लागिभन्दा पनि आपत्कालीन अवस्थाका व्यवस्थापनका लागि हो । काठमाडौंको टुँडिखेलमै यतिखेर धेरै भूकम्पपीडितले आश्रय लिए, सहरका अन्य भागमा निकै कम खुला क्षेत्र देखियो । भक्तपुरजस्ता पुराना सहरमा उद्धार गर्न साँघुरा गल्लीमा गाडी लग्न सम्भव भएन । गाडी मोडिन कठिन मोडहरू, एम्बुलेन्स या दमकल पस्न नसक्ने साँघुरा गल्लीहरू, काँचो इँटाका पुराना घरहरू यी हाम्रा पुराना सहरका विशेषता हुन्, जो मौलिकताको रूपमा पर्यटकहरूमा चर्चित पनि थिए । अब हाम्रा सहर नयाँ ढंगले बन्न जरुरी छ, जुन सुन्दर पनि हुन्, कलात्मक पनि हुन् र सुरक्षित पनि । २०४५ सालको भूकम्पपछि धरानले यसरी नै काँचुली फेरेको हो । आशा गरौं, यो महाभूकम्पले हामीलाई आउँदा दिनहरूमा कसरी सुरक्षित बसोबास गर्ने भन्ने ज्ञान देओस् ।

No comments:

Post a Comment