Wednesday, May 3, 2017

नयाँ बर्षमा बाँडिएका सपना र सोमशर्माको कथा (कारोबार, बैशाख ११ २०७४ )


पंचतन्त्रमा सोमशार्मा भन्ने एक गरिव र कल्पनाको संसारमा रमाउनेको कथा छ जो धेरै दिनमा जम्मा भएको कनिकाको घैला खुट्टा नजिक झुण्ड्याएर कल्पना गर्नथाल्छ कि यसले एउटा पाठी किन्छु, बर्ष दिन पछी त्यो ब्याउछे र केहि बर्ष पछी त्यसाबाट जन्मेका सन्तानले पैसा कमाउँदै धेरै धनि हुन्छु र बिहे गरेपछि स्वास्नीले सानो कुरा नमान्दा लात्तीले यसरि भकुर्छु | त्यहि कल्पनामा लात्ती चलाउँदा खुट्टानिर राखेको कनिकाको घैला फुट्छ र उसका सपना पनि त्यहि अन्त्य हुन्छ | यो प्रसंग नेपालमा अहिले जोडिएको देख्छु जब देशमा आगामी केहि बर्षमा नै ठूला ठूला प्रगति हुने समाचार धमाधम छापिन थालेका छन् | सोमशर्मा जस्तै जम्मा एउटा घैलाको कनिका बाट देशलाई स्विजरल्याण्ड बनाउने मदहोस सपना नयाँ बर्षको शुरुवातामा पढदा, यो शुभकामना संदेश हो या सन्निकट चुनाबको रन्को हो छुट्याउन गाह्रो भएको छ |  
विश्वबैंकको सौजन्यमा यो बर्षको आर्थिक वृद्धिमा नेपालले छलांग लगाउने उद्घोष गरिंदै छ | गएको आर्थिक बर्षमा १ प्रतिशत भन्दा कमको आर्थिक वृद्धि भएकोमा यो बर्ष ६ प्रतिशत नाघ्ने आशा राखिएको छ | यदि यस्तो भएमा यो प्रगति, बर्तमान सरकार चलाउने माओबादी, नेपालि कांग्रेस र राप्रपाको उपलब्धि भनेर पक्कैपनि भोट माग्ने प्रचारमा प्रयोग हुनेछ | यो बर्षको आर्थिक वृद्धि १ बाट ६ मा हुनसक्ने आधार कुनै दलका आर्थिक छलांग बाट होईन बर्षा देउताको कृपाले उब्जनी राम्रो भएर र गणितको सानो खेल बाट हुनसक्ने हो भन्ने खुलासा केहिदिन पहिला छपिएको बिचारमा मैले प्रस्तुत गरेको छु |
हालै एक नेपालि टिभीलाई आफ्नो आनुभव सुनाउदै गगन थापाले भन्नुभएको धेरैले सुन्नुभएको होला कि बहुदल पछीको यो १०-१५ बर्षमा थुप्रै ठूला कामहरु भएकाछन् र पूर्भाधार बनिसकेका छन्, वहाँ कै शब्दमा भन्दा “संरचना सबै तैयार छन्, केवल अव छलांग लगाउन बाँकी छ” | बहुदलीय ब्यबस्थाको यो सम्पूर्ण कालखण्डमा सबै भन्दा बढी सरकारमा बसेको पार्टी नेपाली कांग्रेस हो | २०४७ सालको बहुदलीय ब्यबस्थाको पहिलो प्रधान मन्त्रिको रुपमा कृष्णप्रसाद भट्टराई देखि आजसम्म २६ जना सरकार प्रमुख भएका रहेछन | यो कुल ९८५७ दिनाबधिमा ५५६४ दिन अर्थात् ५६ प्रतिशत समय नेपाली कांग्रेसले सरकार प्रमुख भएर चलाएको रहेछ | यसरि हेर्दा, देशमा यो अवधिमा राम्रो नराम्रो जे भएको छ त्यस्को बढी जिम्मेदार हुनुपर्ने पार्टी पनि नेपाली कांग्रेसको नै देखिन्छ | तथ्यांकीय स्थिति हेरौ | यो अबधिमा धेरै बाटो बने, पुल बने | नेपालिको पहुच देश विदेशमा बढ्यो | शिक्षा र स्वास्थ्यमा प्रगति भयो, प्रतिव्यक्ति आय बढ्यो | तर, यो दौरान कोशीमा पनि धेरै पानी बगिसकेको छ | अर्थात्, समय यस्तो चीज हो जसले धेरै परिवर्तन आफै ल्याउँछ, जस्तो जनसंख्याको बढोत्तरी | २०४८ सालको जनगणनामा १ करोड ८५ लाख भएको जनसंख्यामा अहिले झन्डै ८०-९० लाखको बढोत्तरी भईसकेको छ | जव जनसंख्या बढ्छ उसको आवश्यकता त्यस अनुसार नै बढ्छन् | भिरपाखामा सरकारको बाटो होइन जनताको श्रमदानको धुलौटेबाटो बढी खनिएका छन् | भूकम्प गएको झन्डै ८०० दिन बिती सक्दा, सरकार पुनर्निर्माणको हाकिम आफ्नो मान्छे बनाउने दाउपेचमा नै व्यस्त भयो, जबकी निजी प्रयाशले नै प्राय: घर बनेका छन् | जस्तै धुर्मुस सुन्तलीले ९५ दिनमा नै महोत्तरीमा ५३ घरको नमुना बस्ति बनाए भने काब्रेमा २० र सिन्धुपाल्चोकमा ६५ घर बनाइसके, तर सरकारले अनुदानमा पाएको चामल कुहिदा सम्म बाड्न सकेन | भूकम्पले ४ हजार स्कुलमा क्षति पुर्याएको छ | यहा पढ्ने बिद्यार्थी र सुबिधा सम्पन्नमा पढ्नेको वीच कति अन्तर होला? सरकारको कामगराईको उदाहरण देशको मुटु काठमाडौँमा, जो विकास सहायतामा देशकै सबैभन्दा बढी अनुदान पाउँछ, गत बर्ष देखि नै खनेर भत्काइएको बाटो-पेटीको धुलो माटोले उपत्यकाका झन्डै ७० लाखको स्वास्थ्यमा अहिले खतरनाक आसर परिरहेछ, जसलाई संचार माध्यमले घोचेको घोचै गर्दा समेत सरकारका एक निकायले आर्कोलाई दोष दिने बाहेक केहि सुधार गरेको देखिन्न | लाग्छ यो देश यस्तै ठूला बिचौलियाहरु बाट साना हुँदै छोटे ठेकेदारहरुले मात्र चलाईरहेको एउटा भद्रगोल तन्त्र हो, लोकतन्त होइन | पर्यटन बाट राम्रो आम्दानी गर्ने योजना लिएको देशमा भूकम्पले मुर्कट्टा भएका प्राचिन सम्पदाहरु यत्रतत्र बैशाखीको टेवा लगाएर बेवारिस भएको देखिन्छ | नेपालको पहिलो पाठशाला रानीपोखरी अगाडिको दरबार हाइस्कुल भूकम्पले भत्काए पछि अझै खण्डहर नै रहेको चित्र र त्यहाका विध्यार्थी टहरा मै पढ्न बाध्य भएको खवर आजको अखवारमा पढ्दै गर्दा सरकारी मन्त्रिको त्यहि टिभी सम्बाद झनै बुझन् गाह्रो भएको छ | हो, केहि गर्व गर्ने कुरा पनि छन् देशमा | झन्डै ८ रेक्टरको महानभूकंपले बर्बाद भएको देश, हाईटी जस्तो बिदेशीको या सरकारको मुख नताकी आफ्नै बलबुता र देश बिदेशका आफन्तहरुको प्रयाशबाट धर्मराउदै भएपनि उभ्भिदै छ | यसमा नेपाली जनताको बिशेषता झल्किन्छ |
समग्रमा, यो २७ बर्ष अगाडी बदलिएको बहुदलीय व्यवस्थाले हो या समयको मांगले हो, गाउँघर बढी चमकदार टिनको छाना भएको बनेका छन् | शहरियाहरु बढी पैसा खर्च गर्नसक्ने भएका छन् | भन्छन गाउले विदेशको कमाईले धनि भएका हुन् | तर, गाउको यो सम्पन्नता संगै यो युवाविहिन हुँदैगएको, मजदुरी किसानी गर्ने नहुँदा उब्जाउ जमिन बाँझै रहनथालेको पनि सत्य हो | के यस्तो युवाशक्ति विस्थापन गरि लाहुरेको कमाईबाट देश विकासको सपना देख्न सकिन्छ? देश भित्रिने लाहुरे कमाइको ८०-८५ प्रतिशत फेरी बिदेशमा नै फर्केर गईरहेको पनि तथ्यांकले देखाएको छ किनकि देशको उत्पादन गर्ने शक्ति र साधन खोक्रिदै गएको छ |  दलहरुका स्वार्थले प्रत्येक सरकारी अर्ध-सरकारी निकायमा राजनीति पसेर फूटबाद, अनुशासनहीनता र कामचोर प्रबृत्ति बढेको छ, राम्रो होइन हाम्रो झाँगिएको छ | शिक्षा र स्वास्थ्यमा सुबिधा बढेसंगै धान्न गाह्रो हुने शुल्क मध्यम आयको परिवारलाई टोक्नु नबोक्नु भएको छ |   
औपचारिक क्षेत्र, जसको तथ्यांक भेटिन्छ, नियाल्दा अनेक भयाबह तथ्यहरु समेत उजागर हुन्छन् | सरकारको विकास बजेटको ६० प्रतिशत मात्र खर्च हुन्छ तर लेखा परिक्षण नगरी र बजेट रकमान्तर गरि खर्च गर्ने प्रबृत्ति हरेक मन्त्रालयमा बढेको बढै छ | शतप्रतिशत सम्म सरकारी योजना र बजेटमा नपारि नेपाल विकास गर्न आएका बैदेशिक नियोगहरुले आफुखुसी खर्चगर्दा समेत कुनै नियमनमा बाध्न नसक्ने बनेको छ सरकार | उधोगहरु बिना अध्ययन खुलेकाले बातावारणीय विनास त ल्याएका छन् नै यिनले आयात प्रतिस्थापन या निर्यात वृद्धिमा राम्रो सहयोग समेत गरेका छैनन् | फलस्वरूप, आयात निर्यातको सन्तुलन बिग्रिरहेको छ | यो बर्षको ब्यापारघाटा करिब ९ खर्ब पुग्ने अनुमान छ जो अघिल्लो बर्षको भन्दा २ खर्ब बढी हो | तथ्यांक विभागले लज्जा ढाक्न बेरोजगारी ३ प्रतिशत मात्र भन्ने देखाईरहे पनि यो परिभाषाको बठ्याईले गरिएको ढाकछोप मात्र हो भन्ने सबैले बुझेका छन् | नत्र देशमा काम नपाएर म्यादी प्रहरीमा भर्नाहुन त्यत्रो घुईचो र विदेशको रोजगारीमा साहुको ऋण लिएर देश छोड्ने दिनको २००० को हाराहारीमा लर्को पक्कै हुँदैन थियो | बाटो, बिजुली, स्वास्थ्य, शिक्षा, रोजगारीको लगायत आर्थिक र प्रविधिका  क्षेत्रमा ब्यापक छलांग लगाईरहेका दूई छिमेकि राष्ट्रहरुको बिचमा रहदा पनि हाम्रो बैदेशिक नीतिको अक्षममताले हामी त्यसको लाभ लिनसकेका छैनौ बरु, नाकबदी जस्ता ब्यबधानमा परिरहन्छौ |     
यहि सिलसिलामा अहिले यस्तै नारा एमालेले ल्याएको छ, “पाँच बर्षमा प्रतिव्यक्ति आय ७ गुणा बढाउने” | यो सम्भब कसरि हुने भन्ने मार्गचित्र भने दिइएको छैन | गएको २७ बर्षमा २६ सरकार बदलिएको देशमा र सरकारको औसत आयु बर्षदिन भएको देशमा, ५ बर्ष लामो दिवास्वप्न किन देखाउनु पर्यो, मतदातालाई प्रष्ट छ |
औसतमा ३०-४० अर्ब बार्षिक बैदेशिक लगानी मुस्किलले भित्राउने देशमा दश बर्षमा २५० खर्बको बैदेशिक लगानी भित्राउने लक्ष | हजार मेगावाट विध्युत उत्पादन गर्न नसकी भारत बाट आयात गरिएको देशमा ७ बर्षमा १७ हजार मेगावाट निकाल्ने उद्घोषण | यस्ता सोमाशर्मा मार्का सपना र चुनावी नारा दिनु सट्टा सम्भव हुने, राम्रो अध्ययन गरिएको, जनताको आवश्यकातामा भित्र पर्ने साना साना उपयोगी कामहरु गरेर देखाउँदा नै पत्यारिलो व्यक्ति, नेता र पार्टी हुनसक्ने यथार्थ अब सरोकारवालाहरुले बुझ्ने बेला आईसकेको छ |

No comments:

Post a Comment