Tuesday, June 18, 2019

प्लास्टिक सडक (हिमाल १-७ असार २०७६) असम्पादित अंश


हिमाल पत्रिका पृष्ठ 
  संसारभरि अहिले मानव सभ्यताको अभिशापको रुपमा प्लास्टिक देखापरेको छ। झोला र अन्य उपभोग्य सामग्रीका खोलले उपभोक्तालाई जति सजिलो परेको छ प्रयोग पछी त्यसको अवशेषले वातावरण प्रदुषणका भयावह दुष्परिणाम संसारभरी, खासगरी शहरी क्षेत्रहरुले भोग्दै आएका छन्। प्लास्टिक जमिनमा फाल्दा बर्षौ गल्दैन र आगो लगाउने हो भने यसबाट बिषालु ग्यास निस्किन्छ जसले दम, खोकी, एलार्जी देखि क्यान्सर सम्म गराउछ। यसै कारणले प्लास्टिकको ब्यबस्थापन संसार भरिनै अरु कुहिने फोहरको ब्यबस्थापन भन्दा जटिल र चुनौतिपूर्ण बनेको छ। उपत्यका लगायत नेपालका हरेक शहरलाई प्लास्टिक फोहरले कुरूप बनाएको छ, आफ्नो दुष्परिणाम देखाएको छ। त्यसैले वातावरण जोगाउन र कम लागतमा बलियो सडक बनाउन ‘प्लास्टिक सडक’ बनाउनु हाम्रो लागि उपयुक्त देखिन्छ।
एडीवीले करिव आठ बर्ष अघि गरेको अनुसन्धानमा काठमाडौँमा फालिएका फोहरमा १६ प्रतिशतसम्म प्लास्टिक भेटिएकोे थियो। शहरीकरणले यसको उपयोगमा अत्यधिक वृध्दि हुने भएकोले प्लास्टिकको अनुपात आजको मितिमा बढेको हुनुपर्छ। प्लास्टिकका टुक्राले ढल जामगर्ने देखि नदीनालाको वहावमा समेत समश्या निम्त्याउने गरेको छ। ओखरपौवा जस्ता फोहर भण्डारण स्थलहरु यस्ता नगल्ने फोहोरले ठूलो दवावमा परेका छन्। यस्तो चुनौतिपूर्ण प्रदुषणलाई नियन्त्रण गर्ने अति राम्रो उपाय ‘प्लास्टिक सडक’ देखापरेको छ ।
‘प्लास्टिक सडक’ ज्यादै नयाँ अवधारणा होईन। सन् २००२ मा मदुराई, भरतको त्यागराजन इन्जिनियरिंग कलेजका रसायानशास्त्रका प्राध्यापक राजगोपालन वाशुदेबनको खोज थियो यो। वाशुदेबनले प्लास्टिकका टुक्रा तताएर रोडामा चुहाउने र त्यसमा बिटोमिन अर्थात् अलकत्रा संगै मिसाएर ‘प्लास्टोन’ भन्ने यस्तो मिश्रण तयार पारे जो पानीमा डुविरहंदा पनि रोडालाई अलकत्राले नछोड्ने अनौठो गुणको समिश्रण बन्यो। यस्ता प्लास्टोनले बनाइएका सडक, केवल अलकत्रा र रोडाका परम्परागत ‘येस्फाल्ट सडक’ भन्दा दरो नचोइटिने र धेरै पानी जम्ने ठाँउका लागि वरदान देखिएको छ। परम्परागत भन्दा प्लास्टिक सडकका अरु विशेषताहरु पनि छन् जस्तोः कालोपत्रे गर्न कुनै ठूलो मेशिन विनानै र कम समयमा सकिने, सडकका सानोतिनो खोविल्टा सजिलै टाल्न सकिने, ठूला भारवाहक गाडीको चाप बढी थेग्न सक्ने, सडक कालोपत्रे गर्ने खर्चमा ठूलो कटौती हुने र सबैभन्दा ठूलो फाइदा शहरमा डुंगुरलागेर बसेका नगल्ने प्लास्टिकको खपत हुनुको साथैे आयातित बिटुमिनको बचत हुने।
गत बर्ष सम्ममा भारतमा मात्र यसरि बनाइएका प्लास्टिक सडकको लम्बाई १ लाख किमी नाघेको थियो। केरला, आन्ध्रप्रदेश राजस्थान, उडिसा लगायत भारतका ११ राज्यमा यस्ता सडक बनिसकेका छन्। यो विधिको फाइदा देखेर नै सन् २०१५ मा भारतको केन्द्रिय सरकारले सबै प्रदेशका निर्माताहरुलाई यो प्रविधि प्रयोग गर्ने परिपत्र जारिगरेको थियो। भारतमा मात्र होईन अहिले यो प्रविधि भुटान, बंगलादेश, नाईजेरिया, केन्या, हल्याण्ड र अष्ट्रेलियामा समेत आफ्नो आवश्यकता अनुसारको परिमार्जन गरिंदै प्रयोग भईरहेको छ ।
नेपालको सन्दर्भमा, गतबर्ष पोखरामा १०० मिटर सडक ‘ग्रीन रोड वेष्ट म्यानेजमेन्ट’ भन्ने सस्थाको अगुवाईमा यहि प्रविधिबाट बनाइएको थियो, जो एउटा उदाहरणीय प्रयाश थियो। यसै प्रयाशको अनुकरण र अभ्यासमा लाग्न निर्माण ब्यबसाईहरु र सरकारलाई आग्रहगर्दै गतबर्ष मैले एउटा लेख लेखेको थिए। अहिले यस्तै आर्को सत्प्रयाशको खवरले फेरी यो लेख लेख्न मलाई प्रेरित गरेको छ। आफ्नो पुरानो सफलता बाट हौसिएर होला त्यही संस्थाले हालै किर्तिपुर, नयाँबजारमा २०० मिटरको प्लास्टिक सडक बनाइएको रहेछ। यसको लागि त्यहाँका मेयरको हौसला, यस संस्थाको प्रेरणा र इन्जिनियर बिमल बास्तोलाको लगनको तारिफ गर्नुपर्छ। प्रकाशित समाचार अनुसार, बास्तोला, यो प्रविधि सिक्न निकै मेहनत गरेर वाशुदेबनको मदुराई र यो प्रविधि हालै प्रयोग गरिएको सिक्किमका शहरमा पुगेका थिए।
पत्रिकामा प्रकाशित खवर अनुसार किर्तिपुरको यो २०० मिटरको सडक वनाउदा २० लाखको लागत लागेको छ। जो परम्परागत भन्दा प्रति किमी २ लाख कम हो। नेपालको अनुभवमा, प्लास्टिक–अलकत्राको अनुपात ५–१२ प्रतिशत मात्र भएको थियो र १०० मिटरको सडकमा ३०० केजी प्लास्टिक खपत भएको थियो। राजगोपालनले बनाउदा हाम्रो भन्दा झन्डै चार गुना बढी, अर्थात् २० प्रतिशत सम्म प्लास्टिक मिसाउने गरेका छन्। बिटोमिनको बर्तमान बजारभाउ ४५ देखि ५६ हजार प्रति मेट्रिकटन छ, जसबाट किफायतको हिसाब निकाल्न सकिन्छ। राजगोपालनको अनुसन्धानमा प्रतिकिमि भारु ३ लाख २० हजार कम खर्च लाग्ने देखिएको थियो। अर्थात् मध्य पहाडी राजमार्ग, जसको लम्बाई करिब १७७६ किमी छ, यो प्रविधिले बनाउने हो भने झन्डै ९० करोडको बचतको साथै फालिएका प्लास्टिकको सदुपयोग सदुपयोगको साथै बलियो सडक बन्ने सम्भावना देखिन्छ।
तर यसपल्ट किर्तिपुरमा बनाइएको सडकमा केहि प्राविधिक त्रुटीहरु पनि देखापरेका छन्। जस्तो, राम्ररि रोडालाई नसमातेकोले केहि ठाउमा पिच उप्किएको छ। उचित समिश्रण तैयार पार्न र बढी प्लास्टिक खपत गरेर लागत घटाउन सही प्राविधिक ज्ञान हामीले अझै सिक्नु आवश्यक देखिन्छ। राजगोपालनको मदुराईको संस्थामा कुनैपनि देशका इन्जिनियर या प्राविधिकलाई विनाशुल्क सिकाइने ब्यबस्था छ। सडक बिभागले आफ्ना इन्जिनियरहरु लाई त्यता सिक्न पठाउनु राम्रो हुनेछ।   
सडक, जो अहिले हाम्रो पूर्वाधारको मेरुदण्ड हो, अझै धेरै बनाउनु बाँकी छ र बनेका अधिकांश कालोपत्रे हुन बाँकी छ। चालु आबमा कालोपत्रे गर्न सडक विभागले ९४ अर्ब निकासा पाएको थियो। यत्तिकै बजेट यो बर्ष पनि पाउने र यो प्रविधि प्रयोग गर्ने हो भने यो रकमले दश हजार किमी बाटो कालोपत्रे हुनसक्ने देखिन्छ। यदि यो प्लास्टिक सडकको प्रविधि बाट अब बन्ने सडकहरु बनाउने हो भने हाम्रो विकास बजेटको संचय हुने मात्र नभई शहर कुरूप वनाएर थुप्रिएका प्लास्टिकका डुगुर बाट मुक्ति पाइनुको साथै वर्खाको पानीमा अडिने बलियो कालोपत्रे सडक देशभरी हुने सम्भावना समेत देखिएको छ। योजनाविद र सरकारको ध्यान यतातिर जावोस्। आउदो योजनाहरुमा प्लास्टिक सडकको प्रविधि अबलम्बन गर्न हामी उत्साहित हौँ।

No comments:

Post a Comment